पालिकास्तरीय खेलकुद : रघुगंगा र मंगला मावि बने च्याम्पीयन
बेनी : पिप्लेको रघुगंगा र बाबियाचौरको मंगला मावि पालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड तथा अन्तर मावि स्तरीय छात्र÷छात्रा खेलकुद प्रतियोगिताको च्याम्पीयन भएका छन् ।
रघुगंगा गाउँपालिकाले पिप्लेमा आयोजना गरेको प्रतियोगितामा ९ स्वर्ण, २ रजत र २ कास्य पदकसहित रघुगंगा माविले लगातार दोस्रो पटक रनिङ्ग शिल्डको उपाधि जितेको हो ।
८ स्वर्ण, ६ रतज र ४ कास्य पदक जितेको मुक्तिधाम मावि दोस्रो तथा ३ स्वर्ण, ६ रजत र २ कास्य पदक जितेको ज्ञानोदय मावि तेस्रो भएका छन् ।
यसैगरी मंगला गाउँपालिकाको आयोजनामा शनिबार बाबियाचौरमा सम्पन्न भएको प्रतियोगितामा मंगला माविले ११ स्वर्ण, १० रजत, १ कास्य पदक जित्दै दोस्रो पटक च्याम्पीयन भएको हो ।
६ स्वर्ण, ३ रजत र ४ कास्य पदक जितेको त्रिभुवन मंगला मावि र्यालेखोर उपबिजेता भएको छ । ५ स्वर्ण, ४ रजत र ८ कास्य पदक जितेको महेन्द्ररत्न मावि बरंजा तृतीय भएको प्रतियोगिताको कार्यसम्पादन उपसमितिका संयोजक सिजन रोकाले जानकारी दिए ।
दुवै प्रतियोगिताको बिजेतालाई रनिङ्ग शिल्ड, ट्रफि, मेडल सहित नगद पचास हजार रुपैया पुरस्कार प्रदान गरिएको छ । दोस्रो र तेस्रोलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित तीस हजार र बीस हजार रुपैयाँ नगद समेत प्रदान गरिएको छ ।
प्रतियोगिताबाट छनौट भएका उत्कृष्ट खेलाडीलाई फागुन ७ र ८ गते बेनीमा हुने जिल्ला स्तरीय प्रतियोगितामा सहभागि गराइने छ । तीन दिनसम्म सञ्चालित प्रतियोगितामा भलिबल, कवड्डी र एथलेटिक्स बिधाका खेलमा प्रतिस्पर्धा गराइएको थियो ।