‘नेपाली फिल्म बनाउन पाए राजतन्त्रपछिको नेपाल उतार्थें’
सामाजिक मुद्दामा प्रखर फिल्म बनाउने भारतीय निर्देशक हुन्, प्रकाश झा। खेलमाथि बनेको फिल्म ‘हिप हिप हुर्रे’बाट निर्देशन यात्रा सुरु गरे पनि त्यसयताका उनका फिल्ममा सामाजिक तथा राजनीतिक चेतले ज्यादा ठाउँ पाएका छन्। ‘दामुल’, ‘मृत्युदण्ड’, ‘गंगाजल’, ‘अपहरण’, ‘सत्याग्रह’ उनका प्रतिनिधि फिल्म हुन्, जसमा उनले भारतीय समाजको चित्र दुरुस्त उतारेको प्रतिक्रिया पाएका छन्। यिनै झा हप्ताभरका लागि नेपालमा थिए, नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) को मुख्य निर्णायकका रूपमा। नेपालसँग सिमाना भएको बिहारमा जन्मिएका उनले बाल्यकालका नेपाल स्मृतिसँगै सिनेमाका सम्बन्धमा ‘अन्नपूर्ण सम्पूर्ण’का सामीप्यराज तिमल्सेनासँग संवाद गरेका छन्।
तपाईंले निफको उद्घाटनमा नेपाल–भारतका गाईबस्तु एकअर्काको जमिनमा चर्न जाने कुरा गर्नुभएको थियो। नेपालसँग जोडिएका तपाईंका अनुभव चाहिँ के–के छन् ?
धेरै छन्। मेरो बाल्यकाल, चम्पारन, बेतियामा बितेको हो। रक्सौलबाट नजिकै पर्छ। सानोमा बहुत गइन्थ्यो। खास गरी नयाँ क्यामरा, पेन चाहियो भने किन्नका लागि वीरगञ्ज गएको सम्झना छ। किनकि, वीरगञ्जमा चाइनिज सामान पाइन्थ्यो। आजभोलि म जोडिएको एउटा संस्थाले कोशीको बाढीपीडितका लागि पनि काम गर्छ। यस हिसाबले पनि नेपालको भूगोलसँग परिचित छु।
कोशीको कुरा निस्किहाल्यो। वर्षाको समयमा दुवै देशका जनता एकअर्काको देशलाई गाली गर्छन्। यहाँले यो समस्यालाई कसरी बुझ्नुभएको छ ?
यताकालाई लाग्छ यताको पीडित, उताकालाई उताकै पीडित। तर, मेरो विचारमा यो प्रकृतिसँग भारत र नेपाल दुवै देशले खेलबाड गरेको हो। त्यसैले प्रकृतिले बदला लिइरहन्छ। नदी व्यवस्थापन सही भएन। जहाँ बाँध बनाउनुपर्ने त्यहाँ बनेन, नबनाउनुपर्ने ठाउँमा बन्यो।
कुनै दिन यो विषय तपाईंका फिल्ममा हेर्न पाइन्छ ?
अहिले त म पीडित व्यवस्थापनको मात्र काम गरिरहेको छु। अँ, नेपालकै एक जना हुनुहुन्छ, पत्रकार सुविना श्रेष्ठ। सायद उहाँले फिल्म बनाइरहनुभएको छ। बाढीको समयमा काम गर्दा उहाँसँग भेट भएको थियो।
आजको अडियन्सले जे भाषा बुझ्छ, म त्यसैमा कुरा गर्छु। रियालिस्टिक चिजलाई कमर्सियल तरिकाले प्याकेज गर्नु आजको बाध्यता हो।
तपाईंका फिल्ममा यस्तै विषयले प्राथमिकता पाउँछन्। सुरुदेखि नै यस्तै फिल्म बनाउँछु भन्ने सोचेर निर्देशनमा आउनुभएको थियो कि बन्दै जाँदा यस्ता बन्न थाले ?
एकदमै सोचेर नै आएँ भन्ने त होइन। तर, मलाई सुरुदेखि नै परिवर्तनले निम्त्याउने परिणामबारे चासो थियो। बिहारका मानिस प्राइमरिली विचारधारासँग जोडिएका हुन्छन्। ममा पनि त्यसको प्रभाव पर्यो। जहाँ परिवर्तन हुन्छ, त्यहाँ कथा भेट्छु।
तर, तपाईंको पहिलो फिल्म ‘हिप हिप हुर्रे’ सामान्य फिल्म थियो ?
