मध्यपुर महोत्सव हुने
भक्तपुर : भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले ‘मध्यपुर महोत्सव’ गर्ने भएको छ। मध्यपुर थिमी नगर क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले नेपाल भ्रमण वर्षको अन्त्यतिर मध्यपुर महोत्सव हुने भएको हो।
पुरातात्विक, ऐतिहासिक एवं सांस्कृतिक नगर भएर पनि मध्यपुर क्षेत्र पर्यटनका दृष्टिले ओझेल पर्दै आएको छ। काठमाडौं र ललितपुर जाने पर्यटक सीधै भक्तपुर पुग्छन्। तर, काठमाडौं र ललितपुर तथा भक्तपुरको बीचमा रहेको मध्यपुर थिमी पुग्दैनन्। त्यसैले काठमाडौं र ललितपुर पुगेका पर्यटकलाई सीधै भक्तपुर पुग्न नदिई मध्यपुर थिमीमा भिœयाउन महोत्सव गर्न लागिएको मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।
मध्यपुर थिमीको पर्यटन प्रवद्र्धन गर्न चैत १ गते हुने सम्पदा पदयात्राबारे जानकारी दिन ओस्ला नेपालले शनिबार गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख श्रेष्ठले सन् २०२० को डिसेम्बरमा मध्यपुर महोत्सव गरिने बताएका हुन्। ‘अहिले नगर क्षेत्रका सम्पदा संरक्षण र पुनर्निर्माण गरिरहेका छौं’, उनले भने, ‘त्यसैले नेपाल भ्रमण वर्ष २०२० को अन्ततिर मध्यपुर महोत्सव आयोजना गर्ने भएका हौं।’
उनले मध्यपुर थिमीलाई पर्यटकीय गन्तव्यमा सूचीकृत गर्न र गराउन महोत्सव कोसेढुंगा हुने बताए। मध्यपुर महोत्सवको तयारीस्वरुप नै चैत १ गते मध्यपुर थिमी नगर क्षेत्रमा सम्पदा पदयात्रा गर्न लागिएको प्रमुख श्रेष्ठको भनाइ थियो।
ओस्ला नेपालको आयोजनामा हुने उक्त सम्पदा पदयात्राको लागि मध्यपुर थिमी नपाले पाँच लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग गर्ने संस्थाका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए।
मध्यपुर थिमी नपा ४ स्थित शंखधर चोकबाट सुरु हुने पदयात्रा मध्यपुर थिमी नगर क्षेत्र, नगदेश र बोडे परिक्रमापछि नीलबाराहीमा समापन गरिने उनले बताए। ‘बिस्का जात्राअन्तर्गत हुने सिन्दूर जात्राको क्रममा निस्कने ३२ खटमा सवार हुने देवदेवीका सम्पूर्ण मठमन्दिरहरु परिक्रमा गर्छांै’, अध्यक्ष श्रेष्ठले भने, ‘सम्पदा पदयात्रा करिब तीन घन्टा लामो हुने अनुमान गरेका छौं।’
सम्पदा पदयात्राको क्रममा माटोका भाँडा बनाउने तथा चिउरा कुट्ने परम्परागत मिलको जीवन्त प्रदर्शनी हुने ओस्ला नेपालका सचिव रोशन बज्राचार्यले जानकारी दिए। त्यस्तै पदयात्राकै क्रममा परम्परागत महाकाली र अप्सरा नाच प्रदर्शन गरिने उनी बताउँछन्।
‘टोलटोलमा भजनकीर्तन सञ्चालन हुनेछन्’, सचिव बज्राचार्यले थपे। मध्यपुर थिमी काठमाडौं उपत्यकामै रहे पनि पर्यटन तथा सांस्कृतिक रुपले ओझेलमा परेकाले यहाँको सम्पदा र पर्यटन प्रवद्र्धन गर्न पदयात्रा गर्न लागिएको उनले स्पष्ट पारे।