आए सार्कका नयाँ महासचिव
काठमाडौं : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलन नै नगराई बिदा भए महासचिव अम्जद हुसेन बी सियाल। पाकिस्तानका तर्फबाट महासचिव बनेका सियाललाई आफ्नै मुलुकमा शिखर सम्मेलन गराउन पाउने भाग्यमानी कूटनीतिज्ञ बन्ने अवसर थियो। तीन वर्षे कार्यकालमा उनले शिखर सम्मेलन गराउन पाएनन्। माल्दिभ्सका धियना सैयद बीचमै फर्केपछि अहमद सियाल महासचिव बनेका हुन्।
रमाइलो मिजासका महासचिव सियाल स्वदेश फर्कंदा निराश देखिन्थे। ‘सबै मुलुकको पालोमा शिखर सम्मेलन भएको थियो। मेरो पालोमा भएन भन्ने मात्र हो’, फर्कनुअघि अन्नपूर्णसँग सियालले भने, ‘नेपाल बसाई रमाईलो नै भयो। शिखर सम्मेलन नभए पनि अन्य नियमित बैठकहरू भइरहेका छन्। मन्त्रीस्तरीय बैठकहरू भए। सोही बैठककै कारण नयाँ सार्क महासचिव आउन पाउनु भएको छ।’
सार्कको अर्को विकल्प नभएको औंल्याउँदै उनले भने, ‘त्यसैले यसलाई थप चलायमान बनाउँदै अघि बढाउन आवश्यक छ।’ यो क्षेत्रका जनताको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले स्थापित सार्क प्राथमिकताका सहयोगका क्षेत्र प्रवध्द्र्ध गर्न स्थिर प्रगतिमा रहेको बताउँदै सियालले भने, ‘शिखर सम्मेलन नभए पनि अन्य गतिविधिमा सहकार्य भइरहेको छ।’
विभिन्न सम्झौतामार्फत यो क्षेत्रमा आर्थिक, क्षेत्रीय र जनस्तरमा सम्बन्ध विस्तार गर्ने उद्देश्यमा उपलब्धी हासिल भएको पनि उनको दाबी छ। उनी शनिबार साँझ पाकिस्तान फर्केका हुन्। उनको स्थानमा श्रीलंकाबाट बरिष्ठ कूटनीतिज्ञ इसला विराकून आइतबार काठमाडौं ओर्लेका छन्। उनले सोमबार पदवहाली गर्ने छन्।
पाकिस्तानपछि सार्क शिखर सम्मेलन गर्ने पालो श्रीलंकाकै हो। सार्क अध्यक्ष नेपाल र सदस्य मुलुक भारतसँग राम्रो सहकार्य गर्न सके १९ औं शिखर सम्मेलन पाकिस्तान र त्यसको दुई वर्षमा २० औं शिखर सम्मेलन श्रीलंकामा गराउन सक्छन्।
२०७१ मंसिर १० र ११ गते काठमाडौंमा भएको सार्कको १८औँ शिखर सम्मेलनमा सार्कको १९औँ शिखर सम्मेलन पाकिस्तानमा हुने तय भएको थियो। भारत–पाकिस्तानबीचको तनावका कारण १९औं शिखर सम्मेलन अनिश्चित भएको हो।
भारत–पाकिस्तान सम्बन्ध आँकलन गरी महासचिवले खेल्ने भूमिकाले शिखर सम्मेलन तिथि तय गर्ने सार्क सचिवालयका अधिकारीले बताउँछन्। महासचिव भन्दा पनि अध्यक्ष मुलुकको प्रभाव र सार्कका प्रभावशाली मुलुकको रबैयामा शिखर सम्मेलनको टुंगो लाग्ने सार्क निर्देशकहरूको बुझाइ छ।
गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको सार्क साढे तीन दशक पार गर्दा पनि गति लिन सकेको छैन। सदस्य मुलुकबीचको दुईपक्षीय मुद्दाको छाँयामा सार्क पर्दै आएको छ।
आर्थिक समृद्धि र भौतिक विकासका निम्ति आवश्यक पर्ने अपार स्रोत साधनयुक्त दक्षिण एसियाका आठ देशको साझा संगठनले यहाँका करिब दुई अर्ब जनताको समृद्धिको सपना साकार पार्ने उद्देश्य लिए पनि त्यस अनुरुप काम भएका छैनन।
सार्कमा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका सदस्य छन्। सार्कको कान्छो सदस्य अफगानिस्तान सन् २००७ अप्रिलबाट सार्कको आठौं सदस्य बनेको हो। सार्कले सदस्य मुलुकका द्विपक्षीय विषयका कारण अपेक्षित गति भने लिन सकेको छैन।