आमा निमित्त वडाध्यक्ष, काम गर्ने छोरा
विराटनगर : मोरङको जहदा गाउँपालिका–१ को निमित्त वडाध्यक्षको जिम्मेवारी सदस्य लीला सरबरियाले पाएकी छन्। तर, वडाका सबै काम छोरा विनोदकुमारले गर्दै आएको पाइएको छ। निर्वाचित वडाध्यक्ष हत्या अभियोगमा पुर्पक्षका लागि कारागार चलान भए। त्यसपछि कार्यवाहकको जिम्मेवारी पाएका वडासदस्य उमेशकुमार साहलाई पनि अख्तियारले घुस रकमसहित पक्राउ गरेपछि वडाको जिम्मेवारी सरबरियामा सरेको हो। सामान्य लेखपढ मात्रै जान्ने सरबरियाका छोराले वडाध्यक्षले गर्ने सबै काममा हस्तक्षेप गरेको वाडाका कर्मचारी बताउँछन्।
‘कुनमा हस्ताक्षर गर्ने कुनमा नगर्ने, कुन योजनामा सही गर्ने र कसलाई रकम दिनेसमेत छोराको इसारामा मात्रै सरबरियाले गर्छिन्,’ एक कर्मचारीले भने, ‘पूरै काममा छोराको हस्तक्षेप छ।’ आपूm र आफन्तअनुकूल मात्रै काम गर्ने र गर्न लगाउने भएकाले गाउँमा सरबरिया पनि विवादित भएकी हुन्। उनका छोराले गरेको हस्तक्षेपका विषयमा कर्मचारीले बताउने गरे पनि नाम भने असुरक्षित हुने भन्दै बताउन चाहँदैनन्।
कर्मचारीसँग हुने छलफलमा र बैठकमा समेत आमासँगै कुर्सी राखेर बस्ने, आमाले भन्दा पनि छोराले नै बोल्ने र आमाले पनि सोहीअनुसार कर्मचारीलाई बताउने गर्छिन्। हस्ताक्षर गर्नुपर्ने स्थानमा निमित्त वडाध्यक्ष नलेखी वडाध्यक्ष नै लेख्न र सही गर्न छोरा विनोदले कर्मचारीलाई दबाब दिने र आमालाई पनि वडाध्यक्ष लेखेर सही गर्न लगाउने गरेको कर्मचारीको भनाइ छ। केही समयअघि मात्र स्थानीय एक समाजसेवीकी आमाको मृत्यु हुँदा श्रद्धाञ्जलीपत्रमा समेत वडाध्यक्ष उल्लेख गरेर सरबरियाले हस्तान्तरण गरेकी छन्।
बैठक र छलफलको फोटोसमेत खिच्न नदिने गरेको कर्मचारी बताउँछन्। निमित्त वाडाध्यक्ष लीलादेवी सरबरियाले भने आफू कर्मचारीसँग समन्वय गरेर वडाको काम गर्ने गरेको प्रतिक्रिया दिइन्। ‘कर्मचारीलाई सोध्छु हुने काम मात्रै गर्छु, छोराको हस्तक्षेप होइन’, उनले भनिन्। उनका छोरा विनोदले भने आपूmले हस्तक्षेपभन्दा पनि सल्लाह दिने गरेको बताए। ‘आमाले बुझ्नुहुन्न भनेर मैले भनेको हुँ,’ हस्तक्षेप होइन,’ विनोदले भने।
बारम्बार विवादमा पर्ने यस वडाका जनप्रतिनिधि अहिले छोराको इसारामा चलेको भन्दै विवादित छन्। हत्या अभियोगमा निर्वाचित वडाध्यक्ष प्रदीप यादव कारागार चलान भए, त्यसपछिका कार्यवाहक वडाध्यक्ष उमेशकुमार साहलाई सडक स्तरोन्नतिका लागि ठेक्का दिन २१ हजार नगद घुससहित अख्तियारले पक्राउ गरेको थियो।