बालबालिकामा विप्रेषणको मार

बालबालिकामा विप्रेषणको मार

समाज धेरै परिवर्तन भइसकेको छ। पारिवारिक माया–ममता, आदर, सत्कार एकादेशका कथा हुने बाटोमा दौडिरहेको छ। आधुनिक र सभ्य जीवन बाँच्ने रहरमा हामीभित्रका राम्रा संस्कार हराउँदै गइरहेका छन्। सञ्चारजगत्ले सबैलाई बेफुर्सदिलो बनाएको छ। म सानी हुँदा मेरा हजुरबालाई घोडा बनाउँथें। उहाँका काँधमा गाउँभरि डुल्दा कम्ती आनन्द आउँदैनथ्यो। हजुरबा कतै डुल्न गएका बेला उहाँलाई घोडा बनाउन पाइन्थ्यो। आमाले कोखाकोखा गरेर खुवाउने बुबुमाम र बाबाका हातलाई पिङ मानेर खेलेको दिन आज पनि कताकता स्मरणमा ताजा भएर आइरहन्छ।

आज धेरैजसो गाउँघरमा कसैका पनि बाबा बस्दैनन्। बूढाबूढा हजुरबाबा र हजुरआमा त बस्नुहुन्छ अफसोच नातिनातिनाहरू कोही पनि बस्दैनन्। वास्तवमा गाउँघर माया गर्न नपाएर रोइरहेको छ एकातिर भने अर्कातिर बालबालिका आफ्ना अभिभावकको माया नपाएर अनेक कुलतमा लाग्दैछन्। कतिपय बालबालिकाले आफ्नै हजुरबाबा र हजुरआमालाई चिनेका छैनन्। कसैले जन्मेको दशौं वर्षसम्म पनि बाबाको अनुहार देख्न पाएका छैनन्। हाम्रा पालाको जस्तो पारिवारिक माया–ममताको अर्गानिक स्वाद पाउनबाट हिजोआजका बालबालिका वञ्चित छन्।

कृषिप्रधान मुलुक भए पनि घरेलु कृषि उत्पादनले तीन महिना पनि नथेक्ने हाम्रो अवस्था छ। साँझ–बिहानको गाँसबास समस्या पूरा गर्न धेरै युवा वैदेशिक रोजगारमा जान बाध्य छन्। स्वदेशमा रोजगारको अवसर सिर्जना भएको छैन। देशमै बस्ने र काम गर्ने रहर हुँदा पनि उपयुक्त अवसरको अभावमा विदेशमा जान्छन्। विदेश जानेमा महिलाको तुलनामा पुरुष धेरै छन्। वैदेशिक रोजगारमा जानेलाई बुढ्यौलीले चाहुरी परेका बाबा–आमाको अनुहारले छेक्न सक्दैनन्। भर्खर विवाह गरेकी नवयौवना श्रीमतीले रोक्न सक्दिनन्। बाबा भनेर पछ्याउने छोराछोरीलाई समेत मैले मिठाई ल्याउँछु है बाबुलाई भन्दै बिदेसिन बाध्य छन्। यो रहर नभएर बाध्यता हो।

पति अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेपछि पत्नीलाई आफ्नो गाउँ मात्र होइन, परिवारसमेत झर्को लाग्न थाल्छ। पति वैदेशिक रोजगारको गएको भन्ने अहम् बढ्न थाल्छ। गाउँको उत्पादन रोटी–मकै पच्दैन बजारका मःमः, चाउमिन, पिज्जालगायतका आयातीत खानेकुराको फर्माइस बढ्न थाल्छ। अनि पति विदेश गएको एकाध महिनामै छोराछोरीलाई राम्रो बोर्डिङ स्कुल पढाउने चाहनामा बजारबस्तीमै बसाइँ सर्न थाल्छन्। विचरा बुढेशकालमा छोरो त विदेश गयो–गयो, बुहारी र नातिनातिनासमेत छाडेर बजार झर्दा उहाँहरूको मन रोइरहन्छ। बाँचुञ्जेल साँझ कतैको तगारो बज्यो भने पनि आफ्नै सन्तानको मायाले आँखा रसाइरहन्छ।

