मुस्ताङमा मलेसियन पर्यटकको लेक लागेर मृत्यु
जोमसोम : मुस्ताङमा आईतबार एक मलेसियन पर्यटकको लेक लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक बिनोद पौडेलका अनुसार पासपोर्ट नम्बर ४०८२९०२६ भएका ६२ वर्षीय राजा लिङ्गम थेन्चाथम्दीको मुक्तिनाथ दर्शन गरी फर्किने क्रममा लेक लागेर मृत्यु भएको हो ।
मृतक राजा लिङ्गम श्रीमती र केही आफन्तसहित मुक्तिनाथ दर्शन गर्न आइतबार जोमसोम आइपुगेका थिए । जोमसोमबाट मुक्तिनाथ पुगेर फर्किने क्रममा बिहान करिव १० बजे वारागुङ मुक्तिक्षेत्र–१ को मुक्तिक्षेत्र हेलिप्याड नजिक अचानक बेहोस भइ उनी ढल्न पुगेको र उनलाई तत्काल उपचारका लागि जोमसोम अस्पताल ल्याई पुर्याँउदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।
मृतक मलेसियन नागरिक राजा लिङ्गमको शवलाई पोस्टमार्टमका लागि काठमान्डौंको टिचिङ हस्पिटलमा लगिएको प्रहरी निरीक्षक पौडेलले बताए । लेक लागेर मृत्यु भएका राजा लिङ्गमको मृत्य हुनुको कारण बारेमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।