न उत्कृष्ट, न निकृष्ट

न उत्कृष्ट, न निकृष्ट

कविताबाट साहित्यमा डेब्यु गरेर ‘गुनगुनाइ’ (गीतसंग्रह), ‘भोजराज घिमिरेका कविता’ (कवितासंग्रह), ‘निर्बन्ध आकाश’, ‘आहत’, ‘आवाजभित्रको आवाज’, ‘उन्मुक्त किनारा’ (गजलसंग्रह)लगायत गीत र गजलका एल्बमहरूसमेत सार्वजनिक गसिकेका सर्जक भोजराज घिमिरे ‘अन्तिम प्रश्न’ कथासंग्रह लिएर झुल्किएका छन्।

प्रशासनिक जिम्मेवारी सम्हाल्ने क्रममा केही समय साहित्य सिर्जनाबाट टाढिएका घिमिरे विधाभञ्जन गर्दै आख्यानमार्फत साहित्यमा कमब्याक हुनु नेपाली कथासाहित्यका पाठकका लागि खुसीको कुरा हो। आख्यानमा उनको पदार्पणलाई ‘अन्तिम प्रश्न’मार्फत पाठकले स्वागत गर्ने अपेक्षा राख्नु सान्दर्भिक हुनेछ।

सेवानिवृत्त जीवनमा आफ्नो भोगाइ, अनुभव र अनुभूतिहरू समेटेर आत्मकथा लेख्न छोडेर कथा विधामा पदार्पण गर्नु नेपाली कथाविधाका पाठकका लागि खुसीको कुरा हो। वरिष्ठ कवि एवं गीतकार विमल कोइरालाको भनाइमा ९० प्रतिशत आत्मकथा आत्मश्लाघा मात्रै हुन्। तिनमा सत्य, यथार्थ र वास्तविक कुराहरू आएका हुँदैनन्। आत्मप्रशंसाको बाहुल्य हुने आत्मकथामा मानिसका कमी, कमजोरी र दोषहरू पटक्कै उल्लेख गरिएको हुँदैन। सत्य कुरा भन्ने वा लेख्ने आँट प्रायःजसो आत्मकथामा गरिएको पाइँदैन। सत्य र आफ्ना अवगुणलाई लुकाएर गुणैगुण मात्र देखाउने प्रयास आत्मकथामा गरिएको पाइन्छ। यस्तो अवस्थामा कथाविधाबाट आफ्ना भोगाइ, अनुभव र अनुभूति अर्थात् उकुसमुकुसलाई पोख्न खोज्नु त्यो डर र दोषबाट बच्ने सजिलो उपाय पनि हो। यही उपाय भोजराज घिमिरेले पनि अवलम्बन गरेका हुन् भन्दा अतिशयोक्ति नहोला।

‘अन्तिम प्रश्न’ १६ वटा लामा कथाको संग्रह हो। यी कथाहरू आकारको दृष्टिले जति लामा छन्, गुणका दृष्टिले उत्तिकै गह्रुँगा छन्। जतिुसकै लामा कथा भए पनि नपढीकन पाना पल्टाउनुपर्ने स्थिति घिमिरेका कुनै पनि कथामा आउँदैन। पाठकलाई तानिराख्ने र डोर्‍याउँदै लाने प्रस्तुति, कला, शिल्प र कल्पनाशीलताका गुणहरू यथेष्ट छन् कथाहरूमा। जतिसुकै लामा कथा भए पनि पाठकले नपढीकन पाना नपल्टाउनुलाई घिमिरेका कथागत विशेषता मान्न सकिन्छ र यो उनको लेखनको महत्वपूर्ण उपलब्धिका रूपमा पनि लिन सकिन्छ।

संग्रहको पहिलो कथा हो, ‘सम्झौता’मा समलिंगीको बाल्यकालको मनोकांक्षादेखि वयस्क भएपछिका मनोदशा केलाइएको छ। यसैगरी प्रेमीबाट बलात्कृत युवतीको मातृत्व पनि छताछुल्ल भएर पोखिएको छ। कथाका मुख्य दुवै पात्रले एकले अर्कोलाई जानीनजानी धोका नै दिएको भए पनि अन्ततः वैयक्तिक स्वतन्त्रतासहितको सम्झौतामा कथा टुंगिएको छ। पाठकको सोचभन्दा भिन्न छ कथाको मोड र यसको अन्त्य पनि। पर्याप्त साहित्यिक आनन्द दिन्छ यो कथाले।

‘सेतो घोडा’ चर्चायोग्य कथा हो। बीपी कोइरालाको ‘कर्णेलको घोडा’ कथाको याद गराउँछ यो कथाले। तर यी दुई कथामा कुनै कुरामा पनि समानता भेटिन्न। ‘कर्णेलको घोडा’ असामान्य यौनमनोवैज्ञानिक कथा हो भने यो विशुद्ध सामाजिक कथा हो। यो कथामा कर्मचारीलाई गाउँका मुखिया बाले पालेको सेतो घोडासँग तुलना गरिएको छ। तर यो तुलना कताकता अस्वाभाविक पनि लाग्छ।