लाखौं बालबालिकाका बाबाआमाले विदेशमा दुःख गरेर पठाएको विप्रेषणले घरेलु अर्थतन्त्र चलायमान बनाएको छ। गरिबी घटाएको छ। बाँच्ने जीवनस्तरमा सुधार गरेको छ। के खाऊँ र के लाऊँ भन्ने समस्या पूरा गरेको छ। यसका अलावा विपे्रषणले सामाजिक जीवनमा निकै समस्या निम्त्याएको पनि छ। बालबालिकाको माया खोसेको छ। बाबा, आमा, हजुरबाबा र हजुरआमाको काखमा प्यारले लाडिएर बस्न पाउनुपर्ने उमेर समूहका बालबालिका राम्रो शिक्षा हासिल गर्ने नाममा बजारबस्तीमा थुनिएका छन्। गाईभैंसीको दूध खान पाउनुको सट्टा प्याकिङ खानेकुरामै रमाउन थालेका छन्।

आफ्नै हजुरबा, हजुरआमा र बाबाको माया नपाउनु बालबालिकाका लागि दुःखलाग्दो हो। गाउँको मनोरम वातावरणको सट्टा बजारबस्तीको एउटा कोठामा जीवन चलाउनुपर्ने। अलिअलि चकचक गर्नुप¥यो भने घरबेटीको गाली खाइने। साथीभाइहरू जम्मा भएर खेल्न नपाइने। चाहिने आवश्यक उमेर समूहअनुसारको शिक्षाभन्दा पनि जबर्जस्ती बोर्डिङ स्कुलले लादेको शिक्षा ग्रहण गर्नुपर्ने। केही नजानेको खण्डमा अनि गृहकार्य नगरेको बेला कठोर सजायको भागीदार बन्नुपर्ने। सजायको पीडा एकातिर छ, अर्कातिर कोठामा पुगेर आमालाई सजाय पाएको कुरा भन्दा झन् बढी सजाय पाइने। यी र यस्ता तमाम समस्या हिजोआजका बालबालिकाका साझा समस्या हुन्।

यौवना पत्नीपतिको विप्रेषण आउन थालेपछि झन् यौवना बन्छिन्। आफ्नो यौवनको प्यास मेटाउन विभिन्न वैकल्पिक उपायको खोजी गर्न थाल्छिन्। यहाँ मैले पत्नीलाई खराब भन्न खोजेको होइन, यो पनि उनीहरूको रहर नभएर बाध्यता हो। यौवना उमेरमा पतिले वर्षौंसम्म छाडेर विदेशमा बस्नुपर्दाको समस्याले निम्त्याउने समस्या हुन् यी। जब विप्रेषणमा रमाउने पत्नीहरू अन्यको पर्खाइमा, रोजाइमा र खोजाइमा समय खर्च गर्न थाल्छन् तब बालबालिका झन् पीडामा पर्न थाल्छन्। आफ्नी आमाले गर्ने माया–ममतामा पनि कमी आउन थाल्छ। बालबालिकालाई एक्लै छाडिदिन्छन्। बालबालिकाबाट आफू छुट्टै बस्ने वा बालबालिकालाई उसको इच्छाविपरीत स्कुल–होस्टलमा राखिदिन्छन्।

