पाथीभरामा गुरुङहरूको भेला
ताप्लेजुङ : पाथीभराको काखमा रहेको फुङलिङमा शनिबार देशभरका गुरुङहरूको १२ औं पार्षद भेला सुरु भएको छ। दुई दिन चल्ने भेलामा ६५ जिल्लाका चार सयजना बढी सहभागी छन्।
शनिबार बिहान फुङलिङ बजारमा र्याली निकालिएको थियो। सामुदायिक भवनमा औपचारिक कार्यक्रम भइरहेको छ। शनिबारै सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेसँगै जिल्ला, प्रदेश तथा केन्द्रको रिर्पोटिङ हुने तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय अध्यक्ष रेशम गुरुङले बताए।
आइतबार विभिन्न क्षेत्रका विज्ञले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ। प्रा. डा. योगेन्द्र गुरुङले आगामी राष्ट्रिय जनगणना २०७८ विषयमा कार्यपत्र प्रस्तुत गर्ने छोज धिंका जिल्ला सचिव देवराज गुरुङले बताए।
‘त्यस्तै पहिचान शीर्षकमा प्रा.डा.ओम गुरुङले आदिवासी जनजातिको राष्ट्रिय, अन्तर्राष्ट्रिय आन्दोलन र नेपालको सन्दर्भमा जातीय पहिचानको मुद्धाका विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ,’ गुरुङले भने, ‘भाषाविद मेघराज गुरुङले भारतको सिक्किम राज्यमा भएको बहुभाषिक नीति र आदबासी जनजाति महासंघ अध्यक्ष जगत बरामले मुलप्रवाहीकरणको विषयमा चर्चा गर्नेछन्।’
फुङलिङ घोषणा पत्र जारी गर्दै आइतबारै भेला सम्पन्न हुनेछ। त्यसपछि सहभागिलाई पाथीभराको दर्शनसमेत गराउने कार्यक्रम छ। गुरुङहरूको भेलाले जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने जिसस प्रमुख घनेन्द्र मादेनले विश्वास व्यक्त गरे।