टिपरले अटोलाई ठक्कर दिँदा दुई भारतीय नागरिकको मृत्यु
राजविराज : इस्लाम धर्मावलम्बीको धार्मिक सम्मेलन (इज्तिमा) सहभागी भएर घर फर्कने क्रममा मङ्गलबार सप्तरीको बोदे–बर्साइन नगरपालिकामा दुर्घटनामा हुँदा दुई भारतीय नागरिकको मृत्यु भएको छ।
दुर्घटनामा एकै परिवारका पाँचजना घाइते भएका छन्। सप्तरीको बोदे–बसाईन नगरपालिका ४ को भित्री सडकमा दुर्घटना भएको हो।
दुर्घटनामा अररिया जिल्ला मोतिहारी ग्राम पञ्चायत ७ का २६ वर्षीय मोहम्मद सदाम हुसेन र ४५ वर्षीया कुनकुनिया खातुनको मृत्यु भएको डीएसपी तिलक भारतीले जानकारी दिए। हुसेनको घटनास्थलमै र खातुनको उपचारका क्रममा न्युरो अस्पताल विराटनगर लाने क्रममा बाटोमै मृत्यु भएको हो।
स १ ह ३७९५ नम्बरको अटोमा बोदे–बर्साइनबाट विसनपुर हुँदै घर फर्किरहेका बेला विपरित दिशातर्फ गइरहेको ना १ क ५५२७ नम्बरको टिपरले ठक्कर दिँदा अटोमा सवार हुसेनको घटनास्थलमै र खातुनको उपचारका क्रममा विराटनगर लगिरहेका बेला बाटोमा मृत्यु भएको हो।
घाइते केहीको न्युरो अस्पताल विराटनगर र केहीको स्थानीय अस्पतालमा उपचार भइराखेको छ। प्रहरीले टिपर, टिपर चालक र अटोलाई नियन्त्रणमा लिएको छ।
शनिबारदेखि सोमबारसम्म भएको इस्लाम धर्मावलम्बीको धार्मिकसभामा सहभागी सोमबार साँझदेखि नै फर्कने क्रम जारी छ। सहभागीको सङ्ख्या एक लाख बढी रहेकाले सडकमा सवारी साधनको चाप बढेको छ।