धितो राखेको जग्गा कब्जा

धितो राखेको जग्गा कब्जा

सिरहा : पीडित - एक धनगढीमाई नगरपालिका–५ की बुल्नदीदेवी कामैतले नातिनीको बिहे टुंग्याइन्। उनीसँग विवाहका लागि खर्च गर्ने रकम अभाव थियो। गाउँमा ऋण, सापटी माग्दा पाइनन्। छिमेकीको सल्लाहमा उनी जग्गा धितो राखेर जिरोमाइल बजारमा रहेको राजमनी इन्भेष्टमेन्ट प्रालिमा ऋण लिन पुगिन्।

त्यहाँ उनले ऋण माग्दा सञ्चालकहरू जग्गा धितो राखी पैसा दिनमा सहमत भए। नागरिकता, लालपुर्जाको प्रतिलिपि बोकेर सञ्चालकहरूसँगै उनी मालपोत कार्यालय गइन्। तर कम्पनीका सञ्चालकहरूले उनको जग्गा धितो राख्न रोक्का गरेनन्। सिँधै व्यक्तिको नाममा जालझेल गरी नामसारी गराए।

उनको किता नम्बर ६१९ को तीन कट्ठा ३ धुर सरस्वतीदेवी कोइरीन र किता नम्बर ७४४ को ५ कट्ठा भुवनेश्वर चौधरीको नाममा नामसरी गरिएको पीडितले बताए। नामसारी गरेकै दिन फेरि भुवनेश्वर चौधरीले सत्यनारायण साहको नाममा जग्गा सारे। इन्भेष्टमेन्टको कार्यालयमा आएर बुलन्दीलाई दुई लाख ५० हजार रुपैयाँ ऋण दिइयो।

त्यहाँ पनि सञ्चालकहरूले उनीसँग फेरी ९ लाख रुपैयाँको कपाली तमसुक बनाए। एक वर्षमा उनले किस्ता–किस्ता गरी कम्पनीमा ऋण चुक्ता गरे। जग्गा फिर्ता माग्दा सञ्चालकहरू आलटाल गर्न थाले। खोज्दै जाँदा त जग्गा कम्पनीको नाममा रोक्का होइन, व्यक्तिको नाममा नामसारी नै गराइसकेको भेटिएको बुलन्दीका छोरा कपिलदेव कामतीले बताए।

पीडित : दुई

तीन वर्षअघि सुनिनिया कुमारी सिंहका पति जगदिस सिंह बिरामी परे। उपचारमा लाखौँ रुपैयाँ खर्च भयो। तै पनि उनलाई बचाउन सकिएन। काजकिरया गर्न सुनिनियाँले गाउँमा पैसा खोजिन्। उनलाई कसैले ऋण दिन मानेनन्। उनी पनि छिमेकीको कुरा सुनेर राजमनी इन्भेष्टमेन्ट प्रालि पुगिन्। त्यहाँ उनले जग्गा धितो राख्ने सर्तमा २०७४ फागुन १९ गते डेढ लाख रुपैयाँ पाइन्।

जग्गा धितो राख्न जाँदा सञ्चालकहरूले उनको जग्गा पनि व्यक्तिको नाममा नै नामसारी गराए। किता नम्बर ४८१ को २ कट्ठा १४ धुर र किता नम्बर ११०१ को ७ कट्ठा जग्गा कैलीवती चौधरीको नाममा नामसारी गरियो। पछि कैलीवतीबाट २ कट्ठा जग्गा सरस्वती कोइरीनको नाममा सारिएको उनी सुनाउँछिन्।

डेढ लाख ऋण उनले ब्याजसहित तिरेर फेरि उनले २ लाख लिइन्। त्यो पनि तिरिन्। गत असारमा सबै रकम तिरेर जग्गा फिर्ता माग्न जाँदा सञ्चालकहरूले आलटाल गर्न थाले। आफ्नो जग्गा खोज्न उनी मालपोत कार्यालय गइन्। त्यहाँ अर्कैको नाममा बेचिएको जानकारी पाएपछि अचम्ममा परिन्। लगत्तै उनले कैलीवतीलाई सम्पर्क गरिन्। उनले पैसा दिए जग्गा फिर्ता गर्न बताइन्। सुनिनियाँले ३ लाख ३० हजार तिरेपछि ७ कट्ठा जग्गा फिर्ता पाइन्। सरसस्वतीको नाममा रहेको २ कट्ठा १४ धुर जग्गा भने फिर्ता पाउन सकिनन्।

