पढ्ने संस्कार बसालौं
मेरो जन्म नयराज पन्त र बुधकुमारीको सातौं सन्तानका रूपमा २००१ साल भदौ ४ गते काठमाडौंमा भएको हो। मेरो शिक्षादीक्षा तत्कालीन समयका लाखौंलाख नेपालीको भन्दा भिन्न किसिमले भयो।
बुवा नयराज पन्तले बनारसमा पढ्दापढ्दै तत्कालीन शिक्षा पद्धति परीक्षा केन्द्रित मात्र भएको, त्यसबाट समग्र पाठ्यग्रन्थ अध्ययन हुन नसक्ने र यसले विद्वान् जन्माउन नसक्ने निष्कर्ष निकाल्नु भएछ। उहाँले १९९७ सालमा आफ्नै घरमा प्राचीन ढंगले ग्रन्थ पढाउन सुरु गर्नुभएछ।
बुवाले सुरु गर्नुभएको विद्यालयमा हामी सानैदेखि संस्कृतका शब्दावली र वाक्य पढ्न थाल्यौं। त्यस्तै गद्य र पद्य पढ्ने अनि लेख्ने गर्न थाल्यौं। ११ वर्षको हुँदा म संस्कृत र नेपालीमा आफ्नो भाव लेख्न सक्ने भइसकेको थिएँ। गौतमवज्र वज्राचार्य मेरा सहपाठी थिए भने भाइ दिनेशराज पन्त यस विद्यालयको अन्तिम विद्यार्थी। विद्यालयमा अष्टमी र प्रतिपदा तिथिमा बिदा हुन्थ्यो। काठमाडौं बाहिरका विद्यार्थीले भने एक महिना घरबिदा पाउँथे। हामी चालीस जनाजति विद्यार्थी हुन्थ्यौं।
विद्यालयमा संस्कृत भाषाको आठ वर्षको कोर्स बनाइएको थियो। कतिपय पाठ्यसामग्री भारतबाट ल्याइएका थिए भने कतिपय यतै तयार पारिएका थिए। अष्टाध्यायी, अमरकोष, रघुवंश र भट्टिकाव्य हामीले सुरुमै कण्ठ पारेका थियौं। आठ वर्षको कोर्स पढेपछि संस्कृत भाषामा पूरै दक्खल राख्न सक्ने भइन्थ्यो। संस्कृतका जुनसुकै विषयका ग्रन्थ बुझ्न र व्याख्या गर्न सक्थ्यौं। यसरी भाषामा दक्खल बढ्दै गयो। पछि धेरैजना इतिहास विषयमा लाग्यौं।
हामी नेपालका ऐतिहासिक दस्तावेज, अभिलेख केलाउन सक्ने भयौं। अहिले विश्वविद्यालयबाट इतिहासमै स्नातकोत्तर गरेकाहरू पनि प्राचीन अभिलेख पढ्नसम्म सक्दैनन्। पढ्ने मान्छे पनि मेहनती नभएपछि इतिहासको क्षेत्रमा काम गर्न सक्ने मान्छे विश्वविद्यालयले जन्माउन सकेको छैन। जस्तै,— मानदेवका बारेमा प्राथमिक तहमा जे पढाइन्छ, इतिहासमा स्नातकोत्तरलाई पनि त्यति मात्रै थाहा हुन्छ। यसरी हाम्रो पाठशाला २६÷२७ सालसम्म पनि चलिरह्यो।
हाम्रो विद्यालयमा शुल्क तिर्न पर्दैनथ्यो। अखबार पढ्न अनिवार्य गरिएकाले त्यसबापत एउटा विद्यार्थीबाट चार÷पाँच रुपैयाँ उठाउने चलन थियो। विद्यार्थी बढ्दै गएपछि धनवज्र वज्राचार्यको घरमा विद्यालय सारियो। त्यहाँ अघिल्लो कक्षाका विद्यार्थीले पछिल्लो कक्षाका विद्यार्थीलाई पढाउने चलन थियो। धनवज्र वज्राचार्य, भोलानाथ पौडेल, केशवमणि आ.दी. हामीलाई पढाउनुहुन्थ्यो। देवीप्रसाद भण्डारी छापाजस्तै अक्षर लेख्न सिकाउनुहुन्थ्यो भने शंकरमान राजवंशीले गणित पढाउनुहुन्थ्यो।
बुवाले विद्यालयको नाम राख्नुभएन। पछि यसलाई ‘संशोधन मण्डल पाठशाला’को नाम दिइयो। संशोधन मण्डल भने २०१८ सालमा खडा भएको हो। संशोधन मण्डलको नाम कसरी आयो भन्नेमा धेरैको जिज्ञासा छ। कतिपयले यसलाई इतिहास शुद्धाशुद्धिको अर्थमा मात्रै हेरे। अनुसन्धानलाई बंगालीमा गवेषणा भन्छन्, महाराष्ट्र, गुजराततिर संशोधन भन्छन् भने उत्तर भारतमा अनुसन्धान नै भन्छन्। बुवामा पनि यस्तै प्रभाव परेको हुनसक्छ। यसबारेमा मैले कहिल्यै पनि उहासँग जिज्ञासा नराखेकाले पछुतो लागिरहन्छ। बुवा बनारसमा ज्योतिष पढेर आउनुभएको थियो। उहाँले ‘ज्योतिष प्रयोगात्मक विषय भएकाले मैले यसमा खासै प्रगति गर्न सकिनँ, त्यसपछि इतिहास विषयतिर लागेँ’ भनेर लेख्नुभएको छ। हामी पनि त्यही प्रभावले इतिहास विषयतिर लाग्यौं।
