जटिल विषयमा सरल अर्थशास्त्र

जटिल विषयमा सरल अर्थशास्त्र

लेखकले पुँजीवादी लोकतन्त्रको गहिरो अध्ययन गरेर त्यसका कमीकमजोरी औंल्याएका छन्।


भारतीय मूलका अर्थशास्त्रीको बाक्लो उपस्थिति छ, पश्चिमा विश्वविद्यालयहरूमा। तेस्रो विश्वको विकास विषयमा अध्यापन तथा अनुसन्धान कार्यहरूमा उनीहरूले वर्चस्व स्थापना गरेका छन्। अर्थशास्त्रका ख्यातिप्राप्त प्राध्यापकमा हार्वर्ड तथा क्याम्ब्रिज विश्वविद्यालयका अमत्र्य सेन, कोलम्बिया विश्वविद्यालयका जगदीश भगवती, म्यासाचुट्स इन्स्टिच्युट्स अफ टेक्नोलोजीका अभिजित बेनर्जी, कोर्नेल विश्वविद्यालयका कौशिक वसु तथा बर्कले विश्वविद्यालयको प्रणब बर्धान आदि पर्छन्।

अमत्र्य सेनले सन् १९९८ मा तथा अभिजित बेनर्जीले अघिल्लो वर्ष अर्थशास्त्र विषयमा नोबेल पुरस्कार प्राप्त गरे। नयाँ पुस्ताका उदाउँदा भारतीय अर्थशास्त्रका प्राध्यापकमा हार्वर्ड विश्वविद्यालयका राज चेट्टी तथा युनिभर्सिटी अफ सिकागोस्थित हास स्कुल अफ बिजनेस मेनेजमेन्टका रघुराम गोविन्द राजन (राजन)को नाम लिइने गरिन्छ। धेरै पर्यवेक्षक राजनलाई भविष्यको नोबेल पुरस्कारका दाबेदार ठान्छन्।

भारतीय अर्थशास्त्रका अधिकांश प्राध्यापक भारतमा अध्यापन तथा अनुसन्धान गरेर ख्याति प्राप्त गरेपछि पश्चिमा विश्वविद्यालयतर्फ लागेका हुन्। उनीहरूको योगदान पनि भारतीय तथा अन्य विकासशील मुलुकहरूको अर्थतन्त्रमा आधारित हुँदै आएको छ। अधिकांशले प्राज्ञिक (अध्यापन, अध्ययन, अनुसन्धान तथा लेखन कार्यहरू) क्षेत्रमै रमाउने र रुमलिने गरेका छन्। प्रस्तुत पुस्तकका लेखक राजनले पछ्याएको मार्ग भने पृथक् छ। समयसमयमा उनी प्राज्ञिक क्षेत्रबाट व्यावहारिक कार्यहरूमा समेत उत्रने गर्छन्। उमेर ४० वर्ष पुग्दा नै उनी अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रमुख अर्थशास्त्री भई उक्त संस्थाको अनुसन्धान विभागको निर्देशक पद (२००३–२००६) सम्हाल्न पुगे।

भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहको अवैतनिक आर्थिक सल्लाहकार (२००८), भारतीय अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार (२०१२) हँुदै चार वर्ष अघिसम्म उनले रिजर्भ बैंक अफ इन्डिया (२०१३–२०१६)को गभर्नर तथा बैंक अफ इन्टर सेटलमेन्टको उपाध्यक्ष पद पनि एकैसाथ सम्हाले।

अर्थशास्त्री राजनले सन् २००५ मा अमेरिकाको केन्द्रीय बैंकले आयोजना गरेको ‘ज्याक्सन होल कन्फरेन्स’मा अनियन्त्रित वित्तीय भूमण्डलीकरण र बैंकिङ क्षेत्र विस्तार जस्ता कारणले गर्दा विश्वमा छिटै वित्तीय संकट निम्तने तथा त्यसको निराकरणका निमित्त आवश्यक आर्थिक तथा वित्तीय नीतिहरूसमेत प्रस्ताव गरेका थिए। त्यस खेर उनको अनुमानलाई हाँसेर उडाइयो। पछि राजनका अनुमानहरू सही साबित हुन थाले। विश्वव्यापी वित्तीय (२००७–०८)मा अनिष्ट निम्तियो। अहिले उनको स्थान विश्वका प्रमुख प्रभावशाली अर्थशास्त्रीमा रहेको छ।

