कांग्रेसमा समायोजन सक्न सास्ती

कांग्रेसमा समायोजन सक्न सास्ती

काठमाडौं : कांग्रेसमा गुटगत विवादले अन्तरिम सांगठनिक संरचना समायोजन लम्बिएको छ। फागुन पहिलो सातासम्म एकतिहाइ जिल्लामा मात्र समायोजन टुंगिएको छ। उसले पछिल्लो पटक फागुन १५ गतेभित्र समायोजन सम्पन्न गर्न केन्द्रीय निर्वाचन समितिलाई निर्देशन दिएको थियो। यसबाट महाधिवेशन कार्यतालिका प्रभावित भएको छ।

समितिका अनुसार ३० जिल्लाको मात्र सम्पूर्ण विवरण केन्द्रमा आएको छ। ‘४१ जिल्लाको समायोजन आंशिक टुंगिएको छ। ३० वटाको पूर्ण विवरण आइसकेको छ’, समिति संयोजक राधेश्याम अधिकारीले अन्नपूर्णसँग भने, ‘६ जिल्लाको कुनै पनि विवरण आएको छैन।’

समायोजन लम्बिँदै गएकाले शीर्ष नेतासहितको पदाधिकारी बैठक बोलाइएको संयोजक अधिकारीले सुनाए। ‘तपाईंहरूले हामीलाई सहयोग गर्नुपर्छ भन्यौं’, उनले भने, ‘पार्टीले सहयोग नगरेसम्म यो प्रक्रिया सहजै टुंगिन गाह्रो छ।’

यस विषयमा बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिबीच छलफल भएको थियो। ‘उहाँहरूले केन्द्रीय कार्यसमितिले पारित गरेको निर्देशिकाबमोजिम देशभरका स्थानीय तह समायोजन गर्ने सम्बन्धमा भइरहेको प्रगति विवरण पेस गर्नुभयो’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘१५ गतेभित्र समायोजनका सबै काम सम्पन्न गरिसक्ने गरी केन्द्रीय कार्यालयले निर्वाचन समितिसँग सहजीकरण गर्ने निर्णय भएको छ।’

केन्द्रीय कार्यसमितिले महाधिवेशन कार्यतालिकाअनुसार माघभित्र समायोजन टुंग्याउने निर्णय गरेको थियो। फागुन–चैतमा साधारण र क्रियाशील सदस्यता वितरण गर्ने कार्यतालिका माघमा समायोजन नसकिएपछि परिमार्जन गरिएको थियो। फागुन १५ भित्र समायोजन टुंग्याएर डेढ महिना सदस्यता वितरण गर्ने केन्द्रीय कार्यसमितिको पछिल्लो निर्णय पनि प्रभावित हुने देखिएको छ।

अधिकारीले नेताहरू समायोजनप्रति गम्भीर देखिएको बताए। ‘समायोजनलाई देखाएर महाधिवेशन धकेल्न मिल्दैन’, उनले भने, ‘पार्टीले गम्भीरतापूर्वक समायोजनमा लाग्ने हो भने यो ठूलो समस्या छैन। एउटाले मात्र होइन, सबैले सामूहिक रूपमा सहयोग गर्नुप¥यो।’

समितिका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, ओखलढुंगा, उदयपुर, दोलखा, सिन्धुली, भक्तपुर, चितवन, गोरखा, मनाङ र लमजुङबाट सबै विवरण प्राप्त भएको छ। कास्की, तनहुँ, रोल्पा, रूकुम (पश्चिम), हुम्ला, मुगु, कालिकोट, जाजरकोट, कपिलवस्तु, बाजुरा, डोटी, कैलाली, दार्चुला, डडेलधुरा र कञ्चनपुर जिल्लाले पनि समायोजन टुंग्याएका छन्।

पदाधिकारी बैठकले तोकिएको समयमा काम सम्पन्न गर्न बाँकी जिल्लालाई निर्देशन दिएको छ। समितिका एक सदस्यले भने फागुन १५ सम्म ५० जिल्लाको मात्र काम टुंगिने बताए। कांग्रेसले समायोजन टुंग्याएका जिल्लालाई साधारण सदस्यता र क्रियाशील सदस्यता वितरणको काम अघि बढाउन केन्द्रमा सम्पर्क गर्न आग्रह गरेको छ।

मुलुक संघीय संरचनामा गइसके पनि कांग्रेसमा पुरानै पार्टी संरचना छ। महाधिवेशन हुने वर्षभन्दा कम्तीमा एक वर्षअगावै स्थानीय तहका सबै अधिवेशन र कार्यसमिति गठन भइसक्नुपर्ने विधानको प्रावधान छ। निर्वाचनमार्फत नयाँ संरचनामा जाँदा समय लाग्ने भएकाले कांग्रेसले सहमतिमा अन्तरिम संरचना समायोजन गर्ने निर्णय गरेको थियो। साउन २६ गतेको केन्द्रीय कार्यसमिति बैठकले कात्तिकभित्र संघीयताअनुसार स्थानीय तहमा पार्टीको अन्तरिम संरचना समायोजन गरिसक्ने निर्णय गरेको थियो।

नेपाली कांग्रेस स्थानीय तह संगठन पुनःसंरचनाको अन्तरिम व्यवस्था निर्देशिका २०७६ मा सहमतिबाट संरचना बनाउने व्यवस्था छ। कात्तिकमा सबै तहको संरचना समायोजन गर्ने भनिएपछि त्यसपछि पटक–पटक समय थप गरिएको छ। कांग्रेसले अर्काे वर्ष फागुन ७ देखि १० गतेभित्र केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.