सबैको मायाको साटो आफ्नी आमाले गर्ने मायामा समेत तुषारापात भएपछि खै बालबालिका असल कसरी बन्ने ? बालबालिका र पतिलाई छाडेर वैदेशिक रोजगारमा जाने महिला पनि धेरै छन्। तीमध्ये केहीले पत्नी रोजगारमा भएका बेला अर्को बिहे गरेर बसेका छन्। बाबाले अर्को बिहे गरेपछि आमाले बाध्यतावश पारापाचुके गर्नुले बालबालिका अप्ठ्यारोमा परेका छन्। महँगा मोबाइल, आईफोन, आईप्याड, ल्यापटप र बोर्डिङ स्कुलभन्दा बालबालिकालाई उसको परिवारको माया–ममता ठूलो हो भन्ने किन बुझ्दैन परिवार ? सानै उमेरमा उसको इच्छाविपरीत होस्टलमा राख्दा कुन बालबालिकाको मानसिकता राम्रो होला ? असल छोराछोरीविनाको सम्पत्तिले कस्तो शान्ति देला परिवारमा ? युवा उमेरमा वर्षौंवर्ष एक्लाएक्लै बसेका पति र पत्नीको सम्बन्ध कसरी प्रगाढ बन्ला ?   

हिजोआज आत्महत्या गर्ने बालबालिकाको संख्या पनि निकै बढ्न थालेको छ। पारिवारिक माया–ममताभन्दा पैसा ठूलो कुरा होइन भन्ने हामीले बुझ्न जरुरी छ। बाबा विदेशमा बसेर पैसा पठाउने, आमासँग बजारमा बसेर पढ्ने बालबालिका धेरै छन्। कतिपय बालबालिकाका आमाले आफ्नो पति विदेशबाट नफर्कंदै बालबालिका छाडेर अन्य पुरुषसँग बिहे गरेर हिँडेका घटना पनि प्रशस्तै छन्। सानो उमेरमा आफ्नी आमाले छाडेर हिँड्नु, बाबाले पछि आएर सानीआमा बिहे गरेर बस्नुले बालबालिका आमा र बाबा दुवैको माया–ममताबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना हुने गरेको छ।

बालमनोविज्ञानलाई घरपरिवारले बुझ्न सकेनौं भने ती बालबालिकाको भविष्य राम्रो बन्न सक्दैन। सबैलाई आफ्नो सन्तान राम्रा होऊन्, असल होऊन् भन्ने रहर हुन्छ। रहर हुँदैमा यो साकार हुने विषय होइन। आफ्ना छोराछोरी असल बनाउन, राम्रा बनाउन आफ्ना बाआमाले त्यहीअनुसारको कर्म गर्न सक्नुपर्छ। सोहीअनुसारको असल वातावरण दिन जान्नुपर्छ। आफूले मायालु वातावरणमा, असल संस्कारमा बालबालिकालाई हुर्काउन सक्यौं भने मात्र उनीहरू असल बन्छन्। असल संस्कार दिनका लागि बालबालिकाभन्दा पहिला बाआमा र सिंगो परिवार असल हुन जरुरी छ। परिवार गरिब भए पनि उच्च संस्कार, सादा जीवन र उच्च विचारले भरिपूर्ण छन् भने सो परिवारका बालबालिका पनि उच्च सोच र विचारका हुन्छन्।

उच्च मनोबलका साथ यही भूमिमा पसिना बगाउन सिकौं। धनी नबनिएला तर गाँस र बासको समस्याले पिरोलिनु पर्दैन। विदेशमा गर्ने दुःख र मेहनत यहीं गरौं। अरूका कुरा काटेर नबसौं। जे सक्छौं त्यही गरौं। आफ्नो घरपरिवारमा मायाममता बाँडौं। बुबाआमालाई आदर गरौं, बालबालिकालाई माया गरौं। एकैपटक धनी हुने सपना नदेखौं। विदेश नगएकाहरूले विदेशमा त पैसा फल्ने रूख हुन्छ, पैसा टिप्न पाइन्छ जस्तो नसोचौं। नेपाल भित्रिएको विप्रेषणमा धेरैको पसिना मिसिएको छ। कतिपयको जीवन बाकसमा फर्किएको छ। कतिपयको परिवार नै तहसनहस भएको छ। कतिपयले जेलजीवन र मृत्युदण्डको सजाय पाएका छन्। त्यसैले सबैले आफ्नो परिवार सुन्दर बनाऔं अनि देश आफैं सुन्दर बन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.