ठूलो निर्यातकर्तामा डाबर नेपाल

ठूलो निर्यातकर्तामा डाबर नेपाल

काठमाडौं : जडीबुटीजन्य वस्तु उत्पादन तथा निर्यात गर्ने उद्योग डाबर नेपाल प्राइभेट लिमिटेडलाई नेपाल सरकारले सबैभन्दा ठूलो निर्यातकर्ता उद्योगको रूपमा सम्मान गरेको छ। मंगलबार सरकारको तर्फबाट डाबर नेपाललाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) को सम्मान गरिएको हो। उद्योग, व्यापार र निर्यातका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै डाबर नेपालसहित २५ उद्योगी र व्यवसायी पनि सम्मानित भए।

भारततर्फ १२ अर्ब ७० करोड ६७ लाख मूल्यबराबरको जडीबुटीजन्य उत्पादन निर्यात गरेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले डाबर नेपाललाई सम्मान गरेको हो। प्रधानमन्त्री केपी ओलीले कम्पनीका बिजनेस प्रमुख हरिकिरतसिंह वेदीलाई उक्त सम्मान प्रदान गरेका थिए। उद्योग र व्यवसायको क्षेत्रमा राज्यबाट प्रदान गरिने यो पुरस्कार सबैभन्दा ठूलो हो।

स्वदेशमा उद्योग सञ्चालन गरी रोजगारको अवसर सिर्जना गरेको, स्वदेशी कामदारलाई रोजगार उपलब्ध गराएको, नेपाली वस्तु निर्यात गरी आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका खेलेका उद्योगी र व्यवसायीलाई दुई दुई वर्षको अन्तरालमा सरकारले सम्मान गर्दै आएको छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी) को सिफारिसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायीलाई उक्त सम्मान गर्दै आएको हो। टीईपीसीका कार्यकारी निर्देशक शरदविक्रम राणाका अनुसार २०७४÷७५ र २०७५÷७६ को आधारमा सीआईपी सम्मानपत्र प्रदान गरिएको हो।

उद्योगी व्यवसायीतर्फ दोस्रोमा आरती स्ट्रिप्स प्राइभेट लिमिटेडका महाप्रबन्धक दिव्यराज सापकोटा छन्। पाँच अर्ब तीन करोड ३५ लाख मूल्यबराबरको वस्तु भारत निर्यात गरेको भन्दै सापकोटालाई सीआईपी प्रदान गरिएको हो। यस्तै सोही विद्यातर्फ तेस्रोमा हुलास वायर इन्डस्ट्रिज छ। हुलासले चार अर्ब ९५ करोड ६० लाख मूल्यबराबरको वस्तु भारततर्फ निकासी गरेको भन्दै उक्त उद्योगका निर्देशक युक्ति गोल्छालाई सीआईपीबाट सम्मानित गरिएको थियो।

तेस्रो मुलुकतर्फ वस्तु निकासी गर्ने निर्यातकर्ता उद्योगीतर्फ त्रिवेणी स्पिनिङ मिल्सका अध्यक्ष रामचन्द्र संघाई सम्मानित भए। संघाईले तीन अर्ब ५६ करोड २९ लाख मूल्यबराबरको धागो निर्यात गरेका थिए। सोही विधातर्फ ९४ करोड १७ लाख मूल्यबराबरको ऊनी गलैंचा निर्यात गर्ने दी साँग्रिला कार्पेट एन्ड ह्यान्डिक्राफ्टका प्रबन्ध सञ्चालक दोर्जेग्याल्सेन लामालाई सम्मान गरिएको छ।

सोही विद्यातर्फ ८२ करोड ८७ लाख मूल्यबराबरको तयारी पोसाक निर्यात गर्ने काठमाडौं स्टार फेसनका प्रबन्ध निर्देशक राहुलमान शाक्य सम्मानित भए। ४८ करोड १४ लाख मूल्यबराबरको ऊनी तथा पश्मिना सल निर्यात गरेको एभरेस्ट पश्मिना निटिङ एन्ड वेभिङ प्राइभेट लिमिटेडका सूर्यकुमार गुरुङ र ६९ करोड ७१ लाख मूल्यबराबरको उनी फेल्टका वस्तु निर्यात गर्ने एभरेस्ट फेसनका सञ्चालक रविन श्रेष्ठ पनि सम्मानित भए।

चीनतर्फ निर्यात गर्ने उद्योगीतर्फ ४३ करोड ६० लाख मूल्यबराबरको हस्तकलाका वस्तु निर्यात गर्ने न्यू हस्तकला एक्सपोर्टका सञ्चालक पेम्बा दोर्जे शेर्पा, ३९ करोड ३३ लाख मूल्यबराबरको वस्तु निर्यात गर्ने गणेश हिमाल इम्पोर्ट एन्ड एक्सपोर्टका व्यवस्थापक विश्वराज बस्नेत र २२ करोड ४२ लाख बराबरको निर्यात गर्ने न्यू प्यागोडा इन्टरप्राइजेजका सञ्चालक मछिन्द्र पाण्डेलाई सम्मान गरिएको छ।

हस्तकलाका वस्तु निर्याततर्फ पिपल्स क्राफ्ट एक्सपोर्टका सञ्चालक गोपीप्रसाद कँडेल सम्मानित भए। वाणिज्य नीति र नेपाल व्यापार एकीकृत रणनीति २०७३ ले प्राथमिकतामा राखेका निर्यात सम्भावनायुक्त वस्तुमध्ये कृषिजन्य वस्तु निर्याततर्फ मनराम हिमालयन ह्यान्डिक्राफ्ट्सका प्रबन्ध सञ्चालक सुजनकुमार श्रेष्ठलाई सम्मान गरिएको छ। सोही विधातर्फ सीजी बायोटेक प्राइभेट लिमिटेडका अध्यक्ष निर्वाणकुमार चौधरी सम्मानित भए।

निर्यात व्यापारमा सबैभन्दा बढी निर्यात गर्ने महिला उद्यमीतर्फ चार अर्ब ९५ करोड ६० लाख मूल्यबराबर वस्तु निर्यात गर्ने हुलास वायर्सका प्रबन्ध निर्देशक राजलक्ष्मी गोल्छालाई सम्मान गरियो। सफ्टवेयर निर्यातमा एलआईएस नेपाल प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक दीपेश प्रधान सम्मानित भए।

स्वदेशमै सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने उद्योगमा रिलायन्स स्पिनिङ मिल्स छ। स्वदेशकै चार हजार एक सय २८ जनालाई रोजगार उपलब्ध गराएको भन्दै सरकारले उद्योगका अध्यक्ष तथा प्रबन्ध सञ्चालक पवनकुमार गोल्याणलाई सम्मान गर्‍यो।

सोही विद्यातर्फ होङ्सी शिवम् सिमेन्ट प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक लिउ सु कुवाङ सम्मानित भए। बैंकिङ प्रणालीमार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्याउने आईएमईका अध्यक्ष चन्द्र ढकाल सीआईपीबाट सम्मानित भए।

यस्तै होटेल व्यवसायीतर्फ तारागाउँ रिजेन्सी होटेल लिमिटेड (ह्यात रिजेन्सी)का कार्यकारी सञ्चालक सुरेशलाल श्रेष्ठलाई सम्मान गरिएको छ। युवा उद्यमी व्यवसायी महिलातर्फ फेल्ट एन्ड यार्न प्राइभेटका प्रबन्ध निर्देशक सुनिता शेर्पा, सोही विद्यामा पुरुषतर्फ रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक अक्षय गोल्याणलाई सम्मानित भए।

वाणिज्य क्षेत्रमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर सम्मानित भए।

सम्मान पाउनेले मन्त्री र प्रधानमन्त्रीसँग सोझै भेटघाट गर्न पाउनेछन्। यस्तै त्रिभुवन विमानस्थलसहित देशभरका विमानस्थलमा रहेका अति विशिष्ट कक्ष उपभोग गर्न पाउनेछन्। वैदेशिक व्यापार मेलामा सहभागिताका साथै सार्क भिसा प्राप्त गर्न सक्नेछन्। भारतसहित तेस्रो मुलुकमा हुने व्यापारिक र औद्योगिक मेला तथा मन्त्री र प्रधानमन्त्रीको वैदेशिक भ्रमण डेलिगेसन समूहमा सीआईपी प्राप्त उद्योगी र व्यवसायीले प्राथमिकता पाउनेछन्।

सरकार तानाशाही छैन : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले सरकार तानाशाही नभएको बताएका छन्। सीआईपी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारस्वच्छता, सुशासन र पारदर्शितामा सरकार कटिबद्ध रहेको भन्दै सरकारले कमिसनको कुनै पनि काम नगरेको दाबी गरे।

‘वर्तमान सरकार भ्रष्ट पनि छैन, भ्रस्टाचार पनि गर्दैन’, ओलीले भने, ‘हामी कमिसन पनि मागेका छैनौं। कमिसनको खेल पनि खेलेका छैनौं।’ सीआईपी प्राप्त उद्योगी र व्यवसायीलाई सम्मानको मर्यादा नतोड्न उनले सुझाव दिए।

प्रधानमन्त्री ओलीले उद्योगी व्यवसायीको सुझावको आधारमा उद्योग र व्यवसाय सञ्चालन गर्दा आइपर्ने कानुनी अड्चनलाई हटाउन सरकार तयार रहेको प्रतिबद्धता जनाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.