प्रस्तुत पुस्तकको सुरुआतमै राजनले उल्लेख गरेका छन्— वर्तमान कालखण्डमा जस्तो विश्व कहिल्यै पनि समृद्ध थिएन। प्रविधिको विकास तथा उपलब्धताले गर्दा विगत दुई शताब्दीदेखि उत्पादनमा निरन्तर वृद्धि हुँुदै गरेको छ। विकसित मुलुकहरू मात्र होइन, विपन्न मुलुकहरू पनि अभूतपूर्व रूपमा धनी हुँुदैछन्। करोडौं मानिस विपन्नबाट उन्मुक्त भई सम्पन्न हुँदैछन्। मानव सभ्यतामा प्रथमपटक गरिबी, भोकमरी तथा अन्य विपन्नताबाट समस्त मानवजगत्ले उन्मुक्ति पाउने सम्भावना प्रबल हुँुदै गएको छ।

विश्वले द्रुत गतिमा उन्नति गर्दै गर्दा अर्कोतर्फ अन्तर्राष्ट्रिय व्यापार विस्तार तथा मानव   श्रमलाई विस्थापित गर्ने प्रविधिको विकासका कारण रोजगारीका अवसरहरू अनिश्चित हुन थालेका छन् विकसित मुलुकहरूमा। अमेरिकाजस्तो समृद्ध मुलुकमा समेत आफूलाई रैथाने सम्झने गोरा जातिमा नैराश्य फैलन थालेको छ। स्थिर रोजगारीका अवसर अनिश्चित हुँदा चिन्तामग्न अधबैंसे उमेर पुगेका तथा मध्यम आयका गोराको आयु छोटिँदै गएको छ। राजन भन्छन्, ‘भियतनाम युद्धमा भएको अमेरिकी मानवीय क्षतिभन्दा १० गुणा बढी अमेरिकी मर्न थालेका छन्।’ दूरदराजका अविकसित राष्ट्रहरूको युद्धभूमिमा चासो देखाउने अमेरिकी राजनीतिक वृत्तले आफ्नै ग्रामीण क्षेत्रहरूमा हालसम्म यस विषयमा कुनै ध्यान दिएको छैन।

राजनका अनुसार राष्ट्रका प्रमुख तीन खम्बा राज्य, बजार तथा समुदाय हुन्। राजनको विश्वास छ— समुदायले संकटमा परेका आफ्ना सदस्यलाई राहत सहयोग उपलब्ध गराउने गर्छ। समुदायका तीनमध्ये एउटा खम्बा कमजोर हँुदा यो बोझमा परेको छ। राज्य तथा बजारको विषयलाई केन्द्रमा राखेर अर्थशास्त्रीहरूले धेरै अध्ययन तथा अनुसन्धान गरेका छन्। समुदायलाई भने उनीहरूले उपेक्षा गर्दै आएका छन्। राजनको मतमा तीनै खम्बालाई मजबुत तुल्याउँदा मात्र राष्ट्रले सन्तुलित उन्नति गर्नसक्छ। धराशयी बन्दै गएको समुदायको विषय उठान गरी त्यसलाई कसरी सशक्त तुल्याउने भन्ने विषयमा केन्द्रित छ, प्रस्तुत पुस्तक।

पुस्तक तीन प्रमुख खण्डमा विभाजित छ। प्रथम खण्डमा राज्य, बजार तथा समुदायको ऐतिहासिक उदय तथा विगतमा यी तीन खम्बाले खेलेको भूमिकाको विस्तृत विश्लेषण तथा व्याख्या गरिएको छ। दोस्रो खण्डमा किन र कसरी राज्य तथा बजारले महत्व पाउँदै गर्दा समुदाय ओझेलमा पर्न गयो भन्ने उल्लेख छ। तेस्रो खण्डमा तीन खम्बाबीच पुन: सन्तुलन कायम गर्न कसरी समुदायको भूमिका विस्तार गर्न सकिन्छ र के कस्ता नीति अवलम्बन गर्दा समुदायको पुनरुत्थानको प्रबल सम्भावना हुन्छ भन्ने विषयका ‘प्रेस्क्रिप्सन’हरू समावेश छन्।

प्रतिस्पर्धात्मक खुला बजार व्यवस्थाको पक्षधरका रूपमा स्थापित प्राध्यापक राजनले खुला बजार नीतिबाट हुने लाभहरूको मात्र बयान गरेका छैनन्, खुला बजार नीति अपनाउँदा चुकाउनुपर्ने मूल्यहरूको उठान गरेर सजगताका विषयको पनि वर्णन गरेका छन्। पुँुजीवादलाई पुँुजीपतिहरूबाट जोगाउने (सेभिङ क्यापिटालिजम फ्रम दी क्यापिलिस्ट) पुस्तकमा राजनले तीव्र प्रतिस्पर्धामा हार खाएर विस्थापित भएकाहरूप्रति सहानुभूति प्रकट गर्दै त्यसरी विस्थापित हुनेहरूलाई सहयोग गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। राजनको मत छ— राष्ट्रिय अर्थतन्त्रको तेस्रो खम्बा समुदाय सबल भएको खण्डमा बजारको प्रतिस्पर्धामा उत्रन नसकेर हार खाँदै विस्थापित भएकाहरूलाई सहयोग गरी उनीहरूको पुनरुत्थानमा अवसर उपलब्ध गराउन सम्भव हुन्छ। उल्लिखित तीन खम्बाले बराबरी ग्राह्यता पाएको खण्डमा मात्र समाजले न्यायिक उन्नति गर्न सक्छ। तर तीन खम्बाबीच सन्तुलन कायम भएन भने राष्ट्रमा अनिष्ट आइपर्छ भन्नेमा प्राध्यापक राजन विश्वस्त छन्।

