अभिनयमा सिकारु सुमन
नेपाल टेलिभिजनबाट प्रसारण हुने स्वास्थ्य टेलिसिरियल ‘जीवनचक्र’मा अनिताको भूमिकामा छिन् सुमन ढकाल। सरस्वती कलेजमा ब्याचलर्स पढ्दै गरेकी सुमन यसअघि खैलाबैला, भाग्य आआफ्नो, कथा यस्तो लगायतका टेलिसिरियलमा अभिनय गरिसकेकी छन्।
एकलव्य, साङ्लो, सेल्फी किंगलगायतका फिल्ममा पनि सुमनको अभिनय देख्न सकिन्छ। यसका साथै आधुनिक गीत र लोकगीतका थुप्रै भिडियोमा पनि अभिनय छ उनको। अञ्जु पन्तको आमा बोलको गीत, भन्छु आज मनका कुरा गीतमा उनले अभिनय गरेको कभर भिडियोले दर्शकको माया पाएको थियो। रंगमञ्च बोलको गीतमा उनको छमछमी नृत्य छ।
नुवाकोट, तारुकाकी सुमनको घरमा पसल थियो। बुवाआमालाई काम सघाउने क्रममा सामान्य व्यापार सिकिन्। आफू पनि पढाइ सकाएर कुनै व्यापारतिर हात हाल्ने सोच बनाएकी थिइन्। त्यसैले एसएलसी पछि थप अध्ययनका लागि काठमाडौं आइन्।
प्लस टु पढ्दै गर्दा केही समय बोर्डिङ पनि पढाइन् उनले। कामकै सिलसिलामा मोडलिङतिर पनि आइपुिगन्। नाच्न मन पथ्र्यो उनलाई, त्यसैले पनि फुर्सदको समय क्षेत्रपाटीमा रहेको डान्स सेन्टरमा नृत्य सिक्दै सिक्न थालिन्। सोही समय त्यस बेलाको चर्चित हास्यव्यंग्य टेलिसिरियल ‘झ्यानकुटी झ्याइँ’मा क्यारेक्टर आर्टिस्ट काम गर्ने मौका पाइन्। यसले उनलाई अभिनयको बाटोमा हिँडायो।
सुमन स्कुल पढ्दा गाउँमै आफैं नाटक लेख्ने, नाच्ने, सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने गर्थिन्। लजालु स्वभावकी सुमनमा भित्र कतै अन्तरकुन्तरमा अभिनयको क्षमता पनि लुकेको रहेछ। भन्छिन्, ‘म अभिनय गर्न सक्छु भन्ने नै थाहा थिएन। जब नसोचेको अवसर आयो, मैले सजिलै काम गर्न सके।’
नेपाली फिल्म क्षेत्र, म्युजिक भिडियो अभिनयलगायतको क्षेत्र अलि व्यवस्थित नभएको उनको बुझाइ छ। यहाँ कामको मूल्यांकन नहुने उनले अनुभव गरेकी छन्। कसले राम्रो गर्छ भन्दा पनि आफ्नो मान्छे को छ ? चिनेजानेका मान्छेलाई काम गराउने चलन बढ्दै गएको बताउँदै उनले अभिनय सिर्जनात्मक क्षमता भएकाले यो सीप सबैमा नहुने तर्क गरिन्।
पछिल्लो समय टिक्नेभन्दा पनि बिक्ने गीतहरू बजारमा आउने क्रम बढेकाले युट्युबमा भ्युअर्स बढाउनकै लागि जे पनि गर्ने प्रवृत्ति बढेको उनलाई महसुस भएको छ। तर सुमनलाई जे पनि गरेर चर्चा कमाउनुभन्दा लामो समय कलाकारितामा सक्रिय हुन मन छ। पछिल्लो समय म्युजिक भिडियोको अभिनयमै सक्रिय छन् उनी।
उनले अभिनय गरेका दुईटा चलचित्र भने प्रदर्शनमै आएनन्। यसले उनमा केही नैराश्यता पनि छायो। भन्छिन्, ‘सुरुमा म एउटा हरर फिल्ममा अभिनय गरेकी थिए, जसको लागि १५ दिनसम्म जंगलमा बसेर अभिनय गर्नुपर्ने थियो। निकै मेहनतका साथ अभिनय गरेको फिल्म निर्माता निर्देशकको आन्तरिक द्वन्द्वले फिल्म हलको मुख नै देखेन।’
सुटिङको क्रममा उनका केही तीतो अनुभव पनि छन्। कतिले त पैसा तिरेको छ भनेर एउटै सिनमाथि टेक माथि टेक लिइरहेका हुन्छन्। अभिनयको क्षेत्रमा सिकेका तीतामीठा अनुभवलाई उनले सिकाइका रूपमा लिएकी छन्।
अभिनयमा आउन चाहने नयाँ कलाकारको लागि निकै चुनौतीपूर्ण रहेको उनको अनुभव छ। भन्छिन्, ‘सुरुमा त काम पाउन नै गाह्रो। काम पाए पनि सिकारु त हो नि भनेर पारि श्रमिक दिइँदैन। आफूले एक्सन लिन सकेन भने गलत मनसायका मान्छेको फन्दामा पर्ने सम्भावना पनि हुन्छ। हरेक ठाउँमा सचेत हुन जरुरी छ।’
स्कुल पढ्दा लजाउने, कसैसँग नबोल्ने स्वभावकी थिइन् उनी। अहिले उनको भिडियो र अभिनय हेरेर बाल्यकालका साथीहरू छक्क पर्छन्। सुमन कसरी यो क्षेत्रमा आउन सकी भनेर प्रश्न गर्छन्। आफूले काम गरेको फिल्ड भएर पनि होला उनलाई अभिनय क्षेत्र खुब मन पर्छ। व्यावसायिक रूपमै यसमै टिक्न पाए हुन्थ्यो होला भन्ने लाग्छ।
औपचारिक रूपमा अभिनय प्रशिक्षण नलिएकी सुमन अभिनय अरूले सिकाएर भन्दा पनि आफैंमा फिल आउने कुरा हो भन्नेमा विश्वास गर्छिन्। काम गर्दै गएपछि परिपक्व बनिने कुरामा ढुक्क छिन्। जुनसुकै क्षेत्रमा पनि सफल हुन निरन्तर मेहनत र धैर्य चाहिने बताउने सुमन आफूलाई अभिनय क्षेत्रको सिकारु कलाकारको रूपमा परिभाषित गर्छिन्। भन्छिन्, ‘म संघर्ष गर्दै गरेको कलाकार’।