रारामा ‘नेचर गाइड’
मुगु : रारा घुम्न आउने बाह्य तथा आन्तरिक पर्यटकका लागि प्रकृति पथप्रदर्शक (नेचर गाइड) को व्यवस्था गरिएको छ। रारा राष्ट्रिय निकुञ्जले राराको जैविक विविधता, वन्यजन्तु, चराचुरुंगी र पदमार्गको अवलोकन गराउन नेचर गाइड तयार गरेको हो। नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी ३३ जना नेचर गाइड तयार तयार गरिएको हो।
निकुञ्ज कार्यालयले फागुन १ गतेदेखि ६ गतेसम्म नेचर गाइडलाई आवश्यक तालिम दिएको हो। राष्ट्रिय निकुञ्ज स्थापना भएयता पहिलो पटक ३३ जना नेचर गाइड उत्पादन गरिएको निकुञ्ज कार्यालयले जानकारी दिएको छ। निकुञ्ज कार्यालयका संरक्षण अधिकृत लालबहादुर भण्डारीकाअनुसार मध्यवर्ति क्षेत्रभित्रका समुदायको आर्थिक उन्नतिमा पनि टेवा पुग्नेछ।
तयार भएका गाइडले रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई राराको बारेमा सहजै जानकारी गराउनेछन्। साथै निकुञ्जभित्र रहेका जैविक विविधता, वन्यजन्तु, वनस्पति, चराचुरंगी, धार्मिक तथा साँस्कृतिक परम्पराबारे उनीहरूले जानकारी गराउने भएका हुन्। छायानाथ रारा नगरापालिका—८ झ्यारी गाउँका दानबहादुर रावलले नेचर गाइडको तालिम पाएसँगै आफूले व्यावसायिक रूपमै नेचर गाइडको पेसा अपनाउने बताए। बेरोजगारीका कारण आफू विदेश जाने तयारीमा रहे पनि अब भने गाइडकै काम गर्ने उनको भनाइ छ।
रारामा मात्र दुई सय ७२ प्रजातिका चराचुरुंगी छन्। विश्वमा नपाइने असला जातको माछा, विभिन्न प्रकारका वनस्पतिका साथै यहाँको छुट्टैखाले जैविक विविधता छ। विगतमा रारा पुग्ने पर्यटक बिच बाटोमै ठगिएका घट्ना धेरै छन्। रारा पुग्ने जोकोही पर्यटक नठगियोस् र राराबारे सबै जानकारी पर्यटकले पाउन् भन्ने हेतुले नेचर गाइड उत्पादन गरिएको हो। मध्यवर्ती क्षेत्रका बेरोजगार युवालाई यो पेसाले आयआर्जनको पाटो पहिल्याउन सक्ने मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष बलराम साहनीले बताए।