साग विजेतालाई सरकारले अझै दिएन पुरस्कार !
भक्तपुर : १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेताहरुले सरकारको घोषित पुरस्कार अहिलेसम्म नपाएको गुनासो गरेका छन्। सरकारले घोषणा गरेको पुरस्कार दुई महिना पूरा हुँदा पनि नपाउँदा आफूहरु निराश भएको उनीहरुले गुनासो गरेका हुन्।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ भक्तपुर र सम्बाहक मिडियाद्वारा शुक्रबार आयोजित सम्मान कार्यक्रममा उनीहरुले पुरस्कार समयमै नपाउँदा अर्को प्रतियोगिताको लागि तयारी गर्न उत्साह नमिलेको बताएका छन्।
सरकारले १३ औं साग सकिएलगत्तै स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार दिने घोषणा गरेको थियो। १३ औं साग नेपालमै भएको थियो। जसमा नेपालले ऐतिहासिक पदक जितेर पदक तालिकामा दोस्रो स्थानमा रहेको थियो।
कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका केन्द्रीय अध्यक्ष एवं १३ औं सागका स्वर्ण पदक विजेता दीपक श्रेष्ठले सरकार आफैले घोषणा गरेको पुरस्कार छिटो उपलब्ध गराउन माग गरे।
‘सरकारले घोषणा गरेको पुरस्कार अझैसम्म पाउन सकेका छैनौं’, उनले भने, ‘पुरस्कार घोषणा गरेकै दुई महिना बढी नाघिसक्यो। त्यसैले छिटो उक्त पुरस्कार दिन माग गर्दछौं।’
अध्यक्ष श्रेष्ठले छिटोभन्दा छिटो उक्त पुरस्कार पाए खेलाडीहरु अरु प्रतियोगिताको लागि तयारी गर्न उत्साहित हुने सुनाए। सरकारले दिने भनेकै पुरस्कार नपाउँदा खेलाडीहरुमा निराशा छाएको उनको भनाइ थियो।
‘सरकारले पदक जितेका खेलाडीलाई पुरस्कार दिने घोषणा गर्दा हामी उत्साहित भएका थियौं’, उनले थपे, ‘तर अहिले पुरस्कार नपाउँदा त्यो उत्साह मरेको छ। खेलाडीहरुमा निराशा देखिएको छ।’
कार्यक्रममा १३ औं सागमा पदक जित्ने भक्तपुरका ११ जना खेलाडी, दुई प्रशिक्षक र ३९ अम्पायर तथा निर्णायकहरुलाई सम्मान गरिएको थियो। १३ औं सागमा भक्तपुरका कराते खेलाडी मन्डेकाजी श्रेष्ठले नेपालको लागि पहिलो स्वर्ण पदक दिलाएका थिए।
त्यस्तै उसु खेलाडी सुस्मिता तामाङ र तेक्वान्दो खेलाडी काजोल श्रेष्ठले स्वर्ण पदक जितेका थिए। टेबलटेनिसमा शिवसुन्दर गोथे, ह्याण्डबलमा देवकुमारी बास्कोटा, कबड्डीमा इन्दिरा गिरी, भारोत्तोलनमा लक्ष्मी वन, जुडोमा श्रीराम मगजू, बास्केटबलमा विकल जोशी र तेक्वान्दोमा ज्ञानेन्द्र हमालले नेपालको लागि रजत पदक जितेका थिए।
त्यस्तै खो खोमा श्याम बुढाथोकीले कास्य पदक जितेका थिए।