बन्दुक भिराउने सिलौटी सभा
इतिहासका द्रष्टा, भोक्ता र साक्षीका बारे कमै मात्र पढ्न पाइन्छ। पहुँचवालाले सत्ता, शक्ति र स्रोतको सर्वथा दुरुपयोग गरी लेख्ने, लेखाउने रीत संसारभर चल्दै आएको छ। नेपालमा पनि दरबारका यस्ता वंशावली, लेखोट र प्रशस्तिगानहरूबारे हामीले सुन्दै, पढ्दै आएका छौं। इतिहास राज्यसत्ताको मात्रै हुन्छ कि, जनताको पनि ? बहस–छलफल जारी छ।
‘सत्र सालको क्रान्तिको सम्झना’ नामक कृष्णविक्रम नेम्बाङ लिखित एवं ओरिएन्टल पब्लिकेसनद्वारा प्रकाशित सुन्दैमा ऐतिहासिक र हेर्दैमा चित्ताकर्षक किताब उक्त परम्पराभन्दा पृथक् छ। ‘डायरीमा बेलायत’, ‘स्मृतिमा बीपी आन्दोलन’ जस्ता किताब लेखिसकेका २०१७ सालको क्रान्तिका मुक्तियोद्धा नेम्बाङको यो चौथो पुस्तकाकार कृति हो।
यसमा २०१५ सालको पहिलो आम निर्वाचनबाट दुई तिहाइ मत प्राप्त गरी प्रधानमन्त्री बनेका बीपी कोइरालाको सरकारलाई अपदस्थ गरी राजा महेन्द्रले चालेको कदमविरुद्ध पूूर्वी पहाडको पाँचथर र त्यसवरपर सल्केको क्रान्तिको कथा छ। ‘सिलौटी सभा’मार्फत नेपाली कांग्रेसले हतियार उठाउनुभन्दा अघि हतियारसहितको क्रान्तिमा जाने निर्णयको पृष्ठभूूमि र नालीबेली पनि यसमा छ।
२००७ सालअघि नै नेपाली कांग्रेसबाट प्रभावित भई राणा विरोधी गतिविधिमा लागेको नेम्बाङ परिवारका ११ भाइ छोरामध्येका साहिँला कृष्णले २०१७ सालदेखि २०१९ सम्म आफूू सहभागी भएको आन्दोलनको सम्झना किताबमा उतारेका छन्। २००६ सालमा सारतापमा खुलेको विद्यालयमा ‘जिन्दावाद’ र ‘मुर्दावाद’का नाराहरू घन्किन थालेपछि लेखकको बालसुलभ दिमागमा यसको प्रभाव कसरी पर्यो भन्ने कुराले पाठकको सुरुमै ध्यानाकर्षण गर्छ। लेखकद्वारा आफूूमा राजनीतिक चेतना जागृत भएको भनिएको उक्त घटना जो कसैमा जीवनमा पनि मेल खाने किसिमको छ। २००७ सालमा लुटपाट मच्चिएर भागाभाग भएको प्रसंग कोट्ट्याए पनि लेखकले यसलाई प्रस्ट पारेका छैनन्।
दर्जनौं मुक्ति योद्धाका थर, वतन र तस्बिरसमेत समावेश गरिएको यो संस्मरण पठनीय र संग्रहणीय छ।
२०११÷१२ सालतिर पहिलो ब्याचको विद्यार्थीका रूपमा उक्त विद्यालयबाट कक्षा ६ पूरा गरी उच्च अध्ययनका लागि लेखक दार्जिलिङतिर गएकै बेला राजा त्रिभुवन शाही घोषणामार्फत सक्रिय जस्ता देखिन्छन्। अर्कातिर राजाले आफ्नो उत्तराधिकारीप्रति विश्वास नगरेको पनि गाइँगुइँ चलिरहेको हुन्छ। भारतमा त्यसैबेला भएको दोस्रो आम निर्वाचनले लेखकमा राजनीतिक चेतनाको स्तर उक्सिने मौका पायो।
नेपालमा आमनिर्वाचनबाट कांग्रेसले दुई तिहाइ मत ल्याएको र सिंगापुरमा सँगसँगै भएको निर्वाचनमा उसैगरी दुई तिहाइ मत ल्याएर लि कुआन प्रधानमन्त्री भएको घटनाका समानता र असमानताबारे पढ्न र केलाएर हेर्न सक्ने उनी हुँदै गए। प्रजातान्त्रिक विधिबाट निर्वाचित सरकारलाई राजाले विघटन गरी सत्ता हत्याएको घटनाले विश्व समुदाय आश्चर्यमा थियो। उनी लेख्छन्, ‘नेपाली कांग्रेसले पटना सम्मेलनमार्फत जनसंघर्षको आह्वान गरेको पर्चा दार्जिलिङ आइपुगे। जसले मेरो जीवनको धारालाई नै बदलिदियो।’
