इतिहास देखाउन घोराहीमा घोडाको प्रतिमा
दाङ : दाङको घोराही उपमहानगरपालिकाले घोराही सहरको इतिहास बुझाउन सहरका दुई स्थानमा घोडाको प्रतिमा राखेको छ। उपमहानगरको कार्यपालिकाको निर्णयअनुसार घोराही बजारको मुख्य चोक गुम्रा चोक (ट्राफिक चोक) र भानु चोकमा घोडाको प्रतिमा स्थापना गर्ने निर्णय गरेको हो।
घोराही सहरको नाम घोडा शब्दबाट अपभ्रंश भइ रहन गएकाले इतिहासको संरक्षण गर्ने र इतिहास देखाने उद्देश्यले घोडाको प्रतिमा राखिएको घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले बताए। नगरकार्यपालिकाको निर्णय अनुसार चोकमा घोडाको प्रतिमा राखिएको उनले बताए। गुम्राहचोकमा स्थापना भइसकेको र घोराही( भानु)चोकमा निर्माणको क्रममा रहेको नगर प्रमुख चौधरीले जानकारी दिए।
गुम्रा चोकमा दुईवटा सिल्भरबाट निर्माण गरिएका घोडा र घोडीको प्रतिमा राखिएको छ। घोराही चोकमा फाइबरबाट निर्माण गरिएको एउटा घोडाको प्रतिमा राखिने भएको छ।
गुम्रा चोकमा राखिएको घोडाको प्रतिमा २९ लाखमा टेण्डर आह्वान गरिएकोमा २५ लाखमा निर्माण भएको घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए। घोराही चोकमा राखिने घोडाको लागत भने केही सस्तो रहने उनको भनाइ छ। प्रमुख प्रशासकीय अधिकृत केसीले घोराही चोकमा निर्माण हुन थालेको घोडाको प्रतिमा बन्न केही समय लाग्ने बताए।
घोडाको प्रतिमाको प्रदेश न ५ का मुख्यमन्त्री शंकर पोख्रेलले उदघाटन गरेका छन्। शनिबार एक कार्यक्रमको आयोजना गरी घोडाको प्रतिमाको मुख्यमन्त्रीले उदघाटन गरेका हुन्।