मनाइयो सम्यक् महादान पर्व

मनाइयो सम्यक् महादान पर्व

ललितपुर : ललितपुरका बासिन्दाले सम्यक महादान पर्व मनाएका छन्। प्रत्येक पाँच वर्षमा मनाइने यो पर्वमा दान गर्दा अरू बेलाभन्दा बढी पुण्य कमाइने विश्वास छ। यो पर्व फाल्गुण शुक्ल तृतीयाका दिन मनाउने गरिन्छ। त्यस हिसाबले यसपटक बुधबार सुरु भई बिहीबार सम्पन्न भएको हो। यसलाई दीपंकर पर्व भनेर पनि चिनिन्छ। हजारौं श्रद्धालुले दीपंकर बुद्धको प्रतिमा, देवदेवी आदिको पूजा गर्नुका साथै दान गरेका थिए।

यो पर्वसँग जोडिएको एउटा रोचक कथा छ। नागबहालमा हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) स्थापना गर्ने राजा भाष्करदेव बर्माका सन्तान थिए, भलिभारो। उनी एकदमै गरिब थिए। त्यसकारण उनले पत्नीलाई थाहा नदिई गाईको गोबर भण्डारमा राख्न थाले। उनी यो कुरा पत्नीले थाहा पाउलिन् भनेर सचेत थिए। त्यसैले भण्डारमा सधैं ताला लगाउँथे र साँचो लुकाउँथे।

एकदिन उनले साँचो लुकाउन बिर्सिएछन्। साँचो छाडेर बागमतीमा स्नान गर्न गएछन्। त्यसै बखत पत्नीले कौतुहलताका साथ हतारहतार भण्डार खोलेर हेरिन्। उनी पतिले आफूलाई थाहै नदिई भण्डारमा सुन थुपारेर राखेको देखेर आश्चर्यमा परिन्। भलिभारो स्नान गरेर आउनासाथ भण्डारमा सुन देखेको कुरा सुनाइन्।

यस्तो कुरा सुनेर भलिभारो आश्चर्यमा परे। गोबर सुनमा परिणत भएकोमा उनी खुसी देखिए। उनले पत्नीलाई बुद्धप्रति श्रद्धाभाव र दानपुण्यका कारण गोबर सुनमा बदलिएको सुनाए। त्यसै धनबाट सम्यक महादान पर्व सुरु भएको कथन छ। यसलाई निरन्तरता गर्न गुठी स्थापना गरिएको थियो। र, हिरण्यवर्ण महाविहारलाई जिम्मा लगाइएको हो।

यस पर्वमा नेवार बौद्ध परम्पराअनुसार शाक्य र बज्राचार्य भिक्षु तथा काठमाडौं, भक्तपुर, कीर्तिपुर, चोभारलगायत ठाउँबाट १ सय २६ देवदेवीलाई नागबहाल पुर्‍याई सम्यक महादान गरिन्छ। सम्यक महादान पर्व आयोजक समितिका प्रचारप्रसार विभागका संयोजक लोकरत्न शाक्यले यो पर्व १८६१ सालदेखि प्रत्येक वर्ष मनाइँदै आएको बताए। तत्कालीन राजा रणबहादर शाहले गुठीको जग्गा सरकारीकरण गर्न थालेपछि आयस्रोत कम भएको र त्यसैले प्रत्येक पाँच वर्षमा मनाउन थालिएको उनको भनाइ छ।

विभिन्न विहारहरूबाट ल्याइएको दीपंकर बुद्ध तथा देवदेवीलाई बुधबार साँझ ७ बजे पाटन दरबार क्षेत्रमा जम्मा गरिएको थियो। दरबारबाटै बाजागाजासहित नचाउँदै नागबहाल पुर्‍याइने परम्परा रहेको पर्वमा संलग्न सुरजवीर बज्राचार्यले बताए।

सम्यक महादान पर्वमा दान गर्दा साँच्चै पुण्य कमाइन्छ भन्ने मान्यता राख्छन् ललितपुरका राजु महर्जन। ‘अरू बेला दिइने दानभन्दा आज दान गर्नु सार्थक हुन्छ, त्यसैले यहाँ आएको हुँ’, उनले भने।

उनीजस्तै हजारौं श्रद्धालुले दान गरेका थिए। चामल, धान, फलफूल र पैसा दान दिए। ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन तथा नेपाल भ्रमण वर्षका संयोजक सुरज वैद्य सम्यक महादानका लागि पुगेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.