दार्जिलिङबाट स्वदेश फर्किएपछि भूूविक्रम नेम्बाङसँगको भेटलाई पनि प्रमुख ठानेका छन्। पाँचथरको सिलौटी आसपासका इत्थुङ, नाम्दुङ, सिम्ले, पातले आदि लेकाली गाउँका किसानलाई क्रान्ति बुझाउन दार्जिलिङमा पढेर आएको सुकिलो ठिटोलाई सकस परेको पढ्न पाइन्छ। मिहिन ढंगले सिलौटी क्षेत्रको परिवेश, त्यहाँका मानिसहरूको दैनन्दिनी लेखिएकाले त्यसताकाको पूूर्वी पहाडको अवस्थाबारे सजिलै थाहा पाउन सकिन्छ। किताब पढ्दा, पढ्दै निकालो र मालिंगो घारीमा हराएको र चुथ्रो टिप्दा काँडाले लतारेको आभास हुन्छ। किताब कतै कथा जस्तो, कतै निबन्ध जस्तो त कतै यात्रा वृत्तान्त जस्तो पनि लाग्छ।
सिलौटी त्यसअघि नै यसकारण पनि ऐतिहासिक थियो कि त्यहाँ राणाकालमै महागुरु फाल्गुनन्दले कुटी निर्माण गरेका थिए। उनले ‘दस लिम्बु सत्र थुमका सुब्बाहरूलाई भेलाएर लाब्रेकुटीमा सत्यधर्म मुचुल्कासमेत बनाएकाले यो एतिहासिक क्षेत्र थियो।’
लेखकले बडो महत्वाका साथ उठाएको र किताबको मुख्य केन्द्रबिन्दु भनेकै सिलौटी सभा र त्यसको निर्णय हो। टाउका गन्ती सबैले आफ्नो धारणा राखिएको भनिएको उक्त सभाको मुख्य लक्ष्य राजाको ‘कु’बारे जनता जगाउनु, कांग्रेसले निर्णय गरिनसकेको हतियारसहितको क्रान्तिमा होमिनु थियो। उनी लेख्छन्, ‘तर दार्जिलिङमा भेटिएका नेताहरूले छासछुस कुरा हामीसँग चुहाएका थिए। सिलौटी सभाका निर्णय पछि हामी अग्रसर हुनुपर्ने भयो, सशस्त्र क्रान्तिको निम्ति।’
राजाले संसदीय व्यवस्था हत्याएपछि प्रजातन्त्रको जननी मानिने देश बेलायतकी महारानी एलिजाबेथको भ्रमणलाई अर्थपूूर्ण रुपमा हेर्ने गरिन्छ। यही बेला पाँचथरमा ‘देशी विदेशीका कान थुरिने खाल्को कार्यक्रम गर्न’ दार्जिलिङबाट सन्देश आएको रहेछ। त्यही हौसलाले सिलौटीमा कुनै त्यस्तो कार्यक्रम गरी पूूर्वी पहाडदेखि राजधानीसम्म र विदेशीका कानसम्म हल्ला गर्ने तयारी भएछ।
सिलौटी सभाको निर्णयपछि भएको पहिलो ऐतिहासिक घटनालाई उनी यसरी सम्झिन्छन्, ‘दिउँसो १२ बजेतिर आइपुग्यो प्रहरी जत्था। हतियार देखाएर घेराबन्दी गरिहाल्यौं। उनीहरू सम्हालिनै भ्याएनन्। हतियार फालेर आत्मसमर्पण गरिहाले। हतियार मैले लिएँ। बढो ‘मास्टर पिस प्लान’ थियो। उनीहरूलाई क्रान्तिकाबारे अथ्र्याइयो र छाडियो। चारवटा थ्रीनटथ्री राइफल (एक चार) र गोली कब्जामा लियौं। यो एक्सन एक प्रकारले प्रयोग थियो। हामी सफल भयौं। हाइकमान्डले भने जस्तो दुनियाँले सुन्ने खाल्का धमाका भयो भएन ? तर २०१७ सालको क्रान्तिको श्रीगणेश भने भयो।’
