कञ्चनवनमा रंगअविर खेलेेसँगै ‘फगुवा’होली सुरु

कञ्चनवनमा रंगअविर खेलेेसँगै ‘फगुवा’होली सुरु

जनकपुरधाम : ‘खेलैय होरी... हो... खेलैय होरी..., कञ्चनवन में !

रामजीके हातमे कनक पिचकारी...,

सीयाजी’क हातमे अबिर झोरी...

हो... खेलैय होरी... !’

मध्यमा मिथिला परिक्रमा यात्रीले महोत्तरीको भंगहा नगरपालिकास्थित कञ्चनवनमा गाएका होली गीतका हरफ हुन्। होलीलाई मिथिलाञ्चलमा निकै उत्साह, उमंग र उल्लासका साथ मनाइन्छ। अझ मध्यमा मिथिला परिक्रमाअन्तर्गत महोत्तरीको कञ्चनवनमा परिक्रमा यात्रीले एकापसमा रंग, अबिर दलेर राताम्य हुन्छ। कञ्चनवनको परिवेश नै रंगीविरंगी हुन्छ।

डम्फुको तालमा होली गीत गाउँदै यात्रीले रंग, अबिर खेलेको रमाइलो हेरेर बाटो हिँड्ने बटुवासमेत मन थाम्न नसकी होलीमा सरिक हुने गर्छन्।

मिथिलामा माध्यमिकी परिक्रमाको आठौं दिनको वि श्रामस्थल कञ्चनवनमा रंग, अबिर र धुलो खेलेपछि होलीको प्रारम्भ हुने पूर्वप्राज्ञ तथा संस्कृतिविद् डा. रामभरोस कापडी ‘भ्रमर’ बताउँछन्। ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको कञ्चनवनमा त्रेता युगमा राम सिताले होली खेलेको किम्वदन्ती छ। रामसीताले खेलेको होलीको प्रभावकै कारण आजसम्म त्यहाँको माटोरातो भएको मान्यता छ। मिथिला माध्यमिकी परिक्रमाका यात्रीले मिथिला विहारी र किशोरीजी (रामसीता) को डोलामा रंग, अबिर चढाउँदै आपसमा रंग, अबिर खेल्दै दलेपछि मिथिलामा होली (फागु) विधिवत् सुरु हुने राममन्दिरका महन्थ राम गिरि बताउँछन्।

रामसीताको विवाहपछि वनविहारमा निस्केको आठौं दिन कञ्चनवनमा पुगेर रंग, अबिर खेलेको मान्यताअनुरूप १५ दिने माध्यमिकी परिक्रमाका यात्रीले रंग, अबिर छर्दै होली खेल्ने गर्छन्। करिब ३० हजार यात्री कञ्चनवनको होलीमा रमाइलो गर्छन्। हरेक वर्ष परिक्रमामा सरिक हुन अभिप्रेरित गर्दै ऊर्जा दिने गरेको मनमोहन दासले बताए। कञ्चनवनको चारैतिर थुप्रै बिघासम्म देखिने सघन बगैंचाको हरियाली, वरिपरि मधुरो स्वरमा गुञ्जिरहने रामायणकालीन गाथा प्रवचन, होली गीतको माधुर्यता र रंग, अबिरको रमाइलो खेल बिर्सन नसकेको अवधविहारी शरणको भनाइ छ। सीमावर्ती सीतामढी जिल्लाको भारतीय गाउँ गोरहारीका ६५ वर्षीय शरण लगातार १५ वर्षदेखि परिक्रमामा सरिक हुँदै आएको बताउँछन्।

सुख, समृद्धि तथा चारधाम दर्शन गरेवापतको फल प्राप्ति हुने जनविश्वासका साथ यात्रीले नेपालतर्फ १ सय ७ र भारततर्फ ३३ किलोमिटर गरी १ सय ४० किलोमिटर पैदल यात्रा गर्छन्। परिक्रमामा सहभागीले १५ दिन खाली खुट्टा हिँड्ने तथा लसुन, प्याज, माछा–मासु बर्जित गर्ने चलन छ। सो अवधिभर गृहप्रवेश नगरी खुल्ला आकाशमुनि पाल टाँगेर वनवासी जीवन जिउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.