कार्यकाल सकिने बेला देउवाको अनौठो दाउ !

कार्यकाल सकिने बेला देउवाको अनौठो दाउ !

काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको चार वर्षे कार्यकाल सकिन केहि दिन मात्र बाँकी छ। देउवाको चार वर्षे कार्यकाल यही फागुन १९ गते सकिँदैछ। तर कार्यकाल सकिने बेला देउवाले सक्रियता बढाएका छन्। महाधिवेशन भएको केही महिनापछि गठन गर्नुपर्ने विभागलगायतका सांगठनिक कामहरु बल्ल सुरसार गरेका छन्। अर्को वर्ष फागुन ७ देखि १० गतेसम्म पार्टीको १४ औं महाधिवेशन गर्ने गरी एक वर्ष केन्द्रीय समितिको कार्यकाल थप गरिएको छ। सोमबारसम्म पार्टीको केही विभाग गठन गर्नेदेखि केन्द्रीय सदस्य थप गर्ने तयारी सभापति देउवाको छ।

पार्टी १४ औं महाधिवेशनको तयारीमा जुटेका बेला सभापति देउवा आफूनिकट नेताहरुलाई पार्टीमा भूमिका दिने गरी अन्तिम समयमा विभाग गठन गर्न लागेका हुन्। उनले शुक्रबार अपरान्ह वरिष्ठ नेता रामचन्द्र पौडेललाई टेलिफोन गरेर विभागमा बस्ने नेताको नाम दिन आग्रह गरे। तर नेता पौडेलले भने अधिवेशन गर्नुपर्ने बेला विभाग गठनको औचित्य नरहेको भन्दै सभापति देउवालाई विभागमा बस्ने नेताको नाम दिन अस्वीकार गरेका थिए। ‘अब विभाग किन चाहियो? अधिवेशनमा जुट्नुपर्ने बेलामा विभाग गठनको कुरा स्वीकार्य हुँदैन,’ पौडेलले देउवालाई भने, ‘विधान अनुसार ६ महिनाभित्र अधिवेशन गरिसक्नुपर्ने भन्नेछ। तर अहिलेसम्म गर्नुभएन। अब विभाग गठनको आवश्यकता छैन।’

कांग्रेसमा विधान अनुसार विभाग संख्या २८ रहेकोमा सभापति देउवाले ४७ पुर्‍याएका छन्। विभाग गठनका लागि कांग्रेसमा पटकपटक छलफल हुँदै आएको छ। सभापति देउवाले सोमबारसम्म केही विभाग गठनको तयारी अगाडि बढाएका छन्। उनले विभागमा बस्ने नेताहरुको अन्तिम सूची तयार गर्न आफूनिकट केही केन्द्रीय सदस्यहरुलाई जिम्मा दिएका छन्। ‘केहि दिनभित्र प्रचार, जनसम्पर्क, संगठन विभागलगायत गठन गर्ने तयारी छ,’ देउवा निकट एक केन्द्रीय सदस्यले भने, ‘बाँकी विभाग पनि चाँडै टुंगो लगाइनेछ।’

सभापति देउवाले विभाग गठनबारे छलफल गर्न शुक्रबार आफूनिकट केही नेताहरुसँग छलफल गरेका थिए भने बिहीबार उपसभापति विमलेन्द्र निधिले नेता पौडेललाई भेटेर विभाग गठनको तयारीबारे जानकारी गराएका थिए। तर पौडेलले भने विभाग गठनप्रति नै अहमति जनाएका थिए। शुक्रबार सभापति देउवासँगको टेलिफोन कुराकानीमा पनि पौडेलले आफूहरुको असहमतिका बीच विभाग गठन गरेर पार्टीमा विवाद नल्याउन आग्रह गरेका थिए। ‘हामी पार्टीमा विवाद ल्याउनुहुँदैन भन्ने पक्षमा छौं तर सभापतिज्यू अन्तिम समयमा दाउ छोपेर विभाग गठन गर्ने तयारी गरेर फेरी विवाद निम्त्याउन खोज्दैहुनुहुन्छ,’ वरिष्ठ नेता पौडेलले अन्नपूर्ण अनलाइनसँग भने, ‘बरु पार्टीलाई एक ढिक्का बनाएर सरकारको गलत क्रियाकलापविरुद्ध देशव्यापी आन्दोलनमा लाग्नुपर्छ भनेर मैले सभापतिज्यूलाई भनेको छु। जवर्जस्ती सहमतिवेगर विभाग गरियो भने हामी मान्दैनौं।’

संस्थापनपक्ष भने पार्टी केन्द्रीय कार्यसमितिको समय एक वर्ष थप भइसकेकाले विभाग गठन गर्नुपर्नेमा जोड दिँदै आएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिमै विभाग गठन हुने दावी गरे। ‘सहमतिका लागि नेताहरुले प्रयास गरिरहनुभएको छ, सबैको सहमतिमै विभाग बन्छन्,’ उनले भने, ‘प्रवक्ताको हैसियतले पनि विभाग गठन हुनुपर्छ भन्ने पक्षमा म छु।’ उनले सबै विषयमा प्रवक्ताले जवाफ दिन सम्भव नहुने भन्दै विभाग गठन भए सम्बन्धित विषयमा विभागले नै आफ्नो दृष्टिकोण सार्वजनिक गर्दा उपयुक्त हुने बताए।

प्रत्येक विभागमा बढीमा ५१ जना सदस्य रहने विधानमा प्रावधान छ। विभाग गठन नहुँदा ठूलो संख्यामा कांग्रेसका नेता कार्यकर्ता बेरोजगार बन्दै आएका छन्। विभाग गठन भए कांग्रेसका करिब २५ सय नेता कार्यकर्ताले भूमिका पाउनेछन्। सदन र सडकमा प्रमुख प्रतिपक्षीको भूमिका कमजोर भएको भन्दै आलोचना भइरहेका बेला विभाग गठनले पार्टी संगठनलाई सक्रिय बनाउने संस्थापनपक्षको दावी छ।

कांग्रेसको विधानमा पार्टी सभापतिले विभागका प्रमुख, उपप्रमुख, एक जना सचिव र सदस्यहरूको नियुक्ति गर्ने प्रावधान छ। पार्टीको भ्रातृ र शुभेच्छुक संस्थालाई सम्बन्धित विभागले समन्वय गरी क्रियाशील गराउने भएकाले पनि पार्टीलाई गतिशील बनाउन विभागको महत्व देखिन्छ।

केन्द्रीय सदस्य थपिँदै
सभापति देउवाले पार्टी एक दर्जन केन्द्रीय सदस्य थप गर्ने भएका छन्। २०७४ साल असोज ३० गते तत्कालीन फोरम लोकतान्त्रिकसँगको पार्टी एकता हुँदा गच्छदारसहित १२ जनालाई केन्द्रीय सदस्य बनाउने समझदारी भएको थियो। गच्छदारले यसअघि नै उपसभापतिको जिम्मेवारी पाइसकेका छन् भने उनले बाँकी ११ जनाको नाम केन्द्रीय सदस्यका लागि पार्टी कार्यालयलाई बुझाएका थिए। रामजनम चौधरी, मोहम्मद नसिर सिद्धिकी, योगेन्द्र चौधरी, गोपाल दहित, यशोदाकुमारी लामा, कृष्णप्रसाद दुलाल, हरिप्रसाद न्यौपाने, जनक चौधरी, गणेश लामा, मंगल थारू, वीरेन्द्र नेपालीसहित ११ जनाको नाम गच्छदारले बुझाएका थिए। गणेश लामाको नाममा कांग्रेसभित्रै विवाद भएपछि सभापति देउवा आइतबारसम्म उनीबाहेक बाँकीलाई केन्द्रीय सदस्यमा मनोनित गर्न लागेको कांग्रेसका एक नेताले बताए। त्यस्तै तीन आमन्त्रित केन्द्रीय सदस्य पनि मनोनित हुने ती नेताले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.