हलियाको आफ्नै घर
मुक्त हलिया लालमणिको प्रश्न— हाम्रा श्रीमतीचाहिँ भाउजू, मालिकका श्रीमती दिदी रे !
लालमणि सार्की ६९ वर्ष भए। उनका बाजे–बराजु पुस्तौंदेखि नै जमिनदारको हलिया बस्थे। विवाह र घर गर्न उनको परिवारले जमिनदारको हलो जोत्नु पथ्र्यो। हलो जोतेबापत एक माना चामल पाउँथे। लालमणिले केटाकेटीदेखि ६० वर्षको उमेरसम्म जमिनदारको हलो जोते। उनले हलो जोतेबापत दिनको एक माना चामल पाउँथे। उनीहरूमाथि जमिनदारले हदैसम्मको शोषण गर्थे। विगतमा विवाह गर्न र घर चलाउन हलो जोत्नुको विकल्प नरहेको उनको भनाइ छ।
‘हामीलाई गुलाम, गोरु भन्थे’, उनले आफूले भागेको शोषण, अत्याचारबारे सुनाउँदै भने, ‘एक माना चामलका भर दिनभर हलो जोतिदिनु पथ्र्यो।’ हलियाका महिलालाई जमिनदारले शोषण गर्ने गरेको दु:खेसो उनले पोखे।
। ‘हामीलाई मात्रै होइन हाम्रा चेलीबेटी, श्रीमतीलाई जमिनदारले शोषण गर्थे’, उनले भने, ‘हाम्रा श्रीमतीचाहिँ भाउजू, मालिकका श्रीमतीचाहिँ दिदी !’
अझै जमिनदारहरूले यो हलिया मुक्त भयो, जग्गा पायो, घर पायो भनेर गिज्याउन भने नछोडेको उनको अनुभव छ। ‘अहिले ठूलो भयो, हामीलाई गन्दैन, घर पाएर के भो त, हेरौं न के खाँदो रहेछ भनेर पनि भन्छन्’, उनले भने।
लालमणिसहित कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–१९, बागफाँटामा ३२ परिवार मुक्त हलियाले घर बनाएर दिएका छन्। वृद्ध सार्की घर पाएपछि खुसी छन्। डडेल्धुराबाट झरेका मुक्त हलिया सार्कीको ६ जनाको परिवार अब सरकारले बनाइदिएको घरमा बस्न पाउने भएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले घरको चाबी दिँदा ज्येष्ठ नागरिक धनीराम लुहारका आँखामा हर्षका आँसु आएका थिए। ‘बुढेकालमा भए पनि घर पाइयो, एकदमै खुसी लागेको छ’, उनले भने। लामो समय अर्काको घरमा हलो जोतेर शोषित भएका उनले आफ्नो घर होला, जग्गा होला भन्ने सोचेका पनि थिएनन्।
‘धेरै दु:ख पाइयो, अहिले सरकारले हेरेको छ’, उनले भने। हलिया मुक्त भएपछि छोराछोरी, नातिनातिनाले पढ्न पाएको उनी बताउँछन्।
‘पहिला त पढ्न होइन, हलो जोत्न सिक्नुपथ्र्यो’, उनले भने, ‘हाम्रा बालबच्चा कहाँ पढ्न पाउँथे, हुर्किन नपाउँदै अर्काको हलो जोत्न जानु पथ्र्यो।’
एकीकृत बस्ती नै निर्माण गरेर हलिया बस्ती औपचारिक रूपमा सरकारले पहिलो पटक हस्तान्तरण गरेको छ। ललिता लोहारले पनि नयाँ घर पाएकी छन्। ‘बच्चा पठाउन, बस्न सजिलो छ’, उनले भनिन्, ‘आँगन छ, खेल्न बस्न पनि राम्रो छ।’ विगत सम्झिँदा रुन मन लाग्ने उनले बताइन। ‘जिन्दगी बिजोग थियो, श्रीमान्, ससुराले अर्काको घरमा हलो नजोती छाक टर्दैनथ्यो’, उनले भनिन्, ‘झुप्रो, त्यो पनि ठूलो परिवार एउटै कोठामा बस्नुपथ्र्यो।’
२० वर्ष मालिकको हलो जोतेका ५२ वर्षीया नैना सार्की विगतको जीवन साह्रै पीडादायी भएको बताउँछन्। ‘दिनभर अर्काको खेत जोत्यो, एक माना चामल दिन्थे, आधा पेट नै बस्नुपर्थो’, उनले भने, ‘अधियाँ पनि मिल्दैनथ्यो, अहिले त अधियाँ, मजदुरी गर्न पाइएको छ।’
उनले बास पाइए पनि अब गाँसको समस्या रहेको बताए। ‘घर पाइयो तर रोजगार छैन’, उनले भने। अहिले धेरै हलिया भारत गएर मजदुरी गरी जीविका चलाइरहेको उनले बताए।
धेरैजसो हलिया आफ्नै मातृभाषा बोल्छन्। नेपाली बोल्न पनि समस्या हुँदा गाह्रो परेको छ।
घर हस्तान्तरण गर्दै भूमि व्यवस्था मन्त्री अर्यालले अब कोही पनि भूमिहीन, सुकुमबासी नहुने बताएकी छन्। राज्यले दिने सहुलियत दिँदा महिला र पुरुष दुवैको स्वामित्व स्थापित हुने गरी दिइएको भन्दै उनले सुकुमबासी, हलिया सबैलाई संयुक्त लालपुर्जा दिइने घोषणा गरेकी छन्।
सरकारले २०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको थियो। तर हलिया लामो समयसम्म पुन:स्थापित हुन सकेका थिएनन्। साबिक सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका नौ जिल्ला र मध्यपश्चिम क्षेत्रका तीन जिल्लाका १८ हजार नौ सय ५३ हलिया परिवारलाई मुक्त घोषणा गरिएको थियो, जसमा १२ हजार ८२० परिवारको पुन:स्थापना भएको छ।
सरकारले बागफाँटा बस्तीमा मुक्त हलिया पुन:स्थापनाका लागि ३२ वटा तीन कोठाको घर निर्माण गरेको हो। १० धुर (आधा कट्ठा)सँगै शौचालय, २० फुटको बाटो, वरिपरि नालासहित बस्ती निर्माण गरिएको छ। बाटोको दुवैतर्फ घर निर्माण गरिएको छ।