मापदण्डविपरीतका निजी घरलाई प्राधिकरणको संरक्षण

मापदण्डविपरीतका निजी घरलाई प्राधिकरणको संरक्षण

ललितपुर : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मापदण्डविपरीत काम गर्ने एक गैरसरकारी संस्थालाई कारबाही नगरेकोमा प्रश्न उठेको छ। ‘लुमन्ती’ आवासको लागि सहयोग समूह नामको संस्थाले ललितपुरका विभिन्न भागमा पुनर्निर्माण गरिरहेको छ।

गोदावरी नगरपालिकाको वडा नम्बर ५ र ६ मा लुमन्तीले २ सय २६ घर बनाइदिएको छ। कतिपय घर नक्सापास नै नगरी बाटो नभएको ठाउँमा बनाएको आरोप लुमन्तीमाथि लागेको छ। महालक्ष्मी नगरपालिकाको सिद्धिपुरमा सम्पदा बस्ती अनुसारको मापदण्ड पूरा नगरेको तथा नक्सापास नगरेको देखिएको छ। लुमन्तीले महालक्ष्मीमा १ सय ८ घर बनाएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जानकारी दिएको छ।

सबैभन्दा धेरै समस्याग्रस्त कोन्जोस्योम गाउँपालिकाको दलचोकी छ। लुमन्तीले त्यहाँ २ सय ४३ वटा आवास बनाएको थियो। तीमध्ये १ सय १९ वटा आवास मापदण्डविपरीत बनेको पाइएको छ। मापदण्डविपरीत प्रमाणित भइसके पनि प्राधिकरणले कारबाही प्रक्रिया अघि बढाएको छैन। कार्यान्वयन एकाइको करिब डेढ वर्षअघि बसेको संयुक्त बैठकले उक्त संस्थालाई कारबाही गर्न अनुरोध गरेको थियो।

प्राधिकरणको अन्य मापदण्ड पूरा गरे पनि सबै घर जोडिएको र घरबीचको पर्खाल (गारो) एउटै बनाए पनि उसले तिनलाई फरक आवासीय एकाइ मानेको छ। जिल्ला आयोजना कार्यान्वयन एकाइ ललितपुरका अनुगमन तथा मूल्यांकनविद् यमनाथ गिरीका अनुसार लुमन्तीले आवास निर्माणका क्रममा जिल्ला एकाइसँग समन्वय नै गरेको थिएन।

उसले आफ्नै सर्वेक्षक र इन्जिनियर प्रयोग गरेको थियो। ‘अनुगमनमा जाँदा मात्र उनीहरूको लापरवाही देखियो,’ उनले भने। मापदण्डविपरीत बनेका कारण सरकारले उपलब्ध गराउने तेस्रो किस्ताबापत्को एक लाख रुपैयाँ पीडितले पाउन सकेका छैनन्।

एक साता पहिला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठ, कोन्जोस्योम गाउँपालिकाका अध्यक्ष गोपीलाल सिंतान, जिल्ला आयोजना कार्यान्वयन एकाइका अनुगमन तथा मूल्यांकनविद् गिरी, लुमन्ती आवासका लागि सहयोग संस्थाका प्रतिनिधि न्युटन महर्जनलगायत १४ निकायको टोलीले ती आवासको निरीक्षण गरेको थियो।

त्यसको प्रतिवेदन प्राधिकरणमा पठाइसकेको छ। प्रतिवेदनमा ‘कुनै एक संस्थाको लापरवाही तथा सम्झौता पालना नगर्नाले लाभग्राही सुविधाबाट वञ्चित हुने कुरा न्यायोचित देखिँदैन’ उल्लेख छ।

लुमन्तीले प्राधिकरण तथा स्थानीय तहमा खटिएका प्राविधिकसँग समन्वय नगरेकाले लाभग्राही मारमा परेको देखिएको छ। लुमन्तीले ती आवास केन्द्रीय आयोजना एकाइबाट स्वीकृत डिजाइनअनुरुप बनाएको दाबी गरेको छ। लुमन्तीका प्राविधिकको निरीक्षण तथा भवन संहिताअनुसार बनाएको र प्राविधिक रुपमा सही भएकाले दोस्रो किस्ता पाएको जनाएको छ। अनुगमन टोलीका सदस्य रहेका लुमन्तीका प्रतिनिधि न्युटन महर्जनले यसबारे आफूले बोल्न नमिल्ने बताए।

कोन्जोस्योम गाउँपालिका प्रमुख सिंतानले ती घर प्राविधिकको मूल्यांकनअनुसार ठीक भए पनि जोडेर बनाउँदा समस्या भएको बताए। अनुगमनमा सबै पक्ष मिलेर मुचुल्का उठाएर पठाएको उनले बताए। ‘केन्द्रीय आयोजनाले निष्कर्ष निकाल्नुपर्छ,’ उनले भने, ‘सरकारले दिने रकम नपाइन्जेल आवाज उठाइरहनेछु।’

आफ्ना गाउँका जनताले सरकारबाट पाउनुपर्ने थप एक लाख रुपैयाँ नपाए अदालत जाने उनले बताए। ती घर व्यक्तिको चाहनाअनुरुपका मापदण्डअनुसार बनेकाले स्वीकार्य नहुने बताए। पुनर्निर्माणको चारबर्से समीक्षामा प्राधिकरणका कार्यकारी सदस्य श्रेष्ठले पनि यो समस्या प्राधिकरणले समाधान गर्ने वचन दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.