ओमको तेक्वान्दो प्रेम
विष्णु थापा
ओम भण्डारी १२ वर्षका भए। उनी जेनिथ इङ्लिस स्कुलमा कक्षा ६ मा पढ्छन्। विद्यार्थीसँगै उनको अर्काे परिचय पनि छ, खेलाडीको। विद्यालयमा लगनशील र मेहनती विद्यार्थीको परिचय बनाएका उनले तेक्वान्दोको एरिनाभित्र पनि थुप्रै सफलता हासिल गरेका छन्।
उनले पाएका सफलता र हासिल गरेका उपलब्धि उनीजस्तै भाइबहिनीका लागि प्रेरणा बन्न सक्छ। उनी अरू साथीले जस्तो जुनसुकै खेल खेल्न रुचाउँदैनन्। ओमलाई तेक्वान्दोबाहेक अरू खेल मन पर्दैन। स्कुलमा अरू साथी फुटबल, बास्केटबललगायतका खेलमा रमाउँदा उनी एउटा कुनामा बसेर उनीहरूले खेलेको हेरिरहन्छन्। हाफ टाइममा बाहिर निस्किएनन् भने कक्षा कोठामै बसेर कहिले पढिरहने र कहिले आर्ट बनाइरहने गर्छन्।
उनी राम्रो आर्ट गर्छन्। जनावर र एनिमेसन आर्ट बनाउन मन पराउने ओमले बनाएका चित्रहरू निकै आकर्षक छन्। उनलाई तेक्वान्दोपछि अर्को मन लाग्ने विषय आर्ट पनि हो। अन्तरविद्यालय आर्ट कम्पिटिसनमा पहिलो स्थान हासिल गरेका उनी बेस्ट जुनियर आर्टिस्ट पनि बनेका थिए। हार्टल्यान्ड स्कुलले आयोजना गरेको प्रतियोगितामा उनले यस्तो सफलता हात पारेका थिए।
ओम तेक्वान्दो प्रतियोगितामा पनि निरन्तर सहभागी हुँदै आइरहेका छन्। उनी पढाइमा असर नपर्ने प्रतियोगिताहरू भने हत्तपत्त छुटाउँदैनन्। उनी पढाइ नबिग्रिने गरी समय मिलेका प्रतियोगितामा सहभागी भइरहन्छन्।
‘मलाई तेक्वान्दोबाहेक अरू खेल मन पर्दैन’, ओम भन्छन्, ‘सानैदेखि तेक्वान्दो खेलेकाले होला, अरू खेलले कहिल्यै पनि आकर्षित गर्न सकेन।’ उनी जताततै चहारेर धेरै खेल खेल्नुभन्दा एउटै खेलमा समर्पित भएर लागियो भने पछिसम्मै राम्रो हुने बताउँछन्।
ओमले विगत ६ वर्षदेखि तेक्वान्दो खेल्दै आइरहेका छन्। सीतापाइला तेक्वान्दो डोजाङमा नियमित प्रशिक्षण गर्दै आएका उनी दोस्रो डान ब्ल्याकबेल्ट हुन्। उमेरले सानो भए पनि उनले खेलकुदमा हासिल गरेको उपलब्धि भने ठूलै छ। उनले आफ्नो मेहनत र लगनशीलताकै कारण यति ठूलो उपलब्धि हासिल गरेका हुन्।
ओमले तेक्वान्दोका धेरै कला जानेका छन्। मार्सल आर्ट्स खेल्नेहरू आफू बलियो छु भनेर घमण्ड पनि गर्छन्। तर, ओमले कहिल्यै पनि घमण्ड गरेनन्। उनी स्कुलमा सधैं साथीसँग मिलेर बस्छन्। कसैसँग पनि झगडा गर्दैनन्।
काभ्रे मूलाबारीका स्थायी बासिन्दा ओमको परिवार लामो समयदेखि नागार्जुन–४, सीतापाइलामा बस्दै आएको छ।
