प्रेम र आत्मीयताको प्रदर्शन
काठमाडौं : ‘आत्मीयता, माया, प्रेम देख्नेभन्दा पनि महसुस गर्ने चिज हो। यसलाई मनको आँखाले हेर्नुपर्छ, हृदयले बुझ्नुपर्छ। प्रेममा मनदेखि मनबीचको कनेक्सन देखिनुपर्छ। यो अमूर्त हुन्छ।’ माथिको परिभाषा दिँदै चित्रकार सविता डंगोल आफ्नो प्रेम अनुभव र बुझाइलाई बताउँदै थिइन्। हँसिलो मुहारमा देखिएकी सविता जब जब प्रेमका कुरा गर्थिन्, प्रेमपत्र, गुलाबको फूल र प्रेमिल भेटघाटको स्मरण गर्थिन्।
नेपाल आर्ट काउन्सिल बबरमहलमा चित्रकारद्वय ईशान परियार र सविता डंगोलको युगल चित्र प्रदर्शनी चलिरहेको छ। ‘आत्मीयता’ शीर्षकमा ईशान र सविताले तीन वर्षदेखि बनाएका चित्रहरू प्रदर्शनीमा समावेश छ। साना ठूला गरी ९० वटा चित्रहरू समावेश भएको प्रदर्शनीमा अधिकांश चित्रले प्रेमलाई प्रतिनिधित्व गर्छ।
काठमाडौंकी सविता डंगोल र पोखराका ईशान परियारको चिनजानी भएको दशकौं बितिसक्यो। चार वर्षअघि उनीहरूले अन्तरजातीय प्रेमविवाह गरे। उनीहरूको प्रेमलाई आफन्त र परिवारको साथ पनि मिल्यो। यही माघ २१ गते विवाहको चौथो वार्षिकोत्सव मनाएका यो जोडीले विवाह महिनालाई हर्षेाल्लासपूर्वक मनाउन आफ्ना चित्रलाई रोजे।
सविता भन्छिन्, ‘फेव्रुअरी महिना प्रेमको महिना हो। यही महिनामा हामीले प्रेम दिवस मनाउछौं। साथै, यही महिना हाम्रो लागि विशेष भएकाले आत्मीयता शीर्षकमा हाम्रा चित्र प्रदर्शनीमा ल्याएका हौं।’ प्रदर्शनीमा समावेश ईशानका चित्रमा गुलाबका अनेक रङ र प्रकारहरू समावेश छन्। नदी पार गर्दै गरेका डुंगा, तालमा डुंगा चढेर तैरिरहेका जोडीहरूका भावभंगीलाई उनले क्यानभासमा उतारेका छन्। ‘डुंगाको काम मानिसलाई अगाडि बढाउने हो। विशाल नदीको अफ्ठ्यारो यात्रा डुंगाले सहज बनाइदिन्छ। यस्तै प्रेमलाई अगाडि लैजान पनि विश्वासको डुंगा चलाइराख्नु पर्छ,’ ईशान भन्छन्, पानी स्वच्छताको प्रतीक हो। यसले कसैलाई कुनै आधारमा विभेद गर्दैन। त्यसैले पनि मानिसहरूबीचको आत्मीयता पानी जस्तै स्वच्छ हुनुपर्छ।’
सविताका चित्रमा ढुंगेधारा, पानीको बहाव, धारामा नुहाइरहेका युगल जोडी, पर कतै हेरेर ध्यान गरिरहेका युवा, युवती, काइँयो, घण्टी, फूल, मयूर, हात्तीलगायतका चित्रलाई सिम्बोलाइज्ड गरिएको छ। ‘हात्ती विश्वास र समृद्धिको प्रतीक हो। मयूरलाई शुभ समाचारको र भविष्यको रूपमा हेरिने भएकाले चित्रमा प्रयोग गरेकी छु,’ सविता भन्छिन्, ‘मेरा चित्रमा समावेश सिम्बोलहरूले कुनै न कुनै अर्थ बोकेका छन्, चाहे त्यो धर्म संस्कृतिको अर्थ होस् या मलाई व्यक्तिगत रूपमा लागेका अर्थ।’
सविताका अधिकांश चित्रहरूमा युगल जोडीका अवतार देख्न सकिन्छ। ईशानसँग प्रेम सम्बन्धमा बाँधिएपछि आफूले अनुभव गरेका प्रेमिल भाव र लगावलाई उनले चित्रमा उनेकी हुन्। कुनै चित्रमा आफैंलाई उतार्ने कोसिस पनि गरिन्। कहिलेकाहीँ सँगै उभिएर एउटै सपना देख्थे उनीहरू। पुग्ने गन्तव्य र हिँड्ने बाटो एउटै थियो। यसैले पनि करिब ९० वटा चित्रको युगल प्रदर्शनी सम्भव भयो।
प्रदर्शनीको रोचक पक्ष त के छ भने, आजभन्दा ११ वर्षअघि ईशानले सविताको लागि लेखेको कविताको अंश र सविताको प्रतिउत्तरलाई पनि उनीहरूले फ्रेममा सजाएर आर्टको नमुना बनाएका छन्। यस्तै ईशानले विभिन्न समयमा दिएका गुलाबको फुललाई सविताले डायरीमा संकलन गरेर राखेकी थिइन्। त्यही सुकेका गुलाबका पत्रलाई ईशानले फ्रेममा सजाएर राखिदिए। यो एउटा कलात्मक आर्टको रूपमा प्रदर्शनीमा समावेश छ।
समग्रमा आत्मीयता चित्र प्रदर्शनी प्रेममय छ। प्रत्यक्ष रूपमा ईशान र सविताको चित्र हेर्दे प्रेमिल आर्टका भावमा हराउन रमाइलो लाग्छ। प्रदर्शनी सोमबारसम्म चल्नेछ।