सत्यमोहनलाई पानीको पीर
ललितपुर : शताब्दी पुरुष सत्यमोहन जोशीको दिनचर्या सजिलो बनोस् बन्ने अभिप्रायले ललितपुर महानगरले कार र मोबाइल उपलब्ध गरायो, गत वर्ष। तर, कार राख्ने ठाउँ भएन। त्यसैले चाहिएका बेला मात्र बोलाउने गरेका छन् उनले। मोबाइल झन्झटिलो भएकाले बोक्दैनन्। तर, उनको निवासमा वर्षांैदेखि पानीको चरम समस्या रहिआएको छ। पानीको समस्या भने सुल्झिन सकेको छैन।
जोशीले यो समस्यालाई सामान्य रूपमा लिएको बताउँछन्। इनारको पानी पिउने बानी परिसकेकाले आफ्ना लागि पानीको सुविधा मिलाइदिनुपर्छ भन्न मान्दैनन्। उनी भन्छन्, ‘मेरा लागि त्यस्तो सुविधा दिनुपर्छजस्तो लाग्दैन।’
उनी ललितपुर महानगरपालिकाको १२ वडा वलकु टोलमा बस्छन्। उक्त टोलमा वर्षौंदेखि खानेपानीको लाइन काटिएको छ। ‘पानी नआउने तर पैसा मात्र तिर्नुपरेपछि लाइन काट्न लगाएँ’, जोशीले भने, ‘खै लाइन काटे कि काटेनन् खबर गरेनन्।’
जोशीको घरमा प्रत्येक बिहान एक जना पानी ओसार्ने मान्छे आउँछन्। उनी बिहानभरि पानी ओसार्छन्। त्यही पानी जोशीको परिवारले चलाउँदै आएको छ। सरसफाइ, नुहाइधुवाई गर्न ट्यांकरको पानी ल्याउने गरेको उनले बताए।
जोशीकी श्रीमती राधादेवी भन्छिन्, ‘खान मिनरल वाटर छ, पकाउन र जुठो माझ्न इनारको पानी चलाउँछौँ।’ परिवारमा बूढाबूढी र एक जना सहयोगी मात्र भएकाले थोरै पानीले पुगिहाल्ने राधादेवीको भनाइ छ। उनले भनिन्, ‘लुगा धुन बाहिरै दिन्छाँै, त्यसैले धेरै पानी चाहिन्न।’
शताब्दी पुरुषको मान्यता अरूको भन्दा फरक छ। ‘आफूले इनार बनायो भने सबैले बनाउँछन्। र, पानीको समस्या बढ्दै जान्छ। यही सोचेर इनार बनाइएन’, उनले भने। तर, वरिपरिका सबैले भित्रभित्रै थाहै नदिई इनार बनाएको उनले गुनासो गरे। जोशीले एक जनालाई आफ्नो जग्गा दिएका थिए। त्यही जग्गामा तिनले पनि इनार बनाए। तर, जोशीले घरमा अझै इनार खनेका छैनन्। घर नजिकैको सार्वजनिक इनारबाट पानी ओसार्नुपर्छ। अरूले इनारको पानी पिउन मन पराउँदैनन्। तर, जोशी इनारको पानी मिठो मान्छन्। भन्छन्, ‘इनारको पानीले टनिक दिन्छ, ताजा र स्फूर्त बनाउँछ।’
जोशी दम्पतीलाई २०औं वर्षदेखि सहयोग गर्दै आएकी चिरीमायाँका अनुसार उनले थाहा पाएदेखि नै जोशीको घरमा पानी आएन। उनले भनिन्, ‘पानी नआए पनि घरपछाडि धारा अझै छ।’ उनले जोशी दम्पतीको हेरचाह तथा सम्पूर्ण व्यवस्थान गर्दै आएकी छन्।
गत वैशाख ३० गते सय वर्ष पुगेका हुन् जोशी। उनको सयौँ जन्मोत्सवमा महिना दिन अगाडिदेखि चटारो थियो। जोशीलाई भेट्न थुप्रै मानिसको आउजाउ हुन्थ्यो। गर्मीमा धापिएर आउने पाहुनालाई मिनरल वाटर नै बाँडेका थिए उनले।
१२ वडाका अध्यक्ष नारायणलाल अवालेका अनुसार उनको वडामा पानीको चरम अभाव छ। ‘यहाँका ७५ प्रतिशत बासिन्दा ट्यांकरको पानीमा निर्भर छन्’, अवालेले भने, ‘मेलम्चीको पानी नआउन्जेल यस क्षेत्रमा पानीको अभाव रहिरहनेछ।’ जनतालाई पानीको सुविधा दिन ठाउँ–ठाउँमा भएका इनारको पानी फिल्टर गरेर बाँड्ने गरेको उनले सुनाए।