हो, यो चाहिँ ख्यालख्यालमा बनेको फिल्म हो। खासमा जति बेला ‘हिप हिप हुर्रे’ बन्यो, त्यतिबेला म ‘दामुल’का लागि काम गरिरहेको थिएँ। ‘दामुल’का लागि निर्माता भेटिरहेको थिइनँ। तर, यसका निर्माता आउनुभो। गुलजार साबलाई स्टोरी सुनाइयो। उहाँले लेखेर दिनुभो। यसरी यो ख्यालख्यालमै बन्यो।
पुनाको फिल्म एन्ड टेलिभिजनको पढाइले पनि केही फरक पार्यो कि ?
पक्कै पार्यो। तर, विषय छनोट एकदमै व्यक्तिगत कुरा हो। त्यस्तै, त्यो विषयलाई प्रस्तुत गर्ने शैली पनि। पुनामा पढेपछि मैले फिल्मको भाषा बुझेँ, प्रविधि बुझेँ र भाषा अभिव्यक्त गर्ने तौरतरिका सिकेँ। तर, पुनाको पढाइको कुरा गर्नुहुन्छ भने म र डेविड धवन एउटै क्लासमा पढ्थ्यौँ। डेविडले बनाउने फिल्म र मैले बनाउने फिल्ममा कतै पनि समानता भेट्नुहुन्न। मेरो ब्याचमा विनोद प्रधान, विधु विनोद चोपडा, नसिरुद्दिन साह, ओम पुरी, कुन्दन शाह, सइद मिर्जा पनि थिए। म सम्पादनमा थिएँ, कोही निर्देशन त कोही क्यामरामा थिए। पाठ एउटै पढे पनि विद्यार्थीले आ–आफ्नै हिसाबले बुझ्छन्। त्यो व्यक्तिगत निर्णयको कुरा हो।
फिल्म पढ्न चाहिँ कसरी पुग्नुभयो ?
एक दिन मुम्बईको सन एन्ड स्यान्ड होटलमा ‘धर्मा’ भन्ने फिल्मको सुटिङ हेरेँ। त्यहीँ सुटिङ हेरेपछि फिल्ममा लाग्ने चस्का पस्यो। सब छाडेर फिल्मको पछि लागेँ।
त्यसअघि फिल्मको संगत थिएन ?
थिएन भन्दा पनि हुन्छ। मैले स्कुले शिक्षा सैनिक स्कुलमा पढेँ। हप्तामा एकचोटि फिल्म हेर्न पाइन्थ्यो। पछि म पेन्टर बन्छु भनेर जेजे स्कुल अफ आर्ट पढ्न गएँ। यही समयमा ‘धर्मा’को सुटिङ देखेपछि पेन्टर हैन, फिल्ममेकर बन्छु भनेर लागेँ। बिहारमा आमाबुबाले देख्ने सबैभन्दा ठूलो सपना हो, छोराछोरी आईएएस अफिसर बनून्, सरकारी सेवामा जाऊन्। मलाई सरकारी अफिसर बन्नु थिएन। फिल्ममेकर बन्नु रहेछ।
तर, तपाईंले ख्यालख्यालमा आएको पेशामा ४० वर्ष बिताइसक्नुभयो...
४० हैन, खासमा ४५ वर्ष हो। मैले बनाएको पहिलो डकुमेन्ट्री सन् १९७५ मा प्रदर्शन भएको थियो। फिचर फिल्मको यात्रा सुरु भएको चाहिँ ४० वर्ष भयो।
यत्रो वर्ष सिनेमामा बिताइसकेपछि, चाल पाउनुभयो सिनेमा के रहेछ ?
बिलकुल चाल पाएको छैन। आज पनि सुटिङको पहिलो दिन उत्तिकै डर लाग्छ, जति ४५ वर्षअघि लाग्थ्यो।
तपाईंका फिल्म खास विषयमा हुन्छन् तर प्रस्तुति अलि व्यावसायिक हुन्छ। फिल्ममेकरले दुइटा डुंगामा यसरी खुट्टा राख्नु राम्रो हो र ?
