राष्ट्रपति रनिङ्ग शिल्ड : मुक्तिमार्ग मावि विजयी
बेनी : घारको मुक्तिमार्ग मावि १६ वटा पदक जित्दै अन्नपूर्ण गाउँपालिकाले शिखमा आयोजना गरेको पालिका स्तरीय अन्तर मावि दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको च्याम्पियन बनेको छ ।
९ वटा स्वर्ण, चार वटा रजत र तीन वटा कास्य गरी कुल १६ पदक जित्दै प्रथम भएको मुक्तिमार्गले रनिङ्ग शिल्ड, ट्रफि, प्रमाणपत्र र मेडलसहित नगद पचास हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । गत वर्षको प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड बिजेता नारच्याङको प्रभा मावि छ स्वर्ण, ५ रजत र ५ कास्य पदक जित्दै उपबिजेता भएको छ ।
५ स्वर्ण, ४ रजत र २ कास्य पदक जितेको टिकोट माविले तेस्रो स्थान सुरक्षित गरेको छ । उपबिजेता र तेस्रो हुने विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित तीस हजार र बिस हजार रुपैयाँ प्रदान गरिएको गाउँपालिकाको शिक्षा शाखाका स्रोत व्यक्ति भरत पुनले जानकारी दिए ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १० वटा मावि र एउटा आधारभूत विद्यालयले सहभागिता जनाएका थिए । एथलेटिक्स, भलिबल र कवड्डी विधामा प्रतिस्पर्धा गराइएको थियो । विजयी खेलाडीलाई गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, उपाध्यक्ष केशमाया मगर, प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदी लगायतले पुरस्कार वितरण गरेका थिए । अध्यक्ष पुनले खेल प्रतिभाको पहिचान गरी उनीहरूलाई व्यवसायिक खेलाडी बनाउने बताए ।
प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई फागुन ७ र ८ गते बेनीमा हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी गराइने गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामीले बताए ।
बेनी नगरपालिका, रघुगंगा, मंगला, मालिका र धवलागिरी गाउँपालिकाले पालिका स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरेर जिल्ला स्तरीय प्रतियोगितामा सहभागि हुने खेलाडी छनौट गरिसकेका छन् ।