दुई महिनापछि खुले विद्यालय
जोमसोम : मुस्ताङका विद्यालय २ महिनापछि खुलेका छन्। अत्यधिक हिमपात र जाडोले बन्द भएका स्कुलमा फागुन १ देखि विद्यार्थी भर्ना अभियान सुरु भएको छ।
मुस्ताङको तल्लो क्षेत्रका ३ स्थानीय तहका स्कुल बर्सेनि हिउँदमा २ महिना बन्द हुन्छन् तर उपल्लो मुस्ताङको २ स्थानीय तहका भने मंसिर महिनामा चालु शैक्षिकसत्र सकेर नयाँ सत्रको पढाइ थाल्छन्। उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका २० सामुदायिक र ४ गुम्बा विद्यालय नयाँ सत्रको पढाइका लागि बेंसी झर्छन्। पुस र माघमा अत्यधिक हिमपात र जाडो हुने भएकाले र त्यहाँका अभिभावक पनि घुम्ती व्यापार गर्न बेंसी झर्ने परम्परा रहेको छ।
जाडोमा उपल्लो मुस्ताङका स्कुल घुम्ती पठनपाठन गर्न पोखरा जाने गरेको शिक्षा विकास तथा समन्वय एकाइ मुस्ताङका कार्यालय प्रमुख टंकराज बरालले बताए। तल्लो मुस्ताङका ३ गाउँपालिकाले जाडो बिदा भनेर पुस र माघ स्कुल बन्द गर्ने गरेको उनले बताए। उनका अनुसार हिउँदे बिदामा रहेका ३५ स्कुलमा फागुनदेखि अध्यापन सुरु भएको उल्लेख गरे। उनका अनुसार थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका स्कुलले बिदापछि नयाँ सत्रको पढाइ थालेका छन्। बिदामा रहेका शिक्षक पनि फर्किसकेको उनले उल्लेख गरे।
उपल्लो मुस्ताङमा दसैंअघि १५ दिन र घुम्ती कक्षापछि ४५ दिन स्कुल बिदा हुन्छन्। घुम्तीमा बेंसी झरेकाको पढाइ फागुन १५ मा सकेर वैशाख १ मा सुरु हुने उनले बताए। २ महिनापछि खुलेको जोमसोमको जनहित माविले भर्ना अभियान र पढाइ थालेको प्राचार्य रामचन्द्र अधिकारीले बताए।