 घोडाले जस्तो जिम्मेवारीको बोझ बोक्नु परे पनि पदाधिकारीले पराधीन हुनु पर्दैन र सेवाग्राहीबाट कुनै चोट र पीडा पनि सहनु पर्दैन सेतो घोडाले जस्तो। बरु पदीय हैसियत र सोअनुरूपको ठाँटबाँटले सेवाग्राहीसामु उसले आफूलाई उच्च स्थानमा राखेको हुन्छ। सोहीअनुरूपको अदब पनि कायम राखेको हुन्छ। सेवक हुँदाहुँदै पनि शासकको अमिभान प्रकट गर्ने पदाधिकारीले सेवानिवृत्त भएपछि पनि उस्तै हैसियतको आकांक्षा र लालसाले आफूलाई उपेक्षित र अवहेलित भएको ठान्नुलाई स्वाभाविक भएरै पनि स्वाभाविक मान्न सकिन्न। अवकाशपछि पनि उस्तै सुविधा, सहुलियत र मानसम्मानको अपेक्षा राखेर बूढो घोडाको नियतिसँग आफूलाई तुलना गर्दै आफूलाई सामाजिक मानसम्मानबाट वञ्चित गराइएको ठान्नु लालसाको परिचायक मात्र हो।

आफ्नो स्वार्थ पूरा गर्न मानवलाई पनि देवत्वकरण गर्नु मानिसको स्वभाव हो। यो सामाजिक प्रक्रिया नै हो। यो प्रक्रिया चलिराख्छ। तर आफूलाई देवत्वकरण गर्न खोज्नेहरूलाई इन्कार गर्न नसक्ने र पदबाट निवृत्त भएपछि उपेक्षा गरिएको भन्दै आफूलाई देवत्वकरण गर्न खोज्नेहरूलाई दोष देखाउन खोज्नु उचित होइन। व्यंग्य अथवा वक्रोक्ति हो भने ठीक छ। होइन भने सेतो घोडाले झैं सहानुभूति हासिल गर्न खोज्नु गलत हो। सबै सेता घोडा इमानदार र वफादार थिएनन् र छैनन् पनि। लात्ताले हान्ने सेता घोडाहरू धेरै थिए र अझै छन् पनि। यो यथार्थलाई बेवास्ता गर्नु हुँदैन। भुक्तभोगीका आँखाले पनि हेर्नुपर्छ। त्यसैले कथा रोचक भएर पनि अस्वाभाविकता झल्कन्छ। यद्यपि यो कथालाई पाठकले अवश्य रुचाउने छन्।

‘आफैं बल्झाएको व्यथा’मा अनाथालयमा हुर्केर बैंसमै बेसहारा बनेकी वैजयन्तीको विषादपूर्ण नियतिको वर्णन छ। सहाराका लागि धेरैलाई विश्वास गर्दै जाँदा झनै बेसहारा हुनु परेको यथार्थको चित्रण छ। कताकता यौनेच्छाले गलत बाटोलाई पनि सहज रूपमा स्वीकार्नुपर्ने बाध्यताको संकेत पनि कथामा भेटिन्छ।

‘पछ्याउन छोडेन’ कथामा सहिदकी पत्नी अनि सहिद छोराकी आमाको फेरि एउटा अर्को क्रान्तिका लागि एउटा छोरा जन्माउनैपर्ने सपना र आग्रह छ यो कथामा। कथा विम्बात्मक छ र विवरणात्मक छ। कथामा सान्दर्भिक प्रसंगहरू जोडिएका छन्। जनयुद्धदेखि गणतन्त्रका लागि गरिएको क्रान्तिसम्मलाई कथाले समेटेको छ। कथामा क्रान्तिचेत भरपूर छ।

‘आफ्नो मान्छे’ कथामा नाताले आफ्नो नभए पनि परिस्थितिले नाता जोडिएको मान्छेको सम्झनामा संवेदित भएको वर्णन छ। दरबारमा नानी बसेर बैंस निखारेकी बीनु दिदीको पीडा र व्यथाको वर्णन ‘बीनु दी’ कथामा गरिएको छ। लोग्ने र छोराछोरी भएर पनि अस्पतालमा असहाय परेकी बेसहारा आमाको मार्मिक कथा हो ‘बिदा नै पाउँदैनन्’। अवसरको खोजीमा बिदेसिएका लाखौं नेपाली युवाकी प्रतिनिधि आमा हुन् यस कथाकी पात्र विश्लेषा। यद्यपि प्रौढ आमाको नाउँ अलि आधुनिक भएकाले त्यो अस्वाभाविकजस्तो लाग्छ।