खेलकुदमा विशेष रुचि राख्ने माधवले छोरा ओमलाई सानैमा खेलकुदमा लगाए। एलकेजी पढ्दादेखि नै ‘दोबक’ लगाएर ‘किक’ हान्न थालेका उनको तेक्वान्दोप्रतिको समर्पण पनि प्रेरणादायी छ। ओम बस्ने घरनजिकै सीतापाइला तेक्वान्दो डोजाङ थियो। डोजाङमा हरेक दिन सेता पोसाक लगाएका मानिस खेलिरहेका उनले देख्थे। उनी धेरैपटक बुवाआमालाई ‘त्यो के गरेको’ भनेर सोधिरहन्थे। तेक्वान्दोप्रति छोराको चासोलाई माधवले पनि बुझे। उनले तुरुन्तै छोरालाई डोजाङमा भर्ना गरिदिए। ओम बुवाआमाले सानैमा आफ्नो इच्छा बुझेर ट्रेनिङमा पठाएकै कारण सफलता हासिल गरेको बताउँछन्।
हरेक बिहान तेक्वान्दो ट्रेनिङ हुने भएपछि उनी स्कुलबाट फर्किएलगत्तै आफ्नो गृहकार्य सकाउँछन्। आफ्ना साथीहरू स्कुलबाट फर्किनेबित्तिकै झोला फालेर खेल्न दौडिँदा उनी भने पढेरै बस्छन्। ‘म धेरै समय पढेरै बस्छु। स्कुलको होमवर्क गर्छु’, ओम भन्छन्, ‘तेक्वान्दोबाहेक अरू खेल खेल्न कहिल्यै पनि घरबाट बाहिर निस्किन्नँ।’
हरेक बिहान ५ बजे उठेर पढ्ने र त्यसपछि ट्रेनिङ गर्न थालेको ६ वर्ष नाघिसकेको छ। वर्षौंदेखि यही काम गरिरहँदा उनलाई अहिले त्यही नै दैनिकीजस्तो लाग्न थालेको छ।
उनी हरेक बिहान ५ बजे आफंै उठ्छन्। उनलाई कसैले पनि उठाइरहनु पर्दैन। बरु उनीसँगै जिममा निस्कने बुवालाई चाहिँ कहिलेकाहीँ उनले उठाउनुपर्छ। ‘बिहान उठ्ने, ट्रेनिङ गर्ने दैनिकीजस्तै भएको छ। बरु कहिलेकाहीँ बिहानै उठेर ट्रेनिङ गर्न पाइएन भने कस्तो कस्तो लाग्छ’, उनी भन्छन्।
ओम सुरुमा तेक्वान्दोको ग्यारोगी (फाइट) र पुम्से (प्रदर्शन) विधामध्ये ग्यारोगी खेल्थे। उनले केही प्रतियोगितामा पदक पनि जिते। तर, उनलाई ग्यारोगीभन्दा पुम्से नै राम्रो लाग्यो। त्यसैले उनले विधा परिवर्तन गरेका छन्। उनी अहिले पुम्से खेल्दै आइरहेका छन्।
ओम पहिलो पटक दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी भएका थिए। काठमाडौंमा आयोजना भएको उक्त प्रतियोगितामा विभिन्न राष्ट्रका खेलाडीले सहभागिता जनाएका थिए। उनले उक्त प्रतियोगितामा पहिलो सहभागितामै स्वर्ण पदक जिते। उनको उमेरसमूहमा विभिन्न राष्ट्रका खेलाडी सहभागी भए पनि उनले आफूलाई अब्बल साबित गरे। त्यसपछि एभरेस्ट तेक्वान्दो च्याम्पियनसिप, प्रकाश दाहाल स्मृति च्याम्पियनसिप र तेस्रो काठमाडौं तेक्वान्दो च्याम्पियनसिपमा पनि ओमले पहिलो स्थान हात पारे।
ओमको इच्छा कुशल खेलाडी बन्ने छ। उनी अहिले त्यही अभियानमा लागेका छन्। बुवाआमाले पनि राम्रो खेलाडी बन्नुपर्छ भन्ने हौसला दिएकाले पनि उनी राम्रो खेलाडी बन्ने अभियानमा छन्। ‘बुवाआमाले राम्रो खेलाडी बन्नुपर्छ भन्नुभएको छ’, उनी भन्छन्, ‘मलाई पनि संगीना वैद्यजस्तै राम्रो खेलाडी बन्ने इच्छा छ।’
प्रतिक्रिया दिनुहोस !