कालापानी अवलोकन गरी फर्कियो रक्षामन्त्रीको टोली
दार्चुला : कालापानी अवलोकन गरेर नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको टोली फर्किएको छ । सोमबार बिहान साढे ८ बजे नेपाली सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टरबाट कालापानी क्षेत्रका लागि उडेको टोली बिहान ९ बजे फर्केको हो।
उप-प्रधान एवं रक्षामन्त्री पोखरेलसहितको टोलीमा दार्चुला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशका उप-सभामुख निर्मला बडाल जोशी, प्रदेशसभा सदस्य गेल्वुसिंह बोहरा र मानबहादुर धामीलगायत सुरक्षा अधिकारी थिए।
कालापानी क्षेत्रमा अत्याधिक हिमपातका कारण अवतरण हुन नसपछि हेलिकोप्टरबाटै ब्यास गाउँपालिका- १ छाङरु, तिंकरलगायत कालापानी क्षेत्रको अवलोकन गरेको प्रमुख जिल्ला अधिकारी यद्धुनाथ पौड्यालले बताए।
दार्चुलाको व्यास गाउँपालिका १ क्षेत्रमा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र रहेको छ । नेपालको व्यास गाउँपालिकाको छांगरु र तिंकरमा हिमपातका कारण ६ महिना मात्रै मानिसको बसोबास हुने गरेको छ।
जिल्लाको व्यास गाउँपालिका १ मा कालापानी, लिपुलेक र लिम्पीयाधुरा पर्छन् । उक्त क्षेत्रमा ६ महिनामात्रै मानव बस्ती बस्छ भने बाँकी ६ महिना जिल्ला सदरमुकाम खलंगामै बसोबास हुने गर्छ।