संग्रहका उल्लेखनीय कथामध्येको एक हो ‘जनता’। राजनीतिक चेतना बोकेको यो कथामा शोषण र उत्पीडन अन्त्य गर्न जनतालाई सबल बनाउनुपर्छ भन्ने राजनीतिक चेतको सन्देश छ। परिचयका लागि राजनीतिक पार्टीसँग नै जोडिनुपर्ने प्रवृत्तिप्रति तीखो व्यंग्य प्रहार गरिएको छ यो कथामा।

संग्रहको अर्को उल्लेखनीय कथा हो, ‘कार्यव्यसन’। निकै मार्मिक र हृदयस्पर्शी छ यो कथा। प्रेरणादायी पनि छ। कामप्रतिको मोह र लगावले काममा एकोहोरिएको मान्छेमा कार्यव्यसनको प्रभाव परेको वर्णन गरिएको छ। घरपरिवारको भन्दा कामप्रतिको जिम्मेवारीबोधले आखिर कार्यव्यसन नै गराउने सन्देश छ कथामा।

‘अन्तिम प्रश्न’ संग्रहको अन्तिम कथा पनि हो। श्रीमतीको मृत्युले दुःखित र विचलित छोरालाई सम्झाउने, सान्त्वना दिने र जगाउने बाबु, आमा र ससुराको प्रयासलाई कथामा वर्णन गरिएको छ। छोराको आफ्नो श्रीमतीप्रति असाध्यै प्रेम र लगाव रहेको वर्णन कथामा छ। ‘...त्यो एउटी जैरी स्वास्नी मरेर गई भन्दैमा प्रलय नै भएजस्तो, आकाश नै खसेजस्तो पो गर्छ।’ कथामा प्रयुक्त यो वाक्य भने अलि असुहाउँदो लाग्छ। समस्त स्वास्नीमान्छेकै अवमूल्यन गरेजस्तो लाग्छ यो वाक्यले। कथा निकै मार्मिक छ। कथा लामो छ, तैपनि प्रस्तुतिको चुस्तताले पट्यार लाग्न दिँदैन। अन्ततः कथानायकको मनमा धेरै प्रश्नसँगै उठेको एउटा अन्तिम प्रश्नले ऊ नपुंसक भएको भेद खुल्छ र कथाको अन्त्य पनि हुन्छ। यसरी अचानक एउटा रहस्यको उद्घाटन गरेर कथाको अन्त्य हुँदा पाठकको मस्तिष्क झनझनाउँछ र रोमाञ्चित बनाउँछ। कथा प्रभावशाली छ। कथालाई तन्काउने कथाकारको खुबी प्रशंसनीय छ।

समग्रमा भन्नुपर्दा ‘अन्तिम प्रश्न’ परम्परागत शैलीमा लेखिएका कथाहरूको सँगालो हो। यसमा वर्तमानमा चलेका कुनै साहित्यिक वादको प्रयोग वा त्यसको आग्रह राखिएको छैन। कथाहरूलाई ‘उत्कृष्ट’ भनिहाल्नुपर्ने अवस्था छैन र निकृष्ट पनि छैनन्। औसतस्तरका सामाजिक कथाहरू नै हुन्। यसो भन्दाभन्दै पनि एउटा प्रयोग भने गरिएको पाइन्छ। त्यो हो, सबै पात्रको नाउँ ब र वबाट आउनु।

कथामा कथाकार नभई स्वयं पात्रहरू बोलेका छन्। धेरैजसो पात्रले हाम्रै गाउँ, सहर र समाजको प्रतिनिधित्व गरेका छन्। आमसामाजिक कथामा झैं यस संग्रहका कथाहरूमा पनि हाम्रै समाजको परिवेश, परिस्थिति, घटना र दुर्घटनाहरू विभिन्न रूपमा प्रस्तुत गरिएका छन्। त्यसमा मानवीय मनोविज्ञानदेखि दाम्पत्य जीवन र यौनिकताका अव्यक्त आयामसम्म, समाजको संस्कृतिदेखि विभिन्न थिति र बेथितिसम्म, घरपरिवारभित्रको मूल्यमान्यताको स्थापनादेखि त्यसको विघटनसम्म, जीवनसंघर्षदेखि जिजीविषासम्म, असल मानवीयतादेखि संवेदनहीनतासम्म र राजनीतिदेखि अर्थनीतिसम्मका विषयहरू कथावस्तुका रूपमा आएका छन्।

लेखक स्वयं धेरै वर्षसम्म देशको उच्च प्रशासनिक ओहोदामा बसेर काम गरेका हुँदा उनका कथाहरूमा प्रशासनिक अनुभव, सामाजिक रूपान्तरणको नारामा सीमित खोक्रा आदर्श र राजनीतिक विपर्यासहरू पनि प्रतिविम्बित भएर आएका छन्। समाजको ऐनाजस्तै छ यो कथासंग्रह जहाँ आफ्नै अनुहार पनि देख्न सकिन्छ। समाजको पात्र र प्रवृत्ति जस्ताको तस्तै देख्न सकिन्छ। सामाजिक विषयवस्तुका कथा रुचाउने पाठकका लागि यो संग्रह गतिलो खुराक बन्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.