अख्तियारको कार्यप्रति कांग्रेसको खेद, राजनीतिक प्रतिवाद गर्ने

अख्तियारको कार्यप्रति कांग्रेसको खेद, राजनीतिक प्रतिवाद गर्ने

 काठमाडौं : कांग्रेसले ललिता निवास प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध दर्ता गरेको मुद्दाप्रति खेद व्यक्त गरेको छ।अख्तियारले राजनीतिक पूर्वाग्रह र बदनियतपूर्ण रूपमा गच्छदारमाथि मुद्दा दायर गरेको दोहोर्‍याउँदै कांग्रेसले अख्तियारको अभियोगपत्र विरोधाभासपूर्ण भएको भन्दै विरोध जनाएको हो। कांग्रेसको सोमबार बसेको केन्द्रीय समिति बैठकले गच्छदार विरुद्धको मुद्दाको राजनीतिक रूपले प्रतिवाद र कानुनी रूपमा सामना गर्ने निर्णय गरेको छ। ‘आयोगले प्रस्तुत गरेको अभियोगपत्र विरोधाभासपूर्ण एवं दोहोरो मापदण्डयुक्त छ। यसले के प्रस्ट गर्दछ भने आयोगले गच्छदारमाथि सरकारको प्रभाव र दबाबमा मुद्दा दायर गरेको छ’, प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘यस्तो प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक रूपले प्रतिवाद गर्छाैं। कानुनी रूपमा सामना गर्दै निर्दोष सावित हुनुहुनेछ भन्ने कांग्रेसको विश्वास छ।’

अख्तियारले बुधबार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। ललिता निवासको जग्गा हिनामिना प्रकरणमा तत्कालीन मन्त्रीका रूपमा गच्छदारको संलग्नता रहेको ठहर गर्दै अख्तियारले उनलाई ९ करोड बिगो र १३ वर्ष जेल सजाय दाबी गरेको छ। कांग्रेसले सरकारको प्रभावमा अख्तियारले निर्णय गरेको भन्दै सदन र सडकमा विरोध जनाइरहेको छ। ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराई, तत्कालीन मुख्यसचिव एवं हाल चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई जोगाएको आरोप कांग्रेसले लगाउँदै आएको छ।

प्रधानमन्त्रीको निर्देशनमा प्रस्ताव लगेको हुँ : गच्छदार

उपसभापति गच्छदारले सरकारले आफूलाई पूर्वाग्रही रूपमा फसाएको आरोप लगाएका छन्। केन्द्रीय समिति बैठकमा डेढ घण्टाभन्दा बढी बोलेका गच्छदारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमा आफूले मन्त्रिपरिषद्मा ललिता निवासको जग्गा सम्बन्धमा प्रस्ताव लगेको बताए। ‘नेपालको निर्देशनमा मैले त्यो फाइल मन्त्रिपरिषद्मा लगेको हुँ,’ बैठकमा उनले भने, ‘तर अहिले त्यही मुद्दामा मलाई मात्र फसाइएको छ। मलाई मात्र नभएर कांग्रेसलाई योजनाबद्ध रूपमा फसाउन मुद्दा लगाइएको हो।’ उनले आफूबाट कुनै गल्ती नभएको जिकीर गरेका थिए।

उनले तत्कालीन प्रधानमन्त्री नेपालले प्रधानमन्त्रीको सरकारी निवास व्यवस्थित बनाउन गुरुयोजना बनाउनुस् भनेर लिखित निर्देशन दिएकाले आफूले भौतिक योजनामन्त्रीका हैसियतले प्रस्ताव लगेको बताएका थिए। ‘गुरुयोजना बनाउन विभिन्न मन्त्रालयका सचिवसहितको समिति बनाएको थिएँ मैले,’ उनले भने, ‘समितिले गरेको सिफारिसका आधारमा प्रधानमन्त्रीलाई प्रस्ताव बुझाएँ। मैले त्योभन्दा अरू केही गरेको छैन।’

संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दल कार्य समितिको बैठक मंगलबार बस्दै छ। संसदीय दलका उपनेतासमेत रहेका उपसभापति गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएपछि कांग्रेसले निरन्तर प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ। दिउँसो बस्ने प्रतिनिधिसभा बैठकअघि कांग्रेसले संसदीय दल कार्य समितिको बैठक बोलाएको हो। गच्छदारको बचाउमा संसद् अवरुद्ध गरेको भन्दै कांग्रेसको आलोचना हुन थालेको छ। यसैबीच सोमबार कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघको अगुवाइमा काठमाडौंमा विरोध प्रदर्शन भएको छ। सरकार र अख्तियारको काम पूर्वाग्रही भएको भन्दै महिला संघ विरोधमा उत्रिएको हो।

वुहानका नेपालीलाई तत्काल उद्धार गर्न माग

चीनको वुहानमा रहेका नेपाली विद्यार्थीसँगै सबै नेपालीलाई तत्काल उद्धार गरेर स्वदेश ल्याउन कांग्रेसले माग गरेको छ। ‘उद्धारमा हुने ढिलाइले बढ्न सक्ने संक्रमणको जोखिम र त्यसले भोलि नेपालमा पर्न सक्ने गम्भीर असरबारे कांग्रेस सरकारलाई सजग गराउन चाहन्छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘देश फर्काएर राख्ने ‘क्वारेन्टाइन’ लाई सम्पूर्ण रूपले व्यवस्थित र सुरक्षित ढंगले प्रबन्ध गर्न पनि सरकारलाई विशेष रूपले सजग गराउँदछ।’

यस्तै सरकारका पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको हत्या भएको घटनालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको छ। कांग्रेसले शान्तिसुरक्षाको प्रश्नमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउँदै घटनाको गहिरो अनुसन्धान र दोषीमाथि कारबाहीको माग गरेको छ। अछाम पञ्चदेवल विनायक नगरपालिका २ का कांग्रेसका तर्फबाट निर्वाचित वडाध्यक्ष पदमबहादुर धामीको गत माघ २० गते भएको हत्यामा संलग्नलाई कारबाही गर्न पनि कांग्रेसले माग गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.