अपहरण शैलीमा बालविवाह गराउन खोज्ने काका पक्राउ
मुगु : १९ वर्षीय भतिजलाई १५ वर्षीया बालिकासँग विवाह गराउन खोज्ने काकालाई प्रहरीले प्रक्राउ गरेको छ। हुम्लाका चंखेली गाउँपालिका-१ दार्माका श्रीलाल नेपालीलाई मुगुका सोरुगाँउपालिकाकी एक बालिकासँग विवाह गराउन खोजेका आरोपमा प्रहरीले काका सिंहबहादुर नेपालीलाई पक्राउ गरेको हो।
पुस २० गते सोरु गाँउपालिका-५ भिईमा मेला हेर्न गाउमा ग्एका बेला राती बालिकालाई अपहरणको शैलीमा उठाएर केटाको गाउँ हुम्ला दार्मा पुराएर बाल विवाह गर्न प्रयास गरेको पीडितका आफन्तले बताए। तीन दिनसम्म केटाको काका सिंहबाहदुरको घरमा राखेका थिए। चौथो दिनमा अर्को छिमेकीको घरमा राखेको र त्यहाँ पनि दुई दिन राखेपछि केटाको घरमा ल्याएका हुन्।
बालिकालाई केटाले अशोभाविक कृयाकलाप गर्ने प्रयास गर्न थालेपछि हप्ता दिनपछि बालिका राती भागेर हुम्ला को जैर गाउँमा रहेकी आफनी दिदिको घरमा पुगेकी थिइन। पुनः केटाका काकासहित चारै जना बालिकालाई लिन जैर पुगेपछि त्यहाँबाट भागेर आफनै गाँउ नेरमा पुगिन। त्यहाँ पनि लिन पुगेपछि बालिका आफनै गाउँबाट रातारात भागेर जिल्ला सदरमुकाम गमगढीमा आएको प्रहरीले बालिकाबाट लिएको बयानमा उल्लेख गरिएको छ।
मुगुको सदरमुकाममा समेत केटा पक्ष खोज्दै आएपछि बालिका सदरमुकाममा लुकेर बसेकी थिइन। सबै घर गएको भन्ने जानकारी पाएपछि बालिका माघ १३ गते साँझ बजारमा निस्कँदा काकाले देखेपछि समाएर घर लिैजान खोज्दा लछारपछार गरेर बालिका कराएपछि गस्तीमा रहेको प्रहरीले केटाको काकालाई गमगढी बजारबाट पक्राउ गरेको थियो। प्रहरीले केटा र उनका काकालगायत चार जनाविरुद्घ अपहरण शरिर बन्धक तथा जवरजस्ती करणीमा मुद्धा चलाएको जानकारी दियो।