ताप्लेजुङमै पाइन्छ ‘रेन्बो ट्राउट’
ताप्लेजुङ : मनोज भट्टराई र नविन डाँगीले सात वर्षअघि ‘रेन्बो ट्राउट’ माछाबारे सुनेका हुन्। ट्राउट माछापालन गर्ने योजना बनाइ उनीहरू धेरै जिल्लामा गएर यससम्बन्धी अध्ययन गरे। तर, लगानी गर्ने पैसाको अभावले योजना सफल हुन पाएन।
गाउँमा साथीसँग सल्लाह गरी संयुक्त लगानीमा व्यवसाय गर्ने निधो गरे। मनोज र नविनसहित फुङलिङ नगरपालिका–११ का सात जना युवाले २६ लाख रुपैयाँ लगानीमा ट्राउट माछापालन सुरु गरे। राधिका भट्टराई, मनिषा भट्टराई, देवेन्द्र भट्टराई, कविता कँडेल र डम्बर विष्टको संयुक्त लगानी छ। जसमा ६ लाख नगरपालिकाको अनुदान छ।
‘लगानी जुटेपछि २०७५ को सुरुमै फार्मको संरचना निर्माण थाल्यौं’, मनोजले भने, ‘चैतमा पोखरीमा भुरा लगायौं र गत मंसिरबाट बिक्री सुरु गरेका छौं।’ हालसम्म २ क्विन्टल बजारमा गइसकेको छ। करिब ६ क्विन्टल बिक्रीका लागि योग्य भएको मनोजले सुनाए।
माछाका भुरा नुवाकोटबाट खरिद गरेर ल्याएको नविन बताउँछन्। ‘पहिलोपटक ३३ हजार भुरा किनेर ल्यायौं, यहाँ आइपुग्दा २८ हजार मरे’, नविनले भने, ‘पोखरीबाट झिकेको ८ घण्टाभित्र फेरि लगाइसक्नुपर्ने थियो, हामीले त्यो समयमा लगाउन सकेनौं, त्यहीँ भएर ठूलो घाटा व्यहोर्नुपर्यो।’ सुरुमै केही निराश बनाए पनि बाँचेका ५ हजार भुरा राम्ररी सप्रिएकाले हौसला मिलेको उनको भनाइ छ।
सुरुवात भएकाले बिक्री गर्न केही समस्या रहेको डम्बरले बताए। जिल्लामा नयाँ प्रजातिको माछा भएकाले यसबारे धेरैलाई थाहा नभएको उनको भनाइ छ। अरु माछाको तुलनामा ट्राउट निकै महँगो छ। अहिले १ हजार ६ सय रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ। ‘यो माछाबारे धेरैलाई थाहा छैन, अब यसको विशेषता र फाइदाबारे व्यापक प्रचार गर्छौं’, डम्बरले भने, ‘अनि बजार सहज होला।’ ताप्लेजुङसहित पूर्वी पहाडका पाँचथर, इलाम र तेह्रथुमसम्म माछा र भुराको बजार विस्तार गर्ने सोच रहेको उनले सुनाए।
माछालाई चारो काठमाडौंबाटै ल्याउनुपर्ने अवस्था थियो। अब चारो र भुरा आफैं उत्पादन सुरु गरेका छन्। अण्डा ल्याएर भुरा उत्पादन थालेको र केही दिनमै चारो बनाउन सुरु गर्ने योजना उनीहरूको छ। ढुवानी खर्च धेरै लाग्दा मूल्यसमेत केही महँगो भएको र अब घटाउने मनोज बताउँछन्। ट्राउट माछा २५ डिग्री सेन्टिग्रेडसम्म पानीको तापक्रममा बाँच्न सक्छ ।
माछा छिटो बढ्न १६ देखि १८ डिग्री सेन्टिग्रेड तापक्रम चाहिन्छ । भुरा निस्कन ९ देखि १४ डिग्री तापक्रम चाहिन्छ । ‘यहाँको हावापानी अनुकूल रहेछ, थप आधा दर्जन पोखरी बनाउन जमिन छ, पानी प्रशस्त छ’, उनले भने, ‘चिन्ता भनेकै बजारको हो।’
ट्राउट माछा मुटुका लागि अत्यन्तै लाभदायक मानिन्छ। अरु माछामा जस्तो काँडा नहुने भएकाले सबै उमेरका मानिसका लागि खान उपयुक्त हुने डम्बर बताउँछन्। फावाखोलालाई ट्राउट माछा अवलोकन केन्द्र बनाउने योजना छ। सरकारले ‘गाउँमै केही गर्न सकिन्छ’ भनेर व्यवसाय सुरु गरेका युवालाई सरकारले प्रोत्साहन गर्नुपर्ने उनीहरू बताउँछन्।