भारतीय पर्यटक आकर्षित गर्न महोत्सव
ताप्लेजुङ : मेची पहाडमा भारतीय पर्यटक आकर्षित गर्न महोत्सव सुरु भएको छ। ताप्लेजुङ सदरमुकाम फुङलिङमा शुक्रबार प्रदेश १ का सभामुख प्रदिप भण्डारीले महोत्सवको उद्घाटन गरे।
महोत्सवमै १० हजार भारतीय पर्यटक भित्र्याउने लक्ष्य रहेको आयोजक समितिका संयोजक तारानाथ घिमिरेले बताए। घिमिरेका अनुसार फागुन १३ गतेसम्म चल्ने महोत्सवले झापाको केचनादेखि ताप्लेजुङको ओलाङचुङगोलासम्म पर्यटकीय क्षेत्रको प्रचारमा सघाउ पुग्नेछ। ‘मेचीका चार जिल्लालाई भारतीय पर्यटकको आकर्षणको केन्द्र बनाउने लक्ष्य हो’, घिमिरेले भने, ‘जसका लागि भारतको सिक्किम, दार्जिलिङ, विहारलगायत स्थनमा गएर प्रचार र निम्ता गरेका छौं।’
हाल पाथीभरामा वार्षिक १ लाख हाराहारी भारतीय पर्यटक पुगिरहेका छन्। महोत्सवपछि त्यो संख्या बढ्ने विश्वास आयोजकको छ। साविक मेची अञ्चलका चार जिल्लामा हेर्न लायक अनेक स्थानको पहिचान र प्रवद्र्धनका लागि महोत्सवले सहयोग गर्ने आयोजक समितिका सहसंयोजक मनमणि काफ्लेले बताए। झापाको केचनादेखि अर्जुनधारा, जामुनखाडी सिमसार क्षेत्र पर्यटकको पर्खाइमा छन्।
सूर्योदयको आकर्षक दृश्य देखिने इलामको अन्तुडाँडा, कन्याम, माइपोखरी, टोड्के झरना, पाँचथरको साधुटार, सिलौटी, ऐतिहासिक महŒव बोकेको हिलिहाँङ दरबारलगायत थुप्रै पर्यटकीय स्थलको प्रवद्र्धनका लागिसमेत महोत्सवले योगदान गर्ने आयोजकको दावी छ।
त्यस्तै ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिर, कंचनजंघा हिमाल, तिम्बुङपोखरी, फुङफुङे झरना, मिल्के जलजले क्षेत्र, ओलाङचुङगोला, दिकी छ्योलिङ गुम्बालगायतलाई पर्यटकको आँखामा पार्न महोत्सव फलदायी हुने काफ्लेले विश्वास गरे। शनिबार अन्तरपालिका मेयरकप भलिबल, हेलिकप्टरबाट पाथीभरा, कञ्चनजंघालगायत पर्यटकीय स्थलको अवलोकन, प्याराग्लाइडिङ हुनेछ। कृषि मेला प्रदर्शनी, चारै जिल्लाको घरेलु उत्पादन प्रदर्शनी, फोटो तथा वृत्तचित्र प्रदर्शनीसमेत राखिएको छ।
फागुन १३ गते फुङलिङबाट पाथीभरा मन्दिरसम्म म्याराथनको आयोजना गरिएको प्रचार संयोजक खगेन्द्र अधिकारीले बताए। भारतका समेत गरी २ सयभन्दा बढी धावकको म्याराथनमा सहभागिता हुने अधिकारीले बताए। फुङलिङवासीले नगर तथा बजार क्षेत्र बेहुली झैं सिंगारेका छन्। प्रत्येक घरअघि घडा सजाइएका छन्। ध्वजापतका र आकर्षक गेटले बजार रंगीन बनेको छ।