एउटै कक्षामा तीन वर्ष !
चितवन : उजेली चेपाङ तीन वर्षदेखि एउटै कक्षामा पढिरहेकी छन्। १५ वर्षीय उजेली कक्षा उत्तीर्ण नभएर कक्षा पाँचमा पढिरहेकी भने होइनन्। प्रत्येक नयाँ शैक्षिक सत्रमा कक्षा पाँच उत्तीर्ण हुँदा उनी उत्साहित हुन्छिन्। तर विद्यालय पुगेपछि भने उही पुरानै कक्षा दोहोर्याउन बाध्य हुन्छिन्।
राप्ती नगरपालिका–१३ स्यामराङस्थित दुङवाङ राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा पाँचसम्म मात्र पढाइ हुन्छ। उनीसँग विद्यालय छोड्ने र कक्षा ५ नै दोहोर्याउनेबाहेक विकल्प छैन। कक्षा ६ मा पढ्नका लागि सबैभन्दा नजिक रहेको धादिङको स्यादुल पुग्न तीन घन्टा हिड्नुपर्छ। त्यसपछिको नजिकको विद्यालय रहेको चितवनको यौरालीटार पुग्न चार घन्टा लाग्छ। घरबाहिर राखेर पढाउन उनको परिवारसँग आर्थिक अभाव छ।
‘कक्षा बढाए पढ्ने भनेको हो। पढ्न सारै रहर छ’, उजेलीले भनिन्, ‘कोठा भाडामा लिएर पढ्न पैसा छैन के गर्नु ? ’ उजेलीकी साथी सिमना चेपाङले भने पढ्न छोडिन्। तीन वर्ष लगातार पाँच कक्षामै पढेर उनले विद्यालय छाडेकी हुन्। सिमना घरमै घाँस दाउरा गरेर दिन बिताउँछिन्। विद्यालय जाने रहर भए पनि माथिल्लो कक्षाको पढाइ गाउँमा नहुँदा उनी घरकै काममा सिमित हसन बाध्य भएकी हुन्।
‘अब फेरि एकै कक्षामा पढ्न भएन अग्लो भएँ’, सिमनाले भनिन्, ‘माथि पढ्ने ठाउँ छैन।’ गरिबी र अभावबाट माथि उठ्न संघर्षरत यहाँका विद्यार्थीले प्रावि तहबाटै विद्यालय शिक्षामा बिट मार्नुपर्ने बाध्यता छ। ‘मेरो पढेर शिक्षक बन्ने सपना थियो, तर पाँच कक्षा पढेपछि अन्त गएर पढ्न सकिन,’ स्थानीय रविना चेपाङले भनिन्, ‘गरिबहरूले सपना देखेर मात्र नहुने रहेछ।’ उनले पनि कक्षा पाँचमै दुई पटक पढेर विद्यालय छाडेकी हुन्।
चेपाङ बाहुल्य स्यामराङका अधिकांश विद्यार्थी अन्यत्र गएर पढ्न नसकेपछि सानैमा विवाह गर्न बाध्य छन्। ‘एउटै कक्षामा तीन पटक पढेपछि १५÷१६ वर्ष पुगिहाल्छ, उमेर पुगेपछि गाउँमा विवाह गर्ने चलन छ’, रविनाले भनिन्, ‘अब हाम्रो भाइ बहिनीले चै गाउँमै पढ्न पाउँछन् की ? ’
स्यामराङकी शिक्षिका गंगाकुमारी गुरुङले विद्यालयमा माथिल्लो कक्षा नहुँदा यहाँका बालबालिकाको पढाइ ५ कक्षाभन्दा माथि बढ्न नसकेको बताइन्। ‘उमेर नपुग्ने बेलासम्म स्कुल आउँछन्, त्यसपछि पढ्न पाउँदैनन्। अनि विवाह गर्छन्’, उनले भनिन्, ‘किताब बोक्ने हातमा बच्चा बोकेको दृष्य सामान्य जस्तै लाग्न थालेको छ।’ निमावि तहको पढाई सुरु गर्न पहल भइरहेको गुरुङले बताइन्।