एयरक्राफ्ट म्युजियम समस्यामा
धनगढी : सुदूरपपश्चिमको प्रमुख पर्यटकीय स्थल बन्न सफल धनगढीको एयरक्राफ्ट म्युजियम समस्या परेको छ।
६ वर्ष अगाडि धनगढी उपमहानगरपालिका-५ हसनपुरमा सञ्चालनमा ल्याएको एयरक्राफ्ट्स म्युजियम जग्गा अभावमा समस्यामा परेको हो। २०७० चैतबाट क्याप्टेन वेद उप्रेतीले जमिन भाडामा लिएर म्युजियम सञ्चालनमा ल्याएका थिए। ‘सुदूरपश्चिमको पर्यटन प्रवद्र्धन गर्ने जमिन भाडामा लिएर एयरक्राफ्ट्स सञ्चालनमा ल्याएको हो’ सञ्चालक उप्रेतीले भने। ‘६ वर्षका लागि सम्झौता गरेको जमिन खाली गर्नुपर्ने भएपछि कहाँ लिने भन्ने अन्यौलता भएको छ।’ ६ वर्षमा ५ लाखभन्दा बढीले अवलोकन गरेको एयरक्राफ्ट्स म्युजियम धनगढीको प्रमुख आकर्षण छ।
उप्रेतीले कस्मिक एयरको पुरानो फोकर-१०० ग्राउन्डेड विमान म्युजियम बनाएका थिए। म्युजियममा विमानका आविश्कारक राइट दाजुभाइले १७ डिसेम्बर १९०३ मा निर्माण गरेको विमानदेखि पाइलटरहित आधुनिक विमान ड्रोनका तस्वीर साथै नागरिक र मिलिट्री मोडेल विमान अवलोकनका लागि राखिएका छन्।
म्युजियम अवलोकन गर्नेले जेट ककपिट अवलोकन गर्न पाउँछन्। पाइलट र टावरको रेकर्डेड संवाद सुन्न सक्ने व्यवस्था म्युजियममा छ। यस्तै म्युजियमभित्र ६० इन्चको टीभीमा ‘एयरक्राफ्ट म्युजियम’ सम्बन्धी वृतचित्र समेत देखाइने गरेको छ। उनले भने, ‘म्युजियम भित्र पसेपछि उड्डयन क्षेत्रको जानकारी लिन सकिन्छ। त्यसैले स्कुल र कलेजमा पढिरहेका विद्यार्थीका लागि सिकाइको केन्द्र भएको छ।’
म्युजियम सञ्चालन गर्न एक करोड ५० लाख लगानी गरेको उनले जानकारी दिए। झण्डै ६ महिना लगाएर संग्रहालय तयार पारिएको थियो।
उप्रेती इन्डोनेसियाको लायन एयरमा वरिष्ठ प्रशिक्षक पाइलटका रूपमा उडान भर्दै आएका छन्। फोटोग्राफीमा संलग्न उनले नेपाल चिनाउने दर्जनभन्दा बढी फोटो पुस्तक प्रकाशित गरिसकेका छन्। एयरक्राफ्ट संग्रहालय भएकाले बच्चादेखि वृद्धको आकर्षणमा परेको उप्रेतीले दावी गरे। सुदूरपश्चिमाञ्चलका पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलका तस्वीरसमेत म्युजियमभित्र राखिएका छन्। सञ्चालक उप्रेतीले म्युजियम सञ्चालनबाट प्राप्त नाफाको अहिलेसम्म ५ लाख रुपैयाँ कैलालीका क्यान्सर पीडितलाई प्रदान गरिएको दावी गरे। उनले कञ्चनपुरमा र काठमाडौंमा पनि यस प्रकारको म्युजियम सञ्चालमा ल्याएसकेका छन्।