लेखकले यति दाबी गरिरहँदा सिलौटी सभा र यो घटनालाई पछि सिंगो नेपाली कांग्रेस पार्टीले कुन रूपमा हेरेको थियो, नेताहरूले यसलाई कसरी व्याख्या, विश्लेषण गरेका थिए भन्ने कुरासमेत यही किताबमा खुलाएको भए सुनमा सुगन्ध हुने थियो। यसले गर्दा किताब कताकता एकांगी जस्तो पनि लाग्छ।
२०१८ साल जेठ ११ गते संगठन विस्तारका क्रममा रहँदा इम्बुङ बुर्जा गाउँ मास्तिर चौंरी पाखामा चतुर्दशी तिथिमा लाग्ने ‘चतुरे’ हाटमा भाषणको तयारी गदागर्दै उनी उनका साथी धोबीनाथ पक्राउ पर्छन्। उनीहरूलाई राखिएको धनकुटा जेलको कथा पढ्दा त्यसबेलाका बडाहाकिमहरूको जिल्ला कस्तो दबदबा थियो भन्नेबारे पनि थाहा हुन्छ। साथै जेलको दयनीय अवस्था र एउटै हलमा सबैले आआफ्ना चुलामा पकाएर एकै ठाउँ सहजै खाने गरिएको प्रसंगले बाहिर जस्तो जातिपातिको अर्घेल्याइँ जेलमा देखिँदैन।
नेपाली कांग्रेसले संघर्ष स्थगित गरेको र आफूू इन्टर्नमेन्टमा रिहाइ भएको घटनालाई लेखकको लज्जास्पद ठानेका छन्। शिर निहुराउने उक्त घटनाले सरकारले सास फेर्न पाएको उनी तर्क गर्छन्। त्यसपछि महिना दिनको तारिख मिलाएर उनी फर्किन्छन्। गाउँबारे उनले लेखेका छन्, ‘गाउँघर बेग्लै भइसकेछ। कसैको अनुहारमा हाँसो थिएन। आफन्त गुमाएकाहरू भाले सातो हराएको, फुङ्ग उडेको उदासिन अनुहारमा देखिन्थे। आधाउधि गाउँ खाली थियो। निकै घर त्यागिएका थिए।’ यसबाट दूरदराजको गाउँमा आन्दोलन पारेको प्रभावबारे थाहा पाइन्छ।
उता इलाम जिल्लामा भएका घटना र आन्दोलनबारे लेखक चञ्चु प्रवेश मात्रै गर्छन्। उही समयमा इलामको देउरालीमा सात जनालाई आफैं खाल्डो खन्न लगाई गोली हानेर हत्या गरिएको र सोही खाल्डोमा पुरिएको घटना ओझेलमा परेको छ। त्यस्तै दोहोरो भिडन्तमा परी मारिएका नौले सुनुवारका तीन छोरा छोरीको कथामा पनि त्यति ध्यान दिइएको छैन। मानेभन्ज्याङ, जौबारी, गोर्खेका सरकारी अड्डाबाट हातहतियार विद्रोहीले कब्जा गरेको खुलाइएको छ। ताप्लेजुङका केही घटनालाई प्राथमिकता दिइए पनि झापाका संघर्षका कथा नआउनुले आफ्नै क्षेत्रका मुक्ति योद्धाप्रति न्यायोचित स्थान दिइएको देखिदैन।
किताबको भाषा सरल छ। आन्दोलनको संस्मरण लेख्दालेख्दै कतैकतै आत्मकथ्य हाबी हुन खोजे पनि उनी निकै सचेत छन्। आत्मश्लाघा र अतिरञ्जनाबाट भने बचेका छन्। एउटै प्रसंग पटकपटक दोहोरिनाले पाठकलाई सकस हुन्छ। लेखकले सन्दर्भ ग्रन्थमा राखेका पचासौं किताबबाट सम्बन्धित प्रसंग उक्किनासाथ आफ्नो लेखनीमा सिलसिला नमिलाई थोपरेका छन्। सम्पादकले पादटिप्पणीमा राखेर मिलाइदिएको भए कति गज्जब हुन्थ्यो होला ?
दर्जनौं मुक्ति योद्धाका थर, वतन र तस्बिरसमेत समावेश गरिएकाले दोस्रो संस्करण निकै गहकिलो भएको छ। एउटा मुक्ति योद्धाको संस्मरण पठनीय र संग्रहणीय बन्न पुगेको छ।