पर्यटक पर्खिरहेको टिटी ताल
मुस्ताङ : मुस्ताङको थासाङ ५ टिटी गाउँमा अवस्थित मनोरम प्राकृतिक दृष्यले भरिएको टिटी ताल संरक्षणको अभाव र प्रचार-प्रसारको कमीले ओझेलमा छ। म्याग्दी र मुस्ताङको सीमाक्षेत्र घाँसा हुँदै मुस्ताङ प्रवेश गरेका कतियप पर्यटक टिटी तालबारे अनविज्ञ हुन्छन् । बेनी जोमसोम सडकको छाक्ताङदेखि पूर्वतर्फ कालिगण्डकी नदी पारी ३ किलोमिटर पैदल यात्रा गरे टिटी ताल आइपुग्छ।
समुन्द्री सतहदेखि २६ सय ७९ मिटर उचाइको टिटी ताल जैवीक महत्वको ताल हो । टिटी गाउँमा करिब १५-२० घरधुरी छन्, जहाँ ३ घरधुरी थकाली छन् । यहा पर्यटक लक्षित ३ वटा होटल मात्र छन् । गाउँको ५० मिटर दक्षिणतर्फ लागियो भने टिटी ताल आइपुग्छ । तालको चारैतिर ठूला-ठूला सल्ला र धुपीका रुख छन् ।
तालमा १ सय ८६ प्रजाती चराको बासस्थान छन् भने ३ प्रजातीका हास देख्न पाइन्छ । खर्कमा रहेका याकचौरीलाई पनि तालमै ल्याएर पानी खुवाइन्छ । पछिल्लो समय अन्धाधुन्द सडक विस्तारले जैविक महत्वको यस ताल संकटमा पर्न थालेको अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापका कार्यालय प्रमुख तुलसी दाहालले बताए ।
मानव सहजताका लागि विकास आवश्यक भएपनि पर्यावरणीय सन्तुलन प्रतिकुल हुने गरी सडक खन्न नहुने उल्लेख गरे । एक्याप तथा अन्य सरोकारवाला निकायले बेलाबेलामा मुस्ताङका तालतलैयाको संरक्षणमा गर्दै आइरहेको उल्लेख गरे।
एक्याप प्रमुख दाहाले टिटी ताललाई सिमसार तालको रुपमा सूचिकृत गर्न पहल गरिनुपर्ने सुझाए । उनले ३ महिनाभन्दा बढी निरन्तर पानी रहने क्षेत्रलाई सिमसार भनिने र टिटी तालमा पानीको सिंचित श्रोत भएकाले जमिनले पानी रिचार्ज गर्दै आइरहेको जानकारी दिए ।
उनले समुन्द्री सतहको ६ मिटर गहिराई भएको भूगोल सीमसार भएको जनाए । ' यो क्षेत्र सिमसार क्षेत्र हो । तालको श्रोतनै जमिन हो,' उनले भने, 'विश्वकै परिवेशमा सिमसार क्षेत्रले ठूलो योगदान दिन्छ । टिटी तालमा जमिन र तालको सम्बन्धको योगदान सिमसारले पुर्याएको छ ।'
तालको सिमसार जैविक विविधताले सांस्कृति,प्राकृतिक,रसायनिक र जैविक फाइदा पुर्याएको र यसले खोला नाला र खेतीयोग्य जमिनलाई सिञ्चित गर्न योगदान दिएको एक्याप प्रमुख दाहालको भनाई छ ।
टिटी ताल सिमसारले जैविक तथा चरा प्रजातीको बासस्थानका लागि सहयोग पुर्याएको डिभिजन वन कार्यालय मुस्ताङका कार्यालय प्रमुख रुक्माङ्गत सुवेदीले जानकारी दिए । उनले नेपालमा १० ताललाई सिमसारक्षेत्रमा सूचिकृत भएको जनाउँदै टिटी ताललाई पनि सूचिकृत गर्न सके पर्यटक बढ्ने दावी गरे ।
एक्यापको अध्ययन अनुसार २ दिनमा १ सय ८६ प्रजातीका चरा टिटी ताल रहेको पुष्ठि गरेको थियो । तालभित्र कमन मलाटले बच्चा प्रजनन् गर्ने ठाउँ रहेको छ । तालमा चराको बासस्थानका लागि घासे गुड बस्ती छ । जहाँ विभिन्न जातका चरा बस्छन् भने तालमा आपसमा क्रिडा गर्छन् ।
थासाङ-५ को टिटी ताल पवित्र तालको रुपमा लिइएको छ । हरेक बर्षको श्रावण पूर्णिमा तिथिमा तालमा स्थानीयले हंस बराहीको पुजाआजा गर्ने गरेको स्थानीय विकल परियारले जानकारी दिए । यहा सन्तान नभएका जोडीले बर मागेमा सन्तान लाभ हुने धार्मिक विश्वास रहेको उनले खुलाए ।
जैविक योगदानका लागि महत्वपूर्ण चरा र हाँस मारेमा अनिष्ठ हुने उनको भनाई छ । उनले खिन्नता प्रकट गर्दै भने,'चारैतिर हिमाल र हरियाली दृष्यले सुसज्जित सुन्दर ताल हुँदाहुँदै पनि तालको स्तरोन्नति र विकास हुन सकेको छैन । मुस्ताङमा दैनिक सयौं पर्यटक आउँछन् तर ताल एक्लै गुमनाम बसेको छ । पर्यटक भित्र्याउन प्रचार/प्रसार भएन ।'
उनले ताल अवलोकनका लागि विदेशी पर्यटक आउने गरेपनि आन्तरिक पर्यटकको आगमन न्युन रहेको सुनाए । उनले बर्खायाममा कालिगण्डकीमा पक्की पुल नहुँदा ताल हेर्न आउने पर्यटकलाई कठिनाइ भएको बताए । उनले थासाङको कोखेठाटी र छयोमा पुल बने मुस्ताङ आउने पर्यटकले टिटी ताल आउन कुनै कठिनाई नहुने जनाए ।
बिहीबार अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप मुस्ताङ, नेपाली सेना ,स्याउ जोन कार्यालय ,डिभिजन बन र विभिन्न सरोकारवाला निकायले तालको सरसफाइ गरेका छन् । ताल सफा गर्न करिब १ सय जनाको उपस्थिति रहेको एक्यापले जनाएको छ ।