राजनले चलायमान तथा सबल समुदायको वकालत गर्दै गर्दा राज्य तथा बजार प्रणाली कमजोर हुने तर समुदाय सशक्त भएको अवस्थामा आइपर्ने अनिष्टहरूलाई पनि पुस्तकमा समावेश गरेका छन्। उनले सामन्ती समुदायले विपन्न वर्गको बिल्लीबाठ तुल्याएका थुप्रै उदाहरण प्रस्तुत गरेका छन्। त्यसैगरी आधुनिक कालखण्डमा पनि समुदायहरू मजबुत हँुदा तिनले पर्खाल खडा गरेर रूढिवादी परम्परालाई निरन्तरता दिने, नयाँ मानिसको प्रवेशलाई निषेध गर्ने तथा राज्य प्रणालीलाई नै विगतको बन्दी तुल्याएर आधुनिकीकरण प्रक्रियालाई निस्तेज तुल्याएका उदाहरण पनि प्रस्तुत गरेका छन्।

लेखक राजनको मत छ— राज्य तथा नागरिक समाजले समुदायलाई प्रोत्साहन गरेको खण्डमा मात्र समुदाय सबल तथा चलायमान हुन सक्छ। आउँदा दिनमा रोबोट तथा अन्य मानव   श्रम विस्थापित गर्ने प्रविधिको विस्तारबाट अत्यधिक वस्तु तथा सेवाहरूको उत्पादन मानव   श्रमबिना नै हुनेछ। यसले रोजगारीका अवसर खुम्चन्छन्। त्यस्तो अवस्थामा मानव   श्रमको महत्व एक आपसबीचको सम्बन्ध तथा सद्भावको नितान्त आवश्यकता पर्छ। अर्थात् निकट भविष्यमा राष्ट्रहरू त्यस्तो विकासक्रमको चरणमा पुग्छन्, जुन बेला रोजगारीको अवसर दिने प्रमुख निकाय समुदाय हुनेछ। भोलिका दिनमा आइपर्ने चुनौती सामना गर्न पनि राज्य तथा नागरिक समाजले संयुक्त रूपमा समुदायको सशक्तीकरणका निमित्त कदम चाल्नैपर्छ। यस परिपे्रक्ष्यमा तिनले राज्य तथा नागरिक समाजहरूले कसरी संयुक्त रूपमा समुदायको सशक्तीकरणमा योगदान पुर्‍याउन सक्छन् भनेर पनि व्याख्या गरेका छन्।

यस पुस्तकमार्फत लेखकले वास्तवमा पुँुजीवादी लोकतन्त्रको गहिरो अध्ययन गरेर त्यसका कमीकमजोरी औंल्याएका छन्। बढ्दो लोकप्रियतावाद तथा भूमण्डलीकरणका असर तथा प्रभावहरू विश्लेषण गर्दै समुदायलाई सबल तथा चलायमान तुल्याउँदा राष्ट्र कसरी मानवकेन्द्रित, समावेशी, समतामूलक, सबल तथा सक्षम हुनसक्छ, त्यसको विश्लेषणसहित विस्तृत वर्णन पाइन्छ पुस्तकमा। विकसित मुलुकहरूको ऐतिहासिक वस्तुस्थितिको विश्लेषणले भरिपूर्ण यस पुस्तकमा चीन तथा भारतका सान्दर्भिक विषय पनि उठान गरिएको छ। पुस्तकमा प्रयोग गरिएको भाषा सरल छ। आकर्षक एवं मार्मिक शैलीमा लेखिएको यो पुस्तक पढेपछि छोड्न मन लाग्दैन। अर्थशास्त्रका प्राध्यापकले लेखेको भए पनि पुस्तकमा अनावश्यक जटिल शब्दहरूको प्रयोग गरिएको छैन। अर्थशास्त्रको ज्ञान नहुने पाठकलाई पनि पुस्तक पढ्न कठिनाइ हुँदैन। खासगरी विकेन्द्रीकरण तथा स्थानीय सरकारलाई प्रभावकारी तुल्याउन समर्पित हाम्रा नीतिनिर्माताका लागि समेत यो पुस्तक अत्यन्त उपयोगी हुनसक्छ।     
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.