पीडित : तीन

धनगढीमाई नगरपालिका–१३ का श्यामु साहुले पनि सोही इन्भेष्टमेन्टबाट २०७४ जेठ २५ गते ४ लाख ऋण लिए। उनको पनि किता नम्बर ८४३ को ९ धुर र किता नम्बर ८४५ को सवा २ धुर जग्गा सञ्चालकहरूले सरस्वतीदेवी कोइरीनको नाममा नामसारी गरे। ऋणको सावाँ–ब्याजसहित रकम चुक्ता गरी जग्गा फिर्ता माग्न जाँदा कम्पनी नै बन्द गरी सञ्चालकहरू फरार भएको पीडित साहुले बताए।

पीडितः चार

उनीहरू जस्तै, धनगढीमाई नगरपालिका–५ का विमलकुमारी सिंहले पनि २ लाख ५० हजार ऋण लिँदा ५ कट्ठा जग्गा नामसारी गरे। उनको जग्गा सत्यनारायण साहको नाममा छ। सरस्वतीदेवी कामैतले डेढ लाख ऋण लिँदा सञ्चालकहरूले ३ कट्ठा १० धुर जग्गा सियाराम साहको नाममा नामसारी गराएका छन्।

सोही नगरपालिकाका पचकरिया कामैत, जगदीस यादव, ब्रहमदेव यादवलगायत ६२ जनाले उक्त इन्भेष्टमेन्टबाट ऋण लिएको पीडितहरू सुनाउँछन्। सबैको जग्गा कम्पनीको नाममा नभइ फरक–फरक व्यक्तिको नाममा सञ्चालकहरूले नामसारी गराएको पीडितहरूको आरोप छ। सुरुमा सञ्चालकहरूले ऋणीलाई अहिले कम्पनी दर्ता नभएकोले आफूहरूले व्यक्तिको नाममा जग्गा राखेको र पछि दर्ता हुँदा कम्पनीमा जग्गा धितोको रूपमा राख्ने आश्वासन दिएका थिए।

अहिले कार्यालय राखेको घरबाट कम्पनीको बोर्ड पनि हटाइएको छ। केही सञ्चालकहरू पनि फरार छन्। अफिसको भाडा नतिरेको भन्दै घरबेटीले समान जफत गरेका छन्। ठगीमा परेकाहरू न्याय माग्न अड्डा–अदालत धाइरहेका छन्।

‘जिल्ला प्रशासन कार्यालय र प्रहरीमा जाँदा न्यायिक समितिका पठाइयो। यहाँ पत्र काटेर बेचन सिंह र रामएकवाललाई बोलाउँदा उनीहरू आउँदैनन्,’ पीडित श्यामु साहुले भने, ‘हामीलाई न खाएको विष लाग्यो। ऋण लिएँ। चुक्ता गरेँ। तर हाम्रो मजबुरीको फाइदा उठाउँदै जग्गा कब्जा भयो।’

सञ्चालकहरू भुवनेश्वर चौधरी र सत्यनारायण साह सम्पर्कविहीन भएको उनले सुनाए। यसरी फर्जी इन्भेष्टमेन्ट कम्पनी खडा गरी ऋणीको जग्गा व्यक्तिको नाममा नामसारी गराए पनि भोगचलन भने जग्गावाल आफैंले गर्दै आएका छन्। तर अर्काको नाममा भइसकेको जग्गा कतिबेला गुम्ने हो भन्ने पिरलो पीडितहरूलाई छ।

वडा नम्बर ४ का बेचन सिंह र रामएकवाल सिंह गाउँमै बस्छन्। बेचन र रामएकवालले आफूहरू कम्पनीमार्फत नभएर सिँधै पैसा तिरेर जग्गा लिएको दाबी गर्छन्। दाजुभाई सिंहद्वयले बुलन्दी, सुनिनिया र श्यामुको जग्गा आफ्नी आमा सरस्वतीको नाममा नामसारी गराएका छन्।

९ लाख रुपैयाँको कपालीको बेचन सिंहले अदालतमा लेनदेनको मुद्दा चलाएका छन्। ‘मुद्दा जोडेर तारिक लिइरहेका छौं। थोरै ऋणमा नाममा कम्पनीका सञ्चालकहरूले लाखौंको जग्गा हत्याए,’ पीडित कपिलदेवले भने। ‘ऋण लिएको र चुक्ता गरेको कागजात लिएर प्रहरी प्रशासन धायौं, तर ठगी गर्नेहरूमाथि कुनै कारबाही भएको छैन्,’ विमलकुमारी सिंहले भनिन्, ‘न्यायिक समितिमा उजुरी गरेका छौं। त्यहाँ सञ्चालकहरूमध्ये बेचन र रामएकवालले उपस्थित हुन मानेका छैनन्।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.