लमजुङमा बोइलर अभाव, केजीको पुग्यो ४ सय ४०
बेंसीसहर : कुखुरामा आत्मनिर्भर भनिएको लमजुङमा ब्रोइलर कुखुराको मासु अभाव हुन थालेको छ । चल्ला बिक्री नभएको भन्दै ह्याचरी व्यवसायीले एक महिनाअघि चल्ला नष्ट गरेपछि जिल्लामा कुखुरा अभाव भएको हो ।
बोइलर कुखुरा अभाव हुन थालेपछि सदरमुकाम बेंसीसहर बाहिरका मासु पसल बन्द हुन थालेका छन् । कतिपय पसलले गिरीराज र अण्डा पार्ने लियर्स कुखुरा काटेर मासु बिक्री गर्न थालेका छन् । ग्रामिण भेगमा बोइलर कुखुरा नपाएपछि उपभोक्ता सदरमुकाम आएर मासु किन्न बाध्य छन् । 'वरिपरि कतै मासु पाइएन । सानातिना फ्रेसहाउस त बन्द भएका छन्, बेंसीसहर-२ भकुण्डेका गणेश कंडेलले भने, 'गाउँमा मासु नपाएर बजारमा आएर किनेँ ।'
अहिलेसम्मकै उच्च मुल्य
सदरमुकाम बेंसीसहरमा मात्र दैनिक तीन हजार केजी बोइलर कुखुराको मासु आवश्य पर्छ । तर कुखुरा अभाव हुँदा बजारमा मासु अभाव भएको छ । कुखुरा नपाउँदा मासु अभाव भएको हुलाकी सप्लार्यसकी प्रोप्राइटर सुशिला सिलवालले बताइन् । उनका अनुसार मासुको मुल्य अहिलेसम्मको उच्च हो ।
किसान खुसी
हप्तैपिच्छे दाना र चल्लाको मुल्य बढ्ने तर तयारी बोइलरले मुल्य नपाउँदा कुखुरापालक किसान हैरान थिए । 'करिब ४५ दिनमा २ केजीको कुखुरा उत्पादन गर्न ४०० लागत पर्न जान्छ, कुखुरा किसान आनन्द भुजेलले भने, 'हामीले अहिलेसम्म जिउँदो केजीको १५० रुपैयाँ पनि पाउन सकेका थिएनौं । जिउँदो २४० रुपैयाँ नहुँदासम्म हामीलाई घाटा हुन्थ्यो ।'
कुखुरा व्यवसायी वीरेन्द्र भण्डारीका अनुसार यतिबेला लमजुङका किसानले जिउँदो प्रतिकेजी २ सय ७५ रुपैयाँ पाएका छन् । यो मुल्य दुई साता अघिको तुलनामा ८५ रुपैयाँले बढी हो । 'अहिलेको मुल्यले निकै उत्साहित छौं, मस्र्याङ्दी कृषि फार्मका प्रोप्राइटर सुदिप अधिकारीले भने, 'कम्तिमा जिउँदो २५० रुपैयाँ रहँदासम्म कुखुरा पालनमा टिक्न सकिन्छ, यो भन्दा कम मुल्य हुँदा घाटा हुन्छ ।' तर, उपभोक्ता भने अस्वाभाविक रुपमा मासुको मुल्य बढाइएको भन्दै आक्रोसित बनेका छन्।