पशुपतिमा दुई करोडको फूल : भारत, अस्ट्रेलिया, कोरिया र थाइल्याण्डबाट ल्याइने
काठमाडौं : शिवरात्रीका अवसरमा दुई भक्तजनले पशुपतिनाथ मन्दिर र आसपासमा फूलले सजाउने भएका छन् ।
भारतबाट आएका ग्लेजटेड्रिङ इन्डिया प्रालिका निर्देशक सञ्जीव छिब्बर र चेतन हन्डाका निर्देशक केके शर्माले यस्तो काम गर्न लागेका हुन् । पशुपति क्षेत्रमा यति भव्य ढंगले फूलले सजाउन लागिएको यो पहिलो हो । मन्दिरका मूलभट्ट गणेश भट्टलाई भेट्न आएका उनीहरुले प्रस्ताव राखेपछि कोषले स्वीकृति दिएको हो ।
उनीहरुले सातवटा फूलका गेट र अन्य विभिन्न आकार प्रयोग गरी पाशुपत क्षेत्रलाई झकिझकाउ बनाउने भएका हुन् । यो सजावटले भिजिट नेपाल २०२० लाई पनि सहयोग पुग्ने विश्वास पशुपति क्षेत्र विकास कोषको छ । यसपटक शिवरात्री ९ गते छ ।
कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार करिब झन्डै दुई करोड रुपैयाँको फूलले पाशुपत क्षेत्र झिलिमिली बनाउन लागिएको हो । मन्दिरका मूलभट्ट गणेश भट्टले भने, ‘यो केवल पशुपतिनाथप्रतिको आस्था र निष्ठाका लागि भक्तजनले गरेको प्रयास हो ।’
थापाका अनुसार, छिब्बर र शर्माले अस्ट्रेलिया, कोरिया, थाइल्याण्ड र भारतबाट फूल ल्याउने जानकारी दिएका छन् । अर्किड, जरबरा, कन्वारी, सयपत्री, गुलाब, गोदावरी, लिली, क्यामेसन, एसिया टिक, देल्ही, जेप्सी र अलिको निया आदि नाम गरेका फूलले सजाइने भएको उनको भनाइ छ ।
यसका लागि भारतबाट दुई सय जनशक्ति आइतबार काठमाडौं आइपुग्दैछ । उनीहरुले सोमबारदेखि बिहीबारसम्म विभिन्न फूल विभिन्न आकारमा सजाउनेछन् । सजाइएका फूल तीन दिनसम्म रहनेछन् ।
शोभा यात्रा मंगलबार
शिवरात्रीको अवसरमा कोषले मंगलबार बिहान शोभा यात्रा गर्ने भएको छ । पशुपतिनाथ मन्दिरको पश्चिम गेटमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले यात्राको शुभारम्भ गर्नेछन् ।
यात्रा वनकाली, तिलगंगा, तीनकुने, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला हुँदै हंसमण्डपमा पुगेर टुंगिने छ । शोभा यात्रामा साधुसन्त, महन्त, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ब्याण्ड टोली, कोषका पदाधिकारी र कर्मचारी, नेपाल वेद विद्याश्रमका शिक्षक र विद्यार्थी, महाशिवरात्री मूल समारोह समिति र उपसमितिका सदस्य लगायत दर्जनभन्दा बढी संघसंस्थाबाट प्रतिनिधित्व हुनेछ ।