प्रधानमन्त्री ओलीले गरे तमोर लिफ्ट खानेपानी आयोजनाको उद्घाटन
फिदिम : प्रधानमन्त्री केपी ओलीले पाँचथरको कुम्मायक गाउँपालिकामा निर्माणाधिन तमोर लिफ्ट खानेपानी आयोजनाको उद्घाटन गरेका छन् । देशकै नमुना र ठूलो आयोजनाको रुपमा चिनिएको खानेपानी उद्घाटन गर्न ओली मन्त्रीको जम्बो टोलीसहित उपस्थित भएर उद्घाटन गरेका हुन् ।
मन्त्रीको जम्बो टोलिसहित उद्घाटन गरिएको उक्त आयोजनाको कामले भने पूर्णता पाउन बाँकी छ ।
उद्घाटन कार्यक्रममा ओलीसहित संविधासभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, खानेपानीमन्त्री बिना मगर, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्बाङ, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोको उपस्थिति थियो । उद्घाटनपछि छोटो मन्तव्य राखेर ओलीसहित मन्त्रीको टोली तेह्रथुमका आठराईतर्फ गएको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अब दिदिबहिनीका दुःखका दिन गएको उल्लेख गरे । ‘अब दिदीबहिनीले ढाड दुखाउनु पर्दैन,’ ओलीले भने, ‘मैले ५० वर्ष पहिले उकाली ओराली गर्दा देखेको यहाँको समस्यालाई बल्ल समाधान गर्न सकिएको छ ।’
देश समृद्धिको यात्रामा अघि बढेकाले पहाडका कुना कन्दरामा विकासका मुहान फुटाउदै लैजाने ओलीको भनाइ थियो । राजनीतिक भाषाण नगरी आफ्नो मन्तव्य टुंग्याएका ओलीले आउँदो भेटमा धेरै बोल्ले उल्लेख गरे ।
कार्यक्रमलाई संविधानसभा अध्यक्ष सुबास नेम्बाङ, खानेपानीमन्त्री बिना मगर, भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्बाङले सम्बोधन गरेका थिए । सम्बोधनपछि ओलीसहित मन्त्रीको टोली ओलीको जन्मस्थान तेह्रथुमको आठराईमा रहेका जन्मघरतर्फ गएका छन् । उक्त टोलीमा ओलीकी पत्नी राधिका शाक्य ओली र बुवा मोहनप्रसाद ओली रहेका छन् ।