राम्रो हो÷होइन, त्यो निक्र्योल गर्न सक्ने मान्छे म होइन। तर, मैले पहिला पनि भनेँ नि– परिवर्तनमा रुचि राख्छु। मेरा सिनेमाले समातेको बाटो पनि त्यही हो। आजको अडियन्सले जे भाषा बुझ्छ, म त्यसैमा कुरा गर्छु। रियालिस्टिक चिजलाई कमर्सियल तरिकाले प्याकेज गर्नु आजको बाध्यता हो। किनकि, मैले फिल्म दर्शकका लागि बनाइरहेछु भने यो कुरा ख्याल गर्नुपर्छ। यसो गर्दा वास्तविक तत्त्व हराउँछ पनि। मेरो फिल्मलाई यही कारण ‘प्योर फर्म मिसिङ छ’ भनेर आलोचना गर्ने पनि छन्। ‘गंगाजल’ रिलिज भएपछि आत्मा बेचेको आरोप लागेको थियो। मलाई अडियन्सको नजिक जानु छ, त्यसैले त्यो गर्नु छ। मैले उनीहरूकै भाषामा कुरा गर्नुपर्छ। म नेपाल आएर तमिल भाषामा बोले भनेँ बुझिन्छ त ?
भनेपछि सिनेमा व्यापार हो ?
तपाईंको जीवन नै व्यापार हो। जीवन जिउनु आफैँमा व्यवसाय हो। हामीले कमाउन धन जम्मा गर्न खोजिरहेका छौँ कि छैनौँ ? हामी साधु बनेका त छैनौँ ? बाँच्न हामीलाई जुत्ता, प्यान्ट्स, सर्ट, बाइक त चाहियो। कपडामा पनि ब्रान्डकै चाहियो। मतलब के हो भने आज हामी जुन युगमा बाँचिरहेका छौँ, त्यहाँ व्यापार प्रधान छ।
तर, सिनेमा पहिला क्रिएटिभ आर्ट अनि बिजनेस हैन र ?
हो। क्रिएटिभ आर्ट हेर्ने मान्छे पनि छन् तर एकदमै कम। तपाईं मासमा पुग्ने माध्यम अपनाउनुहुन्छ भने यस्तो कुरा गर्नुस्, जुन सबैले बुझून्। म पनि शुद्ध चिजलाई धेरै सराहना गर्छु। तर, त्यसको सीमा छ। ‘परीक्षा’ भन्ने फिल्म बनाएको छु। कहानी राम्रो लागेर। इन्डियन पानारोमामा देखाइयो। नेसनल अवार्डमा पनि गएको छ। फेस्टिबलमा गइरहेको छ, तर रिलिज भइरहेको छैन। रिलिज गर्न इन्फास्ट्रक्चर, कस्ट, अट्र्याक्सन चाहियो। अलिकति मनोरञ्जन चाहियो। त्यो त्यसमा छैन। अर्को फिल्म बनाएको छु, ‘मन्टोको साइकल’। यो पनि प्योर छ। जब लाग्छ, यो विषय आफैँमा पूर्ण छ, त्यहाँ बजारसँग सम्झौता गर्दिनँ। एउटा घटना सुनाउँछु। ‘दामुल’ फिल्मले राष्ट्रिय अवार्ड पायो। १२ लाखमा बनेको थियो फिल्म तर सरकारले राष्ट्रिय अवार्ड पाएपछि दूरदर्शनमा प्रसारण गर्ने भनेर १२ लाखमै किन्यो। दूरदर्शनमा प्रसारण हुने दिन खूब उत्साहित भएर साथीभाइलाई बोलाएँ। घरमा खाना बनाउने ललिताबाई थिइन्। मेरो फिल्म दूरदर्शनबाट आउँदै छ भन्ने कुराले असाध्यै उत्तेजित थिइन्। सबलाई खानासाना बनाएर खुवाइन्। दुई घण्टापछि फिल्म सकियो। साथीहरूलाई जे लाग्यो, प्रतिक्रिया दिए। ललिताबाईलाई आफैँ सोधेँ, ‘कस्तो लाग्यो फिल्म ?’ उनले भनिन्, ‘राम्रो लाग्यो। तर, अर्को चोटि बनाउँदा फिल्म बनाउनू।’ उनको प्रतिक्रियाले मलाई लाग्यो, फिल्म इन्स्टिच्युटको भाषाले यहाँ काम गर्नेवाला छैन।
तपाईंको फिल्मोग्राफी हेर्दा राजनीतिक विषयमा ज्यादा रुचि देखिन्छ। आफैँ राजनीति गर्ने भएर हो, यस्ता विषयले ज्यादा छुने ?
