धुलो दूध आयात फुकुवा गर्ने तयारी
काठमाडौं : सरकारले धुलो दूध आयात प्रतिबन्ध फुकुवा गर्ने गृहकार्य थालेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केही ठूला व्यापारीको दबाबमा धुलो दूध आयात प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको हो।
कच्चा दूधबाट पाउडर दूध बनाउने स्वदेशी कारखानालाई आत्मनिर्भर बनाएर किसानको दूध सडकमा नष्ट हुन नदिने उद्देश्यले निवर्तमान मन्त्री चक्रपाणी खनालले २०७५ साउन १ गतेदेखि धूलो दूधको आयातमा प्रतिबन्ध लगाएका थिए। धुलो दूध आयात गर्न अनिवार्य रूपमा आवश्यक पर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुज्ञापत्र उपलब्धतामा रोक लगाएर मन्त्री खनालले धुलो दूध आयातमा प्रतिबन्ध लगाएका थिए।
तत्कालीन मन्त्री खनालले चकलेट र आइसक्रिम बनाउन आवश्यक पर्ने धुलो दूध नेपालमा उत्पादन नभएकाले ती दुवैतर्फ उपभोग हुने धुलो दूधको आयातमा भने अंकुश लगाएका थिएनन्। डेरी दूधले उपभोग गर्ने धूलो दूधको आयातमा मात्रै तत्कालीन समयमा अंकुश लगाइएको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धूलो दूध आयात गर्न दिने विषयमा विभिन्न व्यापारीबाट माग आएकाले फुकुवा गर्ने गृहकार्य भइरहेको जनाएको छ।
मन्त्रालय स्रोतले भन्यो, ‘चैतदेखि भदौसम्म कच्चा दूध कम उत्पादन हुने भएकाले सरकारी र निजी क्षेत्रका डेरी उद्योगलाई कच्चा दूधको अभाव पूर्ति गर्न धुलो दूध आयात गर्न दिन केही ठूला व्यापारीबाट प्रस्ताव आएको छ। कच्चा दूधको अभाव हुन नदिन आएको प्रस्तावलाई स्वीकार्दै फुकुवा गर्ने मन्त्रालय तहबाट तयारी सुरु भएको हो।’
धुलो दूध आयातमा रोक लागेपछि तत्कालीन मन्त्री खनाललाई रोक्का फुकुवा गर्न विभिन्न शक्ति केन्द्रले दबाबसमेत दिएका थिए। मन्त्री खनालले आयात प्रतिबन्ध फुकुवा गर्न नमानेपछि ती व्यापारी विभिन्न शक्ति केन्द्रसम्म धाएका थिए। ‘मैले नेपाली किसानको दूध सडकमा नपोखियोस् र स्वदेशी पाउडर दूध उत्पादन गर्ने उद्योग पनि आत्मनिर्भर होस् भन्ने उद्देश्य राखेर धुलो दूध आयातमा रोक लगाएको थिएँ’, पूर्वमन्त्री खनालले भने, ‘मेरो निर्णयले त्यो वर्ष किसानको दूध सडकमा पोखिएन। तर, केही स्वार्थ समूहलाई त्यो विषय अपच भएको थियो।’
धूलो दूध आयातको विषयमा निजी डेरीतर्फका संघसंस्था पनि सकारात्मक छन्। नेपाल डेरी उद्योग संघका अध्यक्ष अरनिकोराज भण्डारीले धूलो दूधको आयात फुकुवा गर्नुपर्ने बताए। ‘तर डेरी उद्योगले आफै ल्याउने गरी सरकारले फुकुवा गर्नुपर्छ’, भण्डारीले भने, ‘व्यापारिक लाभका लागि पहुँचको भरमा आयात गर्न फुकुवा गर्नुहुन्न।’
उनकाअनुसार आगामी चैतदेखि भदौसम्म कच्चा दूधको अभाव हुने कुन उद्योगलाई कति आवश्यक पर्छ। त्यो अनुसारको उद्योगपिच्छे कोटा निर्धारण गरी सोझै उद्योगलाई आयात गर्न अनुज्ञा पत्र उपलब्ध गराउनुपर्ने भण्डारीले बताए। उनले भने, ‘आयात गर्ने व्यापारीको हकमा फुकुवा गर्ने हो भने उसले आवश्यकताभन्दा बढी आयात गरी महँगोमा बिक्री गर्ने जोखिम हुन्छ।’
पूर्वमन्त्री खनालले धुलो दूध आयात फुकुवा गर्दा डेरी उद्योगले अनुचित फाइदा लिन सक्ने जानकारी दिए। ‘कच्चा दूध प्रसोधन गरी बिक्री गर्नुभन्दा धुलो दूध पानीमा मिसाएर बिक्री गर्दा प्रतिलिटर सात रुपैयाँ नाफा हुन्छ’, खनालले भने, ‘यसले गर्दा किसानको दूध बिक्री हुँदैन।’
मन्त्रालयका सह प्रवक्ता डा. प्रदीपचन्द्र भट्टराईले आगामी ६ महिना डेरी उद्योगलाई कच्चा दूधको चर्को अभाव हुने भएकाले आपूर्ति प्रणालीलाई अवरुद्ध हुन नदिन धुलो दूध आयात फुकुवा हुन सक्ने जानकारी दिए।
देशभरका निजी डेरी र सरकारी डेरीलाई कच्चा दूध कम उत्पादन हुने समयका लागि चार हजार मेट्रिक टन धुलो दूध आवश्यक पर्छ। यसमध्ये करिब दुई हजार मेट्रिक टन धुलो दूध अभाव हुने भण्डारीको भनाइ छ। दुई हजार मेट्रिक टन धुलो दूध स्वदेशी तीन उद्योगबाट उत्पादन भएको छ। दुग्ध विकास संस्थान (डीडीसी) सँग पाँच सय, सुजल डेरीसँग पाँच सय र चितवन मिल्कसँग नौ सय गरी दुई हजार मेट्रिक टन धुलो दूध मौज्दात रहेको भण्डारीले बताए।
स्वदेशमा दैनिक झन्डै पाँच लाख लिटर दूध उत्पादन भइरहेको छ। नेपालमा २२ लाख दूधालु गाई छन्। यसमध्ये दैनिक १० लिटर दूध दिने जर्सी र होलेस्टिन जातका पाँच लाख गाई छन्। बाँकी औसत करिब तीन लिटर दूध दिने स्थानीय जातका छन्।