संशोधन मण्डलको प्रकाशन भने २००९ सालमै सुरु भएको हो। पहिले पहिले नेपालको इतिहास अध्ययन र लेखन विदेशीको भरमा थियो। अंग्रेजीमा लेखिएका त्यस्ता किताबमा राजाहरूको वंशावली नै गल्ती भएको रहेछ। काठमाडौंका राजा रत्न मल्लका छोरा सूूर्य मल्ल, सूूर्य मल्लका छोरा अमर मल्ल हुनुपर्नेमा रत्न मल्लका छोरा अमर मल्ल र अमर मल्लका छोरा सूूर्य मल्ल भएको रहेछ। बुवाले तत्कालीन अभिलेखहरू अध्ययन गरी पत्ता लगाउनुभएको थियो। यो संशोधन मण्डलको सुरुआती काम थियो।
त्यस्तै ‘नेपाल भनेको काठमाडौं खाल्डो मात्रै हो’ भन्ने कुराको खण्डन संशोधन मण्डलबाट आयो। प्राचीन कालमै भारतका गुप्त सम्राट् समुद्र गुप्तको अभिलेखबाट ‘नेपाल पूर्वमा आसामदेखि पश्चिममा कुमाउसम्म फैलिएको’ बुझिन्छ। त्यस्तै सातौं शताब्दीमा नेपाल आएका चिनियाँ यात्री ह्वेनसाङको अभिलेखमा ‘नेपालको क्षेत्रफल चार हजार ली’ भनिएको छ, हिसाब गर्दा झन्डै अहिलेको जति हुन आउँछ।
म १० वर्ष ६ महिनाको हुँदा मेरो र महेश्वरराज सुवेदीको नाममा ‘पाटनका राजा लोकप्रकाश मल्लका बाबु योगनरेन्द्र मल्ल होइनन्, त्यस्तै लोकप्रकाशकी रानी योगमती होइनन्, योगनरेन्द्र त लोकप्रकाशका आमाका बाबु हुन्, योगमतीचाहिँ योगनरेन्द्रकी छोरी र लोकप्रकाशकी आमा हुन्’ भन्ने पर्चा छापिएको थियो। यसरी संशोधन चल्दै जाँदा नेपालको इतिहाससम्बन्धी पढाइ असत्य रहेको प्रमाणित हुँदै गयो। संशोधन मण्डलले काम गर्दै गयो, तर त्यहाँ काम गरेर आम्दानी नहुने भएपछि धेरै जना आआफ्ना काममा लागे। २८ सालसम्म आइपुग्दा बुवा, म, भाइ, रामजी तिवारी र देवीप्रसाद भण्डारी गरी पाँच जना बाँकी थियौं। २०२१ सालदेखि छापिएको पूर्णिमा पत्रिका २७ सालमा २४ अंक पुगेको थियो। अहिले भने १४४ अंक पुगेको छ। अब संशोधन मण्डलमा भाइ र म मात्र छौं।
मैले २०३२ सालमा प्राचीन हस्तलिखित ग्रन्थको माइक्रोफिल्म गर्न आएको जर्मन अनुसन्धान परिषद्को प्रोजेक्टमा काम पाएँ। यहीँबाट जर्मनी जाने मौका मिल्यो। मैले उतै बसेर संस्कृतको कोष विज्ञानमा पीएचडी गरेँ। फ्रान्समा तीन वर्षसमेत गरी जम्माजम्मी २३ वर्ष नेपाल र युरोपमा मेरो ओहोरदोहोर भइरह्यो। मैले त्यहाँ संस्कृत वाङ्मय र दक्षिण एसियाको इतिहासमा अनुसन्धान गर्ने र ती ती विषय पढाउने काम गरेँ।
२०६० सालमा नेपाल फर्किएपछि पनि म अध्ययन अनुसन्धानमै छु। मेरो घरका तीन तलामा १५ हजार जति किताब छन्। काठमाडौंमा एउटा मात्रै व्यवस्थित पुस्तकालय भएको भए यसरी अन्धाधुन्ध किताब संकलन गर्नुपर्ने थिएन। हालसम्म पुस्तकाकारमा मेरा १३ वटा कृति प्रकाशित भए।
नेपालको अधोगतिको मुख्य कारण मैले राजनीतिलाई लिएको छु। हाम्रो यहाँ विद्यार्थीले विद्यालय तहदेखि नै राजनीतिमा लागेर पढाइ बरबाद पारेका छन्। विदेशतिर समाचार नपढेसम्म राजनीतिका बारेमा थाहै हुँदैन। नेपालमा सडकमा निस्कँदा सबै कुरा थाहा भइहाल्छ। नेपालमा पढाइलाई संस्कारको रूपमा लिने चलन छैन। यसलाई परीक्षासँग मात्रै जोडेर हेर्ने गरिन्छ। यस कारण भाइबहिनीलाई म के भन्छु भने पढ्ने मान्छेले आजीवन पढिरहनु पर्छ र आफूूलाई निखारिरहनु पर्छ।
(इतिहासविद् पन्तसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित।)