भ्रष्टाचार काण्डको वर्ष
काठमाडौं : यो वर्ष भ्रष्टाचारका कान्डै कान्डको वर्ष भएको छ। ललिता निवास जग्गा कान्ड, पप्पु कान्ड, वाइडबडी कान्ड, अख्तियारकै आयुक्तको घुस कान्ड, सिक्टा कान्ड, भृकुटी मण्डप जग्गा भाडा कान्ड, यो वर्षका चर्चित भ्रष्टाचार कान्ड हुन्। सबैभन्दा ठूलो कान्ड भने बालुवाटारको ललिता निवास जग्गा हिनामिना नै हो।
ललिता निवास जग्गा हिनामिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५ विरुद्ध मुद्दा दायर गरेको छ। गच्छदारसहित पूर्वमन्त्री चन्द्रदेव जोशी, डम्बर श्रेष्ठलाई प्रतिवादी बनाएको छ। बालुवाटारको २ सय ८४ रोपनी जग्गामध्ये १ सय ३६ रोपनी जग्गा हिनामिनामा अख्तियारले पूर्वउपप्रधानमन्त्रीदेखि आफ्नै पूर्वप्रमुख आयुक्तमाथि मुद्दा दायर गरेर धेरैलाई झस्काइदिएको छ। कान्डमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वसचिवद्वय दिनेशहरि अधिकारी, छविराज पन्त, भूमाफिया रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई प्रतिवादी बनाएको छ।
ललिता निवास प्रकरणमा अख्तियारकै पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यातविरुद्ध ९ करोड ६५ लाख बिगो कायम गर्दै मुद्दा परेको छ। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको छ। यसअघि ०७५ सालमा तत्कालीन महिला, बालबालिका तथा समाज कल्याणमन्त्री बद्री न्यौपानेले विशेष अदालतमा मुद्दा हालेको थियो। भृकुटीमण्डपको ६० रोपनी जग्गा भाडामा दिँदा भएको हिनामिना मुद्दामा मन्त्री न्यौपानेसहित १४ जनाविरुद्ध अख्तियारले मुद्दा हालेको थियो। उनीविरुद्ध ३१ करोड ५२ लाख बिगोसहित सजाय माग गरिएको छ। विशेष अदालतमा मुद्दा चलिरहेको छ।
०७५ मा तत्कालीन श्रममन्त्री टेकबहादुर गुरुङविरुद्ध पनि भृकुटीमण्डपको जग्गा भाडामा लगाउँदा अनियमितता भएको आरोपमा मुद्दा दायर भएको हो। विशेष अदालतमा दायर मुद्दामा उनीविरुद्ध ३१ करोड ५२ लाख बिगो माग गरिएको छ। ०७५ मंसिर २१ गते राष्ट्रिय गौरवका आयोजना अन्तर्गतको सिक्टा सिँचाइ आयोजनाको भ्रष्टाचारमा पूर्वमन्त्री विक्रम पाण्डेविरुद्ध मुद्दा हालेको छ। सिक्टा नहर परीक्षण गर्दा नै ठाउँ ठाउँमा भत्किएको थियो। राप्रपा नेतासमेत रहेका पाण्डेसहित २१ जनाविरुद्ध २ अर्ब १३ करोड बिगो दाबीसहित मुद्दा हालिएको छ। मुद्दा विशेषमा विचाराधीन छ।
अख्तियारले सांसदहरूमाथि समेत मुद्दा हालेको छ। ०७५ मै अख्तियारले पप्पु कन्स्ट्रक्सनका सञ्चालक एवं सांसद हरिनारायाण रौनियारविरुद्ध पनि मुद्दा हालेको छ। पप्पु कन्स्ट्रक्सनले बर्दियाको बबईमा बनाएको जब्दीघाटको पुल उद्घाटन नहुँदै भत्किएको थियो। अख्तियारले १९ करोड बिगोसहित हालेको मुद्दा विशेषमा विचाराधीन छ।
त्यसअघि आफ्नै पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध पनि अख्तियारले ७८ लाख घुस मुद्दा चलाइसकेको छ। भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै पाठकले कलेज सञ्चालक लम्बोदर न्यौपानेसँग घुस लिएका थिए। अख्तियारले नेपाल आयल निगम लिमिटेडका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्का, त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्मा, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्राडा. राजकुमार रौनियारविरुद्ध पनि अनियमितताका मुद्दा हालेको छ। ०७५ माघ १४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका रेडियो अपरेटर (नासु) श्यामकृष्ण च्वामू श्रेष्ठविरुद्ध १४ करोड ६१ लाख अकुतमा मुद्दा दायर गरिएको छ।
अख्तियारमा यस वर्ष २४ हजार उजुरी परेका छन्। २९ बर्से इतिहासमा सबैभन्दा धेरै मुद्दा आयोगले दायर गरेको अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए। अख्तियारले ३ सय ५१ वटा मुद्दा दायर भएको छ।
सूर्यनाथ उपाध्यायको पालापछि ठूला भ्रष्टाचारका मुद्दा चलाउन नसकेको अख्तियारको यो कदमले राजनीतिकर्मी, व्यापारिक घरानामा पनि ढ्यांग्रो ठोकेको छ।