भ्रमण वर्षलाई गिज्याउँदै दोलखा प्रवेशद्वार
चरिकोट : सिन्धुपाल्चोकको मुडेसँग सीमा जोडिएको भीमेश्वर नगरपालिका ९, खरिढुंगास्थित दोलखा प्रवेशद्वार निर्माण सुरु भएको दुई वर्षसम्म पनि लथालिंग अवस्थामा छ । प्रवेशद्वारको निर्माण कार्य करिब ९० प्रतिशत सकिए पनि लथालिंग अवस्थामा रहेका कारण जिल्ला भित्रिने पर्यटकलाई प्रवेशद्वारले 'गिज्जाइरहेको' छ ।
दोलखा आउने पर्यटकलाई जिल्लाको सीमा सुरु भएछ भनेर चिनाउने यो प्रवेशद्वारको अवस्थाले गिज्जाइरहेको छ। यहि प्रवेशद्वारहुँदै जनप्रतिनिधि, नेता, मन्त्री र कर्मचारी ओहोरदोहोर गर्छन् । तर उनीहरुले प्रवेशद्धारको स्तरोन्नतिमा आँखा पुर्याएका छैनन् ।
नेपाल भ्रमण वर्ष २०२० को चहलपहल दोलखामा बाक्लै छ । प्रवद्र्धनात्मक कार्यमा चाँसो नदिँदा दोलखा प्रवेशद्धारले भ्रमण वर्षलाई गिज्जाइरहेको छ । यस्ता सानातिना कुरामा ध्यान नदिँदा समग्र जिल्लाकै पहिचानमा असर पर्ने गरेको छ ।
प्रवेशद्वारले मात्र हैन, मुडे-चरिकोट सडकले पनि गिज्जाइरहेको छ । सडक निर्माणमा राजनीतिक दलका नेताले कुनै पनि ठोस पहल गरेको नपाइएको जिल्लाका नागरिक अगुवाहरुको आरोप छ ।
भीमेश्वर नगरपालिकाले सो प्रवेशद्वार निर्माणको लागि २०७५ असार १८ जेएस कन्स्ट्रक्सनसँग मूल्य अभिवृद्धि कर बाहेक २१ लाख ८२ हजार ७७८ रुपैयाँमा सम्झौता गरेको थियो । २०७५ कात्तिक मसान्तमा निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएकोमा ५ महिना म्याद थप गरी चैत मसान्त पुर्याइएको थियो । दोस्रोपटक म्याद थप गरेर २०७६ असार २२ गते निर्माण कार्य सम्पन्न भएको कार्य सम्पादन प्रतिवेदनमा उल्लेख छ ।
भीमेश्वर नगरपालिकाको योजना शाखाका इन्जिनियर सुरेश राउतले ठेकेदारले गर्नुपर्ने कार्य सम्पन्न गरेको बताए । तर, प्रवेशद्वारको फिनिसिङ, रंगरोगनलगायतका निर्माण कार्य अझै बाँकी छ।
बाँकी रहेको निर्माण कार्य दोस्रो चरणको बजेटले समेट्ने इन्जिनियर राउतले जानकारी दिए । प्रवेशद्वारको मात्र मुख्यत फिनिसिङको कार्य मात्र बाँकी रहेको उनले बताए । फिनिसिङ, रेष्टरुम, खानेपानी, सूचना केन्द्र, कोसेलीघर, बगैचासहितको कामका लागि डेढ करोडको टेण्डर सम्पन्न भइसकेको इन्जिनियर राउतले जनाए । 'सम्झौता भने भएको छैन, 'उनले भने । मेला, महोत्सव गर्न निकै नै चासो राख्ने दोलखा उद्योग वाणिज्य संघलगायत जिल्लाका अन्य नीजि क्षेत्र यस्ता विषयमा निदाएर बसेको छ।