हो, मेरो फिल्मलाई धेरैले राजनीतिक फिल्म भन्छन्। कसैले अलि दया गरेर सामाजिक–राजनीतिक फिल्म भनिदिन्छन्। तर, मैले न सामाजिक फिल्म बनाएको हुँ, न राजनीतिक। मैले समाज र राजनीतिले सिर्जना गरेका कथामा फिल्म बनाएको हुँ। लोकतन्त्र आज नम्बर गेममा परिणत भएको छ। तर, आर्टले भन्छ, ‘बहुमत छ भन्दैमा त्यो सही हुँदैन।’ मलाई यही कुराले फिल्म बनाउन प्रेरित गर्छ। त्यसैले म सबै सरकारको प्रतिपक्षी हुँ।
तर, यति धेरै राष्ट्रिय अवार्ड पाउनुभएको छ ?
त्यो मैले हैन, मेरा फिल्मले पाएको हो। सरकारले दिने हुन्छ नि पद्मश्री... अरू केके, त्यो मलाई दिँदैनन्। त्यस्ता पुरस्कारमा मेरो रुचि पनि हैन।
फिल्मको कथा टिप्ने तपाईंको प्रक्रिया चाहिँ कस्तो हुन्छ ?
फिल्म बनाउने विषय एक दिनमा फुर्ने कुरा हैन। भोग्ने कुरा हो। मान्छेको जीवनमा, घटनाहरूमा आफ्नो कनेक्सन, समाजको कनेक्सन देखापर्छ। ‘गंगाजल’को कथा बिहारकै भागलपुरमा भएको घटनाको प्रस्तुति हो। यो फिल्म लेख्न मलाई सात वर्ष लाग्यो। त्यसै गरी, ‘राजनीति’को कथा लेख्न चारपाँच वर्ष लाग्यो। यथार्थ पात्र तथा घटनालाई आख्यानमा ढालेर न्यारेटिभ तयार गर्नु चुनौती हो। तर, मलाई त्यसमा मज्जा आउँछ। यदि अहिले म नेपालमा फिल्म बनाउँथेँ भने राजतन्त्र फालेर गणतन्त्र आएपछि मानिसको सामाजिक सम्बन्धमा आएको परिवर्तन मेरो विषय हुन सक्थ्यो। भूकम्पपछिको मानिसको जीवनमा आएको परिवर्तन पनि कम रोचक छजस्तो लाग्दैन। घर टुटेको र सम्पदा टुटेको कुरा कहानीमा जोडिएर आउँथ्यो होला।
देश र दुनियाँका फिल्म हेर्नुभएको छ। मुख्य निर्णायकका रूपमा यो पालि नेपाली फिल्म पनि हेर्नुभयो। नेपाली फिल्मको स्तर कहाँ रहेछ ?
सोचेभन्दा राम्रो। ‘बुलबुल’ एकदमै राम्रो लाग्यो। एउटा महिला टेम्पो चालकको मनोविज्ञानलाई गज्जबले चित्रण गरिएको छ। बलिउडमा पनि अहिले एकदमै राम्रो समय चलिराछ। आम मानिसलाई दर्शकले आफ्नो हिरोका रूपमा स्वीकार गरेका छन्। हाम्रो जमानामा बिना ठूलो स्टार हलमा फिल्म लगाउन गाह्रो थियो। तर, अहिले आयुष्मान खुराना, विकी कौशल, राजकुमार राव आदिले भव्य काम गरिरहेका छन्।
तपाईंले भनेकै कुरालाई विश्वास गर्ने हो भने सिनेमा सही दिशामा गइरहेको छ। तर, चुनौती पनि कम छैनन् नि ?
कन्फ्लिक्ट त सिनेमाको मुटु हो। चुनौतीबिना त फिल्म हेर्नुको के मज्जा ? अहिले सिनेमाले भोगिरहेको सबैभन्दा चुनौती भनेको कन्टेन्ट हो। आजको जमानामा कन्टेन्ट राजा हो। तपाईंले केही न केही नयाँ कुरा दर्शकलाई दिनैपर्छ, नत्र ऊ हलमा पाँच मिनेट पनि टिक्दैन। ‘माइन्ड मस्ट मुभ अन स्क्रिन’। स्क्रिनमा नभएर अर्केतिर दिमाग घुमिरहेको छ भने बुझ्नुस्, त्यो फिल्म डुब्यो।