दक्षिण कोरियामा कामदार पठाउन बन्द

दक्षिण कोरियामा कामदार पठाउन बन्द

काठमाडौ : दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि नेपालबाट कामदार पठाउन बन्द गरिएको छ। परिस्थिति सामान्य नभएसम्म कोरियामा कामदार नपठाइने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले जानकारी दिए। ‘तत्काललाई कोरियामा कामदार पठाउन स्थगित गरिएको छ’,उनले भने,‘परिस्थिति सामान्य भएपछि पठाइनेछ।’ अहिले कोरियामा कोरोना भाइरसको संक्रमण विस्तार भइरहेको छ।

मन्त्रालयले सरोकारवालासँग छलफल गरी तत्कालका लागि कामदार नपठाउने जनाएको हो। ईपीएस कोरिया शाखा र कोरियाको रोजगारदाता कम्पनीले समेत केही दिनअघिदेखि करार सम्झौता भइसकेका कामदारको टिकटको समय सार्दै आएका थिए। कोरियाको थेगु सहरमा कोरोना भाइरस भेटिएपछि नेपालले कामदार पठाउन रोकेको हो। थेगु दक्षिण कोरियाको उत्तरतर्फ पर्छ।

चीनदेखि कोरिया नजिक भएकाले पनि कोरोनाको असर बढी देखिएको हो। चीनभन्दा कोरियामा कोरोनाको असर तीव्रगतिमा फैलिएका कारण त्रास फैलिएको छ। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले फागुन १८ गते उडान निश्चित भएका ५० जना कामदारलाई नपठाइने बताए। प्रधानमन्त्री कार्यालयमा स्वास्थ्य, परराष्ट्र र श्रम मन्त्रालयका अधिकारी सम्मिलित बैठक बसेको थियो। दक्षिण कोरियाको वास्तविक अवस्था बुझेर मात्र निर्णय लिइने बैठकले निर्णय गरे पनि तत्काल कामदार नपठाइने निश्चित जस्तै भएको छ। ‘अहिलेको अवस्थामा कसैले पठाउभन्दा पनि पठाउन सक्ने अवस्था छैन्’, दाहालले भने।

वैदेशिक रोजगार विभाग अन्तर्गत रहेको ईपीएस कोरिया शाखाका अनुसार एक हजार दुई सय नौ जनाको कन्ट्र्याक आइसकेको छ। गत वर्ष यस अवधिमा एक हजार पाँच सयभन्दा बढीको कन्ट्र्याक आएको थियो। शाखाका अनुुसार फागुन १८ गते एक सय ६२ जनाको उडान तालिका राखिएको थियो। ती सबै १८ गते नै उड्ने नभइ क्रमशः उड्ने गरी तालिका राखिएको थियो। यो सिजनमा धेरै नेपाली कोरिया जाने गर्छन्। कोरोना भाइरसको सक्रमण देखिएसँगै चीन, जापान र थाइल्यान्डबाटसमेत कोरिया प्रवेश गर्न रोक लगाइसकेका छन्।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत गएका ४० हजार कामदार र अध्ययन गर्न गएका विद्यार्थी गरी ५० हजार नेपाली कोरियामा कार्यरत छन्। कोरियामा आप्रवासी कामदारको संख्या २५ लाख रहेको बताइन्छ। दक्षिण कोरियाको प्रायः सबै क्षेत्रमा नेपाली कामदार रहे पनि तुलनात्मक रूपमा थेगु क्षेत्रमै बढी कामदार कार्यरत छन्। कोरोनाको संक्रमण भेटिएपछि कोरियाका अधिकांश कम्पनीमा कार्यरत श्रमिकलाई समस्या परेको छ। उनीहरूलाई सहज रूपमा हिडँडुल गर्न दिइएको छैन। कोरोना भाइसरबाट सुरक्षित रहन कार्यरत क्षेत्रमै मास्क लगाउन अनुरोध गरिएको छ। सार्वजनिक सभा नगर्न, सिनेमा घर, चर्च, रेस्टुराँ र बजार जाँदासमेत सजगता अपनाउन आग्रह गरिएको छ।

कोरियाले अवैधानिक रूपमा बसेका कामदारलाई समेत निःशुल्क भिसा दिएको छ। दूतावासका अनुसार अवैधानिक रूपले कोरिया बसेका विदेशीलाई समेत परीक्षण गराउँदा कानुनी हैसियत नखोजिने जनाइएको छ। कोरियाले त्यस्ता कामदारलाई पक्राउ नगर्ने, स्वदेश नफर्काउने नीति लिएको छ।

फागुन १२ सम्म दक्षिण कोरियामा कोरोना ( कोभिड–१९) बाट संक्रमित संख्या आठ सय ३३ पुगेको छ। सात जनाको मृत्यु भइसकेको छ। अवस्था हेरी केही दिनमै आपतकाल घोषणा गर्ने कोरिया सरकारको तयारी रहेको सञ्चारमाध्यमले जनाएका छन्। अहिलेसम्म कुनै मुलुकले आफ्ना नागरिकलाई स्वदेश फर्काएका छैनन्। कोरियाबाट उद्धार गर्नुपर्ने अवस्था आए समस्या हुन सक्ने औंल्याइएको छ। महानिर्देशक दाहालका अनुसार उद्धार गर्नुपर्ने अवस्था आए चुनौतीपूर्ण अवस्था छ।

कोरिया सरकारले शनिबार नै सबै देशका दूतावासमा पत्राचार गरी आशंका लागेका व्यक्तिलाई स्वास्थ्य परीक्षण गर्न अनुरोध गरेको थियो। यसैबीच नेपाली राजदूतावास सिओलले आइताबार सूचना जारी गर्दै कोरोनाबाट बच्न सतकर्ता अपनाउन आग्रह गरेको छ। वैदेशिक रोजगारीमा क्रममा सबभन्दा धेरै जाने मुलुक यूएईमा समेत सक्रमण देखिएको छ। यूएयमा थप जोखिम आए वैदेशिक रोजगारी पूर्ण रूपमा प्रभावित हुने आशंका गरिएको छ। लेबनान र इजरायलसहित ३० देशमा कोरोना भाइरसको सक्रमण फैलिएको छ। चीनबाहेक अन्य मुलुकमा भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार पाँच सय पुगिसकेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.