भ्रूणहत्या प्रकरण : आलुबारीमा भेटियो २१ हप्ताको भ्रूण
फिदिम : पाँचथरको कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङको दबाबमा हत्या गरेर फालिएको भ्रूण प्रहरीले फेला पारेको छ। शुक्रबार दिउँसो सदरमुकाम फिदिममा सञ्चालित समर्पित अस्पताल परिसरमा भू्रण फेला परेको हो।
‘अस्पताल नजिकैको आलुबारीमा भ्रूण फेला परेको हो,’ पाँचथरका प्रहरी निरीक्षक रोमनराज आर्यालले भने, ‘प्लाष्टिकमा प्याक गरेर पुरेको अवस्थामा भू्रण फेला परेको हो।’ तर, भेटिएको भ्रूणको परीक्षण गर्न बाँकी रहेको उनले बताए। समर्पित अस्पतालमा पुस २६ गते राति यासोकस्थित सुकुम्बासि दलित परिवारकी १९ वर्षीया युवतीको पेटमा हुर्किएको २१ हप्ताको गर्भपतन गराइएको थियो।
स्याबरुम्बाका रमेश खड्कासगँ प्रेम विवाह गरेकी युवतीको पेटमा गर्भ थियो। अन्तर्जातीय विवाहबाट गर्भवती भएपछि अध्यक्षसहित रमेशको परिवारले दबाब दिएर जबरजस्ती गर्भपतन गराएका थिए।
अध्यक्ष चेम्जोङ फरार
‘अध्यक्षको दबाबमा भू्रणहत्या’ शीर्षमा समाचार प्रकाशित भएपछि चेम्जोङ फरार छन्। बुधबारदेखि चेम्जोङ सम्पर्कमा छैनन्। पीडित युवतीले अध्यक्षसहित सातविरुद्ध जाहेरी दिएकी छन्। जाहेरी परेकामध्ये तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
‘अध्यक्षसहित फरार रहेका सबैको खोजी भइरहेको छ,’ पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले भने, ‘प्रहरीले कानुन बमोजिम कारबाही अघि बढाएको छ।’
भू्रणहत्याको समाचार प्रकाशित भएपछि पत्रकारलाई मुद्दा हाल्ने भन्दै चेम्जोङ सदरमुकाम फिदिम आएका थिए। मुद्दा हाल्न हच्किएका उनले पत्रकार सम्मेलन गरेर समाचार लेख्ने पत्रकारविरुद्ध वातावरण बनाउने कोशिस गरेका थिए। एकाएक पत्रकार सम्मेलन पनि स्थगित गरेर चेम्जोङ बेपत्ता भएका हुन्।