मापदण्डविहीन फिटनेस सेन्टर

मापदण्डविहीन फिटनेस सेन्टर

ललितपुर : माघ १८ गते ललितपुरको फिट एन्ड फाइन हेल्थ क्लबमा निसास्सिएर हस्तकुमार थापा (४२) र नेत्र पुन (३४) को निसास्सिएर मृत्यु भएपछि प्रहरीले अनुसन्धान जारी राखेको छ। तर, हालसम्मको अध्ययनले फिटनेस सेन्टर सञ्चालनका लागि कुनै मापदण्ड अनिवार्य नभएको निष्कर्ष प्रहरीले निकालेको छ।

राष्ट्रियसभा बैठकमा डा. विमला राई पौडेलले फिटनेस सेन्टरको मापदण्ड, निगरानी तथा गुणस्तरको विषयमा प्रश्न उठाएकी थिइन्। स्वास्थ्यका लागि खोलिएका फिटनेस क्लबमा कुनै मापदण्ड लागू नहुँदा दुर्घटना बढेकाले सरकारको ध्यानाकर्षण गराएकी छन्।

बैठकमा उनले फिटनेस सेन्टरको मापदण्ड, सुरक्षाको व्यवस्था, उनीहरूको तालिम प्राप्त छन् कि छैनन् भन्ने प्रश्न औंल्याएकी छिन्? फिटनेस सेन्टर कहाँ दर्ता भएका हुन्छन्? कसरी सञ्चालित छन्? केही दुर्घटना भए कहाँ जाने? सम्बन्धित निकाय भनेको के हो? लगायत प्रश्न उनले गरिन्।

नखिपोट क्षेत्रमा मात्रै तीन वटा साउना सञ्चालित देखिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ। तर, जिम सेन्टरका संख्या दोब्बर हुन सक्छ। वृत्तका प्रमुख मित्रबन्धु शर्माका अनुसार फिटनेस सेन्टर कहाँ र कसरी दर्ता भएर सञ्चालनमा आएका छन् यस विषयमा यकिन हुन सकेको छैन।

फिट एन्ट फाइन हेल्थ क्लब सञ्चालिका जुना बस्नेतले उनको फिटनेस सेन्टर कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेकी छन्। प्यानमा समेत दर्ता गरेको भेटिएको शर्माले जानकारी दिए। तर, यस्ता फिटनेस सेन्टरलाई नियमन तथा अनुगमन गर्ने कुनै निकाय नदेखिएको शर्माले बताए।

‘फिटनेस सेन्टर कुन स्ट्यान्डर्डको हुनुपर्छ। दर्ताको समयमा मापदण्ड के हुन्, स्पष्ट छैन’, शर्माले भने, ‘सञ्चालन तथा सावधानीको विषयमा पनि कुनै मापदण्ड भेटिएन।’ कानुन र मापदण्डबिना सञ्चालन भइरहेका यस्ता सेन्टरको विस्तृत अनुसन्धान भइरहेको उनले बताए।

सञ्चालिका बस्नेतले उक्त घटना गिजरमा नुहाउन जाँदा हावा फाल्ने फ्यान नखोलेका कारण भएको दाबी गरेकी छन्।

जिल्ला अदालत ललितपुरले सोमबार पाँच दिन म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको थियो। मृतककी भाउजू ६७ वर्षीया पौकाकरी पुनले ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गरिपाऊँ भन्ने व्यहोरासहितको निवेदन सातदोबाटो वृत्तमा दिएपछि प्रहरीले अनुसन्धान थालेको हो। ‘सम्भवतः फिटनेस तथा जिम सञ्चालकविरुद्ध परेको यो पहिलो जाहेरी हो’, शर्माले भने, ‘यस घटनाले सबैलाई सचेत हुन तथा कानुनअनुसार चल्नुपर्छ भन्ने नजिर बसाउँछ।’

सञ्चालकले अपनाउनुपर्ने न्यूनतम पूर्वाधार नभएको तथा सुरक्षात्मक सावधानी पर्याप्त अपनाउन नसक्दा घटना भएको दाबी पौकाकरीको छ। सञ्चालकले चरम लापरबाही गरेको तथा व्यक्तिको ज्यान जानेगरी कसुर गरेकाले कानुनबमोजिम हदैसम्मको कारबाही माग गरेकी छन्।

सञ्चालकलाई मुलुकी अपराध संहिताको १८२ को उपदफा ३ अनुसार सजाय हुन सक्ने बताइएको छ। यस उपदफामा कसैको ज्यान जान सक्ने गरी कसुर भए ६ महिनादेखि दुई वर्षसम्म कैद हुन सक्ने उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.