रेमिट्यान्स अनुत्पादक क्षेत्रमै
सन्धिखर्क : भूमिकास्थान नगरपालिका–४ साना औवलकी जुना सुनारलाई देशबाहिरबाट आफन्तले पठाएको पैसा लिन सदरमुकाम जानुपर्दैन। गाउँकै सहकारीले रेमिट्यान्स दिने व्यवस्था मिलाएका छन्। पहिला सदरमुकाम धाउँदा एक हजारभन्दा बढी रकम खर्च हुन्थ्यो। निकाल्दा खर्च नभए पनि उनका श्रीमान्ले हरेक महिना पठाउने पैसा फजुल खर्चमै सकिन्छ।
उनको परिवारमा मात्रै होइन अर्घाखाँचीमा विदेशबाट भित्रिने रेमिट्यान्सको अधिकांश हिस्सा फजुल र विलासिताका वस्तुमा खर्च भएको छ। अर्घाखाँची प्रदेश ५ कै सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने जिल्लामध्ये पर्छ। अर्घाखाँचीबाट झण्डै ४५ हजार युवा भारत, कतार मलेसिया, साउदी अरब, दुबईलगायत देशमा गएका छन्। साथी बचत तथा ऋण सहकारी र अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संस्थाले गरेको अनौपचारिक सर्भेक्षणमा जिल्लामा भित्रिएको रेमिटान्सको ८० प्रतिशत रकम विलासिता र अनुत्पादक क्षेत्रमा खर्च भएको देखिएको छ।
केही गर्ने खालको युवा जनशक्तिलाई अर्काको देशमा पठाएर आएको पैसोको सदुपयोग गर्ने खालको योजना कुनै पनि स्थानीय सरकारको छैन। स्थानीय सरकारले नयाँ योजना र व्यावसायिक हुने खालका तथा स्वरोजगारमुखी कार्यक्रम ल्याउन नसक्दा पनि रेमिटान्सको पैसा जताबाट आयो उतै खर्च भएर जाने गरेको हो।
अर्घाखाँचीमा रहेका १५ वटा बैंक र तिनका शाखा गरी २० वटा बैंक छन। ती बैंकमध्ये १८ वटाले रेमिटान्सको कारोबार गर्ने गर्दछन्। विभिन्न १३ वटा सहकारी र ४ वटा रेमिट प्रालिले समेत रेमिटान्सको कारोबार गरिरहेका छन।
वार्षिक झण्डै साढे सात अर्ब रुपैयाँ जिल्लामा भित्रने गरेको छ। यसमध्ये तीन अर्ब अर्थात् ४० प्रतिशत रकम दैनिक उपभोग्य सामग्री, खानपान, मोटर साइकल, कार, फेसनअनुसारको लगाउने कपडा, मोबाइल, सञ्चार तथा टेलिफोनमा खर्च हुने गरेको छ।
४० प्रतिशत रकम अर्थात् ३ अर्ब उत्पादन नहुने क्षेत्र घडेरी र घरमा खर्च हुने गरेको देखिएको अर्घाखाँची जिल्ला बचत सहकारी सस्थाका अध्यक्ष तथा साथी बचत तथा ऋण सहकारीका कार्यकारी निर्देशक प्रकाश भुसालले बताए। जिल्ला सदरमुकाम, कपिलवस्तुका विभिन्न भाग तथा रूपन्देहीको बुटबल, भैरहवा, दाङका विभिन्न भाग, चितवनदेखि काठमाडांंैमा समेत गएर घडेरी र घर किन्ने काम भइरहेको सर्वेक्षणमा पाइएको उनले बताए।
बाँकी रहेको २० प्रतिशत रकम मात्र उत्पादनशील क्षेत्रमा खर्च भइरहेको छ। यसबाट कृषि फर्म, साना होटल, किराना पसल र ट्याक्सी तथा बस किनेको पाइएको छ। तर तिनीहरूले पनि बिचैमा व्ववसाय छाडने गरेका छन्।
विदेशमा एक जनाले दुःख गरेर पैसो कमाउने त्यही पैसाले घर परिवार पालिनुपर्ने, विलासिता र खनापान तथा आनिबानीमा भएको परिवर्तनका कारण रेमिट्यान्स उत्पादनशील क्षेत्रमा खर्च हुन नसकेको हो। उत्पादनशील क्षेत्रमा लगानी गर्न तथा विदेशबाट आएर आफ्नै गाउँठाउँमा केही गर्नुपर्छ भन्ने योजना बनाएका युवालाई सहयोग गर्ने खालका योजना बनाउन जरुरी रहेको जानकार बताउँछन्।
गाउँका खेतबारी बाँझै छ। सबै घरमा वृद्धवृद्धा मात्र छन्। अधिकांश श्रीमान् रोजगारीको लागि विदेश र श्रीमती छोराछोरी पढाउने नाममा सहर झरेका छन्। गाउँका घर अहिले वृद्धा श्रममा परिणत भएका छन्। तर पनि गाउँका बजा जमिन जोत्ने र उत्पादन बढाउने खालका योजना स्थानीय सरकारले प्रभावकारी रूपमा सञ्चालन गर्न सकेका छैनन्।
पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले स्वरोजगार र विदेशबाट कमाएर पठाएको पैसा उत्पादनशील व्यवसाय सञ्चालन गर्ने खालको नीति ल्याउन थालिएको बताए। वैदेशिक रोजगारीमा गएका युवाले कमाएको पैसा विलासिता र दैनिक उपभोग्य सामग्रीमा मात्रै खर्च भएकाले उत्पादनमा जोड्नुपर्ने उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए।
भूमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापा पनि त्यही विषयमा जोड दिन्छन्। तर स्थानीय सरकारले पूर्वाधार निर्माणको कामबाहेक अरु योजना बनाउनै सकेका छैनन्। भारतमा गएका १६ सय ६४ जना युवाको निःशुल्क बिमाको कार्यक्रम पनि सञ्चालन भएको छ।