व्यक्तिले हडपेको जग्गामा सरकारी बोर्ड (भिडियाे)
काठमाडौं : सरकारले अतिक्रिमित जग्गा फिर्ता गराउन थालेको छ । काठमाडौंको तीन प्रमुख स्थानमा व्यक्तिले हडपेको १५ रोपनी ६ आना २ दाम जग्गामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मादेवी अर्यालले सरकारी बोर्ड गाडेकी छन् ।
काठमाडौं महानगरपालिका ३१ को वागमती किनाराको १० रोपनी ८ आना, महानगरपालिकाको १० वडा कार्यालयसँगै जोडिएको ४ रोपनी र वडा न.३२ अनामनगरको १४ आना २ दाम जग्गामा मन्त्री अर्यालले बोर्ड गाडेकी हुन् ।
आइतबार दिउँसो तीनै स्थानमा पुगेर उनले जग्गामा बोर्ड गाडेकी हुन् । बोर्ड गाड्दै उनले देशभर २६४ विघा अतिक्रमित जग्गा फिर्ता गरिसकेको जानकारी गराइन्।
अतिक्रमित जग्गा फर्ता गर्ने अभियान तीब्रताका साथ अघि बढाउने उनले बताइन् ।'यो थालनी मात्र हो, देशभरको अतिक्रमित जग्गा फिर्ता गर्छौं, 'उनले भनिन्, 'अहिलेसम्म २६४ विघा फिर्ता गरिसकेका छौं।'
वागमती किरानाको अतिक्रमित जग्गामा घर बनाएर भाडा लगाइएको, जुत्ता कारखाना र रेस्टुरेन्ट संचालनमा छन्। वडा नम्बर १० र अनामनगरको जग्गा भने पार्किङका रुपमा प्रयोगमा छ।
बोर्ड गड्न मन्त्री गएकै समयमा आफ्नो जग्गामा सरकारी बोर्ड टाँगेको भन्दै केही व्यक्तिले विरोध जनाएका थिए। उनीहरुले मन्त्रीले गाडेको बोर्डसमेत ढाल्न खोज्दा प्रहरीले रोकेको थियो । उनीहरुले त्यो जग्गा आफ्नो भएको दाबी गरेका छन्।