२१ वर्षमै चार सन्तान !
विराटनगर : मोरङको जहदा गाउँपालिका–३ भाथीगन्जकी २१ वर्षीया मन्झा रिसिदेव चार सन्तानकी आमा बनिसकेकी छन्। अर्को गर्भ ६ महिनाको भयो। काखीमा नानी च्यापेर डोरी तान्दै सडकमा बाख्रा चराउन निस्कने गर्भवती मन्झालाई भेट्नेजतिले प्रश्न गर्छन्, ‘यति सानैमा चार सन्तान अनि अर्को पनि ? ’ उनको पहिलो छोरो ७ वर्षका र अरू ४, ३ र २ वर्षका छोरी छन्।
विद्यालय जाने उमेरमै विवाह गरेकाले उनले २२ वर्ष नपुग्दै निरन्तर चार बच्चाको आमा बन्नुपरेको हो। श्रीमान् रमेश रिसिदेव सिकर्मी काम गर्छन्। ‘घरकाले विवाह गरी पठाए, लगत्तै बच्चा भए,’ मन्झाले भनिन् ‘के गर्ने, कसो गर्ने केही थाहा छैन।’
बच्चा जन्माउनु र विवाह गर्नु यस क्षेत्रका महिला आफ्नो धर्म ठान्छन्। जन्मेका बच्चालाई भगवान्को प्रसाद भन्दै ग्रहण गर्नुको विकल्प छैन। जाहदा गाउँपालिका–३ भाथीगंजकै २० वर्षीया मिनिया रिसिदेवको समस्या पनि उस्तै छ। ७ वर्षअघि विवाह गरेकी उनका दुई सन्तान छन्। उनी पनि ६ महिनाकी गर्भवती छिन्। मोरङ माइती भएकी उनको वसन्ता रिसिदेवसँग मागी विवाह भएको हो। सोही बस्तीकी किरण पासवानको पनि २१ वर्षमा ३ सन्तान भए। छोराछोरीसँगै उनी खेलिरहेकी भेटिन्छिन्।
मोरङको मधेसी दलित समुदायमा सानै उमेरमा बिहे गर्ने परम्परा कायमै छ। अन्य मधेसी समुदायमा यो क्रम घट्दै गए पनि दलित बस्तीमा यस्ता घटना प्रसस्त भेटिन्छन्। सरकारले कानुन बनाएर कम उमेरको विवाह रोक्न खोज्नु र चेतनामूलक कार्यक्रम ल्याउनु यस क्षेत्रका नागरिकलाई कथासरह छ।
स्थानीय तहले बालविवाह गरे कानुनी कारबाही गर्नेलगायतका जागरण कार्यक्रम ल्याएपछि यो क्रम ५ प्रतिशत रोकिएको स्थानीय कलानन्द पासवानले जानकारी दिए। कलिलो उमेरमा विवाह गरेका कारण निरन्तर बच्चा र आमामा स्वास्थ्य समस्या देखिने गरेको यस क्षेत्रमा जागरणका लागि खटिएका सामाजिक अभियन्ता राजेश झाले बताए। ‘सानै उमेरमा विवाह भएकाहरू कसैको केही वर्षमै डिभोर्ससमेत भएको भेटिन्छ’, उनले भने, ‘परिपक्क नहुँदा कुटपिट र हिंसाका घटनासमेत बढेका छन्।’ आफ्नै स्याहार गर्न नसक्ने उमेरमा आमा बन्दा कतिपयको मानसिक रोगसमेत देखिने गरेको छ।
सोही वडाका अध्यक्ष अनिल ठाकुरले पछिल्लो दुई वर्षयता यस क्षेत्रमा बाल विवाह नभएको दाबी गरे। ‘पहिले धेरै बालविवाह भएछन्, त्यसपछिका समस्या अहिले देखिएको छ,’ उनले भने, ‘अब हामी बालविवाह हुन दिनेछैनौँ, घर–घरमा पुगेर रोक्ने कार्यक्रम ल्याउँछौँ।’ विद्यालय जाने उमेरमै विवाह गरेकाले उनले २२ वर्ष नपुग्दै निरन्तर चार बच्चाको आमा